Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगभैरहवाबाट हङकङ सिधा उडान गर्दै नेपाल एयरलाइन्स

भैरहवाबाट हङकङ सिधा उडान गर्दै नेपाल एयरलाइन्स


काठमाडौं । भैरहवाबाट हङकङमा राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले सिधा उडान गर्ने भएको छ । काठमाडौँबाट हङकङ सिधा उडान गरिरहेको नेपाल एयरलाइन्सले भैरहवाबाट पनि उडान सञ्चालन गर्न लागेको हो ।

बढीभन्दा बढी पर्यटक भित्र्याउने उद्देश्यले विश्व प्रसिद्ध लुम्बिनीलाई हवाई हङकङसँग जोडेर उडान विस्तार गर्न लागिएको निगमले जनाएको छ । निगमले भैरहवाबाट भारतको नयाँ दिल्लीमा पनि छिट्टै उडान सञ्चालनको योजना बनाएको छ ।

भैरहवाबाट हङकङ र नयाँदिल्लीमा उडान सञ्चालनको अन्तिम तयारी भइरहेको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए । प्रवक्ता पौडेलका अनुसार अबको १५ दिनभित्र ती दुवै गन्तव्यमा उडान गर्नेगरी टिकट बुकिङ खुला गरिनेछ ।

हाल काठमाडौँबाट हङकङमा निगमले सातामा दुई उडान गर्दै आएको छ । त्यस्तै नयाँदिल्लीमा दैनिक दुई उडान भरिरहेको छ । निगमले गत जेठ २९ गतेदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान सुरु गर्नाका साथै भैरहवा–मलेसिया र मलेसिया–भैरहवा–काठमाडौँमा उडान गरिरहेको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सोमबार प्रतिनिधिसभाको बैठकमा पर्यटन मन्त्रालयसम्बन्धी विनियोजन शीर्षकमाथि उठेका प्रश्नको जवाफ दिँदै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रभावकारीरूपले सञ्चालनका लागि पहल भइरहेको जिकिर गरेका थिए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया