Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारघरजग्गा धितोमा ६७ प्रतिशत बढी कर्जा

घरजग्गा धितोमा ६७ प्रतिशत बढी कर्जा


काठमाडौं । बैंकिङ क्षेत्रको निक्षेप रकम बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पछिल्लो पाँच महिनाको अवधिमा सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंक, क्षेत्रीय र राष्ट्रियस्तरका समेत गरी १७ वटा विकास बैंक र १७ वटा फाइनान्स कम्पनीसहित ५४ वटा संस्थाहरूको कुल निक्षेप चार दशमलव छ प्रतिशत अर्थात् दुई खर्ब ६३ अर्ब ७२ करोड रूपैयाँले बढेको हो ।

राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षमा भने बैंकिङ क्षेत्रको यस्तो निक्षेप रकम दुई दशमलव दुई प्रतिशत अर्थात् एक खर्ब ११ अर्ब १५ करोड रूपैयाँले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०८० मंसिर मसान्तमा बैंक तथा फाइनान्स कम्पनीहरूमा रहेको निक्षेप १५ प्रतिशतले बढेको छ ।

२०८० मंसिर मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः छ दशमलव तीन प्रतिशत, २६ दशमलव तीन प्रतिशत र ६० दशमलव सात प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः सात दशमलव छ प्रतिशत, २५ दशमलव सात प्रतिशत र ६० दशमलव तीन प्रतिशत रहेको थियो । राष्ट्र बैंकका अनुसार २०८० मंसिर मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३६ दशमलव सात प्रतिशत रहेको छ । २०७९ मंसिर मसान्तमा यस्तो निक्षेपको अंश ३७ दशमलव तीन प्रतिशत रहेको थियो ।

बैंक तथा फाइनान्स कम्पनीहरूले निजी क्षेत्रमा प्रवाह गरेको कर्जा रकम भने चालू आवको पछिल्लो पाँच महिनामा दुई दशमलव तीन प्रतिशत अर्थात् एक खर्ब १० अर्ब छ करोड रूपैयाँले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा एक दशमलव छ प्रतिशत अर्थात् ७३ अर्ब ३० करोड रूपैयाँले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०८० मंसिर मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा चार दशमलव पाँच प्रतिशतले बढेको छ ।

२०८० मंसिर मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैरवित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६३ दशमलव एक प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३६ दशमलव नौ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६४ दशमलव एक प्रतिशत र ३५ दशमलव नौ प्रतिशत रहेको थियो । चालू आवको पाँच महिनामा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको कर्जा प्रवाह दुई दशमलव तीन प्रतिशतले, विकास बैंकहरूको दुई दशमलव दुई प्रतिशतले र फाइनान्स कम्पनीहरूको कर्जा प्रवाह शून्य दशमलव नौ प्रतिशतले बढेको छ ।

राष्ट्र बैंकका अनुसार २०८० मंसिर मसान्तमा बैंक तथा फाइनान्स कम्पनीहरूको लगानीमा रहिरहेको कर्जामध्ये ११ दशमलग छ प्रतिशत कर्जाको लागि चालू सम्पत्ति अर्थात् कृषि तथा गैर–कृषिजन्य वस्तु सुरक्षणको रूपमा रहेको छ भने ६७ दशमलव सात प्रतिशत कर्जाको लागि घरजग्गा धितो सुरक्षण रहेको छ । २०७९ मंसिर मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः १२ दशमलव तीन प्रतिशत र ६६ दशमलव आठ प्रतिशत रहेको थियो । चालू आवको पाँच महिनामा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा छ दशमलव तीन प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा आठ दशमलव एक प्रतिशतले, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा चार दशमलव पाँच प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा एक दशमलव पाँच प्रतिशतले, सेवा उद्योग क्षेत्रतर्फको कर्जा तीन दशमलव तीन प्रतिशतले र उपभोग्य क्षेत्रतर्फको कर्जा दुई दशमलव दुई प्रतिशतले बढेको छ भने कृषि क्षेत्रतर्फ प्रवाह भएको कर्जा शून्य दशमलव एक प्रतिशतले घटेको छ ।

चालू आवको पाँच महिनामा बैंक तथा फाइनान्स कम्पनीहरूबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा १० दशमलव तीन प्रतिशतले, नगद प्रवाह कर्जा १४ दशमलव चार प्रतिशतले, ट्रस्ट रिसिट अर्थात् आयात कर्जा १४ दशमलव पाँच प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) चार दशमलव एक प्रतिशतले र मार्जिन प्रकृतिको कर्जा छ दशमलव चार प्रतिशतले बढेको छ । यस अवधिमा अधिविकर्ष कर्जा ४० दशमलव छ प्रतिशतले (पछिल्लो वर्षको कर्जाको पुनरवर्गीकरणको कारणसमेत) र हायर पर्चेज कर्जा १९ प्रतिशतले घटेको राष्ट्र बैैंकको भनाइ छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया