Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजार‘ऋण तिर्दिनँ भनेर नकारात्मकता फैलाउने कुरा स्वीकार्य छैन’

‘ऋण तिर्दिनँ भनेर नकारात्मकता फैलाउने कुरा स्वीकार्य छैन’


काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले ऋण लिएर तिर्नुहुँदैन भन्ने नकारात्मकता फैलाउने कुरा स्वीकार्य नहुने बताएका छन् । शनिबार काठमाडौंमा राष्ट्रिय वाणिज्य बैंकले आयोजना गरेको म्यानेजमेन्ट कन्फरेन्समा अर्थमन्त्री पुनले यस्तो बताएका हुन् ।

बैंकहरूबाट ऋण लिने, कालोसूचीमा पर्ने र पछि तिर्दिनँ भनेर हिँड्ने, व्यवस्थामाथि नै प्रहार गर्ने र समाजमा अनास्था पैदा गर्ने प्रवृत्ति हाबी भएको पुनले बताए । पछिल्लो समय बैंकहरूप्रति किन विश्वास घट्दै गएको छ भन्नेतर्फ ध्यान दिन बैंकहरूलाई मन्त्री पुनले आग्रह गरे । उनले भने ‘राष्ट्र बैंकको कुरा आउला, सरकारी बैंकको कुरा आउला, निजी बैंकहरूको कुरा आउला आज कोहीप्रति पनि विश्वास छैन । समाजमा किन यसो हुँदैछ ? बैंकर्सलाई नयाँनयाँ साहुजीहरू भनिन्छ, यो होइन तर भनिन्छ किन ?’ यसमा समीक्षा गर्नुपर्ने अर्थमन्त्री पुनले बताए । उनले बैंकिङ क्षेत्र जनताको रकमबाट सञ्चालित हुने भएकाले संस्थागत सुुशासन कायम गर्नतर्फ जोड दिनुपर्ने बताए ।

यसैगरी नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले जनताबाट लिएको स्रोतको दुरुपयोग नगर्न बैंकहरूलाई आग्रह गरे । घुस नदिइकन, मध्यस्थता नगरीकन ऋण नपाउने गरेको गुनासो आइरहेको भन्दै त्यस्तो नगर्न बैंकरहरू सचेत गराए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले समग्र बैंकिङ क्षेत्रको बारेमा अवगत गराएका थिए । उनले राष्ट्रिय वाणिज्य बैंकले ‘दिगो व्यावसायिक वृद्धिको आधार र गुणस्तरमा सुधार’ भन्ने नाराका साथ काम गरिरहेको बताए । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले पछिल्लो समयमा बैंकिङ क्षेत्रको बारेमा विभिन्न टीकाटिप्पणी हुने गरे पनि वित्तीय अवस्था ठीक रहेको बताए । उनले भने, ‘बैंकिङ क्षेत्रको योगदानको लागि सम्मान व्यक्त गर्दछौं ।’ उनले नेपालको बैंकिङ क्षेत्र दक्षिण एसियाकै उत्कृष्ट हुन सक्ने बताए ।

कार्यक्रममा अर्थशास्त्री एवम् प्रतिनिधिसभा सांसद डा स्वर्णीम वाग्ले, अर्थ मन्त्रालयका सचिव (राजस्व) डा रामप्रसाद घिमिरे, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष एवम् उद्यमी भवानी राणा, अर्थविद् एवम् राष्ट्र बैंकका कार्यकारी निर्देशक डा प्रकाशकुमार श्रेष्ठ, वरिष्ठ बैंकर्स परशुराम कुँवर, भुवन दाहाल तथा किरणकुमार श्रेष्ठ, फिनटेक विज्ञ सञ्जीव सुब्बा, कमनसेन्स विज्ञ सुजिव शाक्यलगायतले आ–आफ्नो धारणा राखेका छन् । बैंक सञ्चालक समितिका अध्यक्ष दिलीपकुमार ढुङ्गानाको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा करिब चार सय ५० जनाको उपस्थिति रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 10

तपाईको प्रतिक्रिया