Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारलगानीभन्दा ब्याज खाने बढे

लगानीभन्दा ब्याज खाने बढे


काठमाडौं । आर्थिक मन्दीले लगानीको वातावरण खुम्चिँदै जाँदा बैंकमा निक्षेप राखेर ब्याज खानेहरूको संख्या बढ्दै गएको छ । राष्ट्र बैंकको तथ्याङ्कअनुसार पछिल्लो एक वर्षमा ५५ लाखभन्दा बढी निक्षेप खाता वित्तीय प्रणालीमा थपिएका छन् ।

राष्ट्र बैंकका अनुसार गत वर्ष पुसदेखि यस वर्ष मंसिर मसान्तसम्म ५४ वटा बैंक तथा वित्तीय संस्थामा ५५ लाख ५३ हजार ७६ वटा निक्षेप खाता थपिएका छन् । जसमध्ये वाणिज्य बैंकहरूमा ४५ लाख ९७ हजार एक सय ६०, विकास बैंकहरूमा आठ लाख ३५ हजार छ सय ९६ र फाइनान्स कम्पनीहरूमा एक लाख २० हजार दुई सय २० वटा निक्षेप खाता थपिएका छन् ।

बैंक तथा वित्तीय संस्थामा खोलिएका निक्षेप खाताको संख्या पाँच करोड ३३ लाख तीन हजार तीन सय ७८ पुगेको छ । यसमध्ये वाणिज्य बैंकहरूमा चार करोड ५७ लाख ३४ हजार नौ सय ७७ वटा, विकास बैंकहरूमा ६७ लाख आठ सय ९४ वटा र फाइनान्स कम्पनीहरूमा आठ लाख २७ हजार पाँच सय सातवटा निक्षेप खाता सञ्चालनमा छन् ।

गत आर्थिक वर्षको सोही अवधिमा बैंक तथा वित्तीय संस्थामा कुल चार करोड ७७ लाख ५० हजार तीन सय दुई वटा निक्षेप खाता खोलिएका थिए । यसमध्ये वाणिज्य बैंकहरूमा चार करोड ११ लाख ३७ हजार आठ सय १७ वटा, विकास बैंकहरूमा ५९ लाख पाँच हजार एक सय ९८ वटा र फाइनान्स कम्पनीहरूमा सात लाख सात हजार दुई सय ८७ वटा निक्षेप खाता सञ्चालनमा थिए ।

No description available.

निक्षेप खाताको तुलनामा कर्जा खाताको संख्या निकै न्यून बढेको देखिन्छ । आर्थिक मन्दीले व्यापार व्यवसाय र उद्योग कलकारखाना राम्रोसँग सञ्चालन नभएको, घरजग्गा कारोबार खुम्चिएको, उपभोग्य वस्तुको माग घटेकोलगायत कारण कर्जाको माग पनि खुम्चिएको बैंकहरूले बताउँदै आएका छन् । यसको पुष्टि एक वर्षमा थपिएका कर्जा खाताको संख्याले पनि गर्छ । गत वर्ष पुसदेखि यस वर्ष मंसिर मसान्तसम्म जम्मा ४२ हजार छ सय ७० वटा कर्जा खाता थपिएको राष्ट्र बैंकको तथ्याङ्कमा देखिन्छ ।

राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरूमा ४१ हजार नौ सय ६४ वटा, विकास बैंकहरूमा दुई सय ५३ वटा र फाइनान्स कम्पनीहरूमा चार सय ५३ वटा कर्जा खाता थपिएका छन् । यससँगै बैंक तथा वित्तीय संस्थामा अहिले कायम रहेको कर्जा खाताको संख्या १८ लाख ५८ हजार पाँच सय ५५ पुगेको छ । यसमध्ये वाणिज्य बैंकहरूमा १५ लाख २७ हजार सात सय १४ वटा, विकास बैंकहरूमा दुई लाख ८८ हजार पाँच सय ७६ वटा र फाइनान्स कम्पनीहरूमा भने ४२ हजार ६६ वटा कर्जा खाता सञ्चालनमा छन् । गत वर्ष मंसिर मसान्तमा वाणिज्य बैंकहरूमा १४ लाख ८५ हजार सात सय ५० वटा, विकास बैंकहरूमा दुई लाख ८८ हजार तीन सय २२ र फाइनान्स कम्पनीहरूमा ४१ हजार छ सय १३ वटासहित कुल १८ लाख १५ हजार छ सय ८५ वटा कर्जा खाता सञ्चालनमा थिए ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया