Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारआवश्यकभन्दा बढी रकम हुँदा पनि किन बढ्यो अन्तरबैंक कारोबार ?

आवश्यकभन्दा बढी रकम हुँदा पनि किन बढ्यो अन्तरबैंक कारोबार ?

५४ वटा संस्थाद्वारा पाँच महिनामा २३ खर्ब १८ अर्बभन्दा बढीको कारोबार


काठमाडौं । बैंक तथा फाइनान्स कम्पनीहरुमा अहिले पर्याप्त मात्रा निक्षेप छ । नयाँ कर्जाको माग नहुँदा बैंकिङ क्षेत्रमा अधिक तरलता अर्थात् आवश्यकभन्दा बढी पैसा थुप्रिएको छ । यो अवस्थामा राष्ट्र बैंकले अधिक तरलताको दुरुपयोग नहोस् भनेर त्यस्तो अधिक तरलतालाई नियन्त्रणमा राख्नको लागि अल्पकालीन अवधिको मौद्रिक उपकरण जारी गरेर बैंकिङ प्रणालीबाट नगद तान्दै, होल्ड गर्दै वित्तीय प्रणालीमा पठाउने गरेको छ । राष्ट्र बैंकको यो कार्यले पनि अधिक तरलता सन्तोषजनकरुपमा नियन्त्रणमा आउन सकेको छैन ।

पछिल्लो समय अधिक तरलता बढेसँगै अन्तरबैंक कारोबार अर्थात् बैंक तथा फाइनान्स कम्पनीहरुबीच एक–आपसमा अल्पकालीन अवधिको लागि हुने कारोबार (अन्तरबैंक कारोबार) रकम बढेको देखिएको छ । राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पाँच महिना अर्थात् यही मंसिर मसान्तसम्ममा सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंक, १७ वटा विकास बैंक र १७ वटा फाइनान्स कम्पनीसहितका ५४ वटा संस्थाहरुले कुल २३ खर्ब १८ अर्ब ५३ करोड रुपैयाँबराबरको अन्तरबैंक कारोबार गरेका छन् । यसमध्ये वाणिज्य बैंकहरुले मात्र २० खर्ब ६१ अर्ब ६७ करोड र विकास बैंक र फाइनान्स कम्पनीहरुले दुई खर्ब ३६ अर्ब ८६ करोड रुपैयाँबराबरको अन्तरबैंक कारोबार गरेका छन् ।

राष्ट्र बैंकका अनुसार बैंक तथा फाइनान्स कम्पनीहरुले चालू आर्थिक वर्षको पाँच महिनाको अवधिमा गरेको अन्तरबैंक कारोबार रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा नौ खर्ब रुपैयाँले बढी हो ।

गत आवको सोही अवधिमा वाणिज्य बैंकहरुले १५ खर्ब २६ करोड र विकास बैंक र फाइनान्स कम्पनीहरुले एक खर्ब ५३ अर्ब ६० करोड रुपैयाँसहित कुल १६ खर्ब ५३ अर्ब ८६ करोड रुपैयाँबराबरको अन्तरबैंक कारोबार गरेका थिए । अन्तरबैंक कारोबार रकम बढेसँगै पछिल्लो समय ट्रेजरी बिलको भारित औसत ब्याजदर भने घटेको छ । सोअनुसार २०७९ मंसिरमा ९१–दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर १० दशमलव ६७ प्रतिशत रहेकोमा २०८० मंसिरमा यस्तो ब्याजदर घटेर तीन दशमलव ५३ प्रतिशतमा सीमित भएको छ ।

बैंक तथा वित्तीय संस्थाहरुबीचको अन्तरबैंक कारोबारको भारित औसत ब्याजदर २०७९ मंसिरमा आठ प्रतिशत रहेकोमा २०८० मंसिरमा दुई दशमलव छ प्रतिशत रहेको छ । २०८० मंसिरमा वाणिज्य बैंकहरुको औसत आधार दर नौ दशमलव ६४ प्रतिशत रहेको छ भने विकास बैंक र फाइनान्स कम्पनीहरुको क्रमशः ११ दशमलव ६४ प्रतिशत र १३ दशमलव १४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको मंसिरमा वाणिज्य बैंकहरुको औसत आधार दर १० दशमलव ६९ प्रतिशत रहेको थियो ।

राष्ट्र बैंकका अनुसार २०८० मंसिरमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर सात दशमलव ६२ प्रतिशत रहेको छ भने विकास बैंक र फाइनान्स कम्पनीहरुको क्रमशः आठ दशमलव ७९ र नौ दशमलव ८५ प्रतिशत रहेको छ । २०७९ मंसिरमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर आठ दशमलव ४६ प्रतिशत कायम भएको थियो ।

त्यसैगरी, कर्जाको भारित औसत ब्याजदर २०८० मंसिरमा वाणिज्य बैंकहरुको ११ दशमलव ८५ प्रतिशत रहेको छ । यस अवधिमा विकास बैंक र फाइनान्स कम्पनीहरुको भारित औसत ब्याजदर भने क्रमशः १३ दशमलव ३९ प्रतिशत र १४ दशमलव ३० प्रतिशत रहेको छ । २०७९ मंसिरमा वाणिज्य बैंकहरुको कर्जाको भारित औसत ब्याजदर १२ दशमलव ७४ प्रतिशत कायम रहेको राष्ट्र बैंकको भनाइ छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया