Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनिजी क्षेत्रमाथि वित्तीय क्षेत्रको दाबी ५८ खर्ब

निजी क्षेत्रमाथि वित्तीय क्षेत्रको दाबी ५८ खर्ब


काठमाडौं । अर्थतन्त्रमा देखिएको संकुचनको असर निजी क्षेत्रमा प्रवाह भएको बैंकिङ कर्जामा पनि परेको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार २०७९ असार मसान्तमा निजी क्षेत्रमा गएको बैंकहरुको कर्जा जीडीपीको एक सय ११ दशमलव नौ प्रतिशत रहेकामा २०८० असार मसान्तमा एक सय सात दशमलव सात प्रतिशतमा झरेको छ ।

जीडीपी अनुपातमा घटेको भए पनि कर्जा प्रवाह एक वर्षमा पाँच प्रतिशतले बढेको छ । वित्तीय क्षेत्रको निजी क्षेत्रमाथिको दाबी २०८० असार मसान्तमा ५७ खर्ब ९४ अर्ब ७६ करोड छ । एक वर्षअघि २०७९ असार मसान्तमा ५५ खर्ब २० अर्ब नौ करोड रुपैयाँ थियो । वित्तीय क्षेत्रको यस्तो दाबी २०७८ असार मसान्तमा ४८ खर्ब २१ अर्ब ८८ करोड र २०७७ असार मसान्तमा ३८ खर्ब २७ अर्ब १२ करोड रुपैयाँ थियो ।

राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत वित्तीय सर्वेक्षण तयार गरी प्रकाशन गर्ने बताएको थियो । ‘वित्तीय गहिराइ मापनका लागि बैंक तथा वित्तीय संस्थाको अतिरिक्त लघुवित्त वित्तीय संस्था, बीमा कम्पनी, नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोषलगायतका अन्य गैरबैंकिङ वित्तीय संस्थाहरुको वासलात समावेश भएको वित्तीय सर्वेक्षण तयार गरी प्रकाशन गरिनेछ’, मौद्रिक नीतिमा उल्लेख छ । मौद्रिक नीतिको यही मार्गनिर्देशबमोजिम गरिएको सर्वेक्षणले जीडीपीको तुलनामा कर्जा अनुपात घटेको देखाएको छ ।

सर्वेक्षणले वित्तीय क्षेत्रको वैदेशिक सम्पत्ति एक वर्षमा तीन खर्ब दुई अर्ब ३९ करोड रुपैयाँले बढेको देखाएको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको वित्तीय क्षेत्र सर्वेक्षणमा वित्तीय क्षेत्रको खुद वैदेशिक सम्पत्ति २०८० असार मसान्तमा १४ खर्ब ५२ अर्ब तीन करोड रुपैयाँ कायम भएको छ । एक वर्षअघि २०७९ असार मसान्तमा खुद वैदेशिक सम्पत्ति ११ खर्ब ४९ अर्ब ६४ करोड रुपैयाँ थियो । एक वर्षमा वैदेशिक सम्पत्ति २४ दशमलव पाँच प्रतिशतले बढेको छ ।

वित्तीय क्षेत्रको आन्तरिक दाबी २०७९ असार मसान्तमा ६३ खर्ब पाँच अर्ब ८१ करोड रहेकोमा २०८० असार मसान्तमा आठ दशमलव छ प्रतिशतले वृद्धि भई ६८ खर्ब ५० अर्ब ३० करोड रुपैयाँ पुगेको छ ।

वित्तीय क्षेत्रको नेपाल सरकारमाथिको खुद दाबी २०७९ असार मसान्तमा सात खर्ब ५३ अर्ब २८ करोड रहेकोमा ३५ दशमलव आठ प्रतिशतले वृद्धि भई २०८० असार मसान्तमा १० खर्ब २३ अर्ब नौ करोड पुगेको छ ।

वित्तीय क्षेत्रको सार्वजनिक गैरवित्तीय संस्थानमाथिको दाबी २०७९ असार मसान्तमा ३२ अर्ब ४४ करोड २९ लाख रुपैयाँ रहेकोमा २०८० असार मसान्तमा ३२ अर्ब ४४ करोड २४ लाख रुपैयाँ छ । वित्तीय क्षेत्रको तरल दायित्व २०७९ असार मसान्तमा ४८ खर्ब १८ अर्ब चार करोड रहेकोमा ११ दशमलव छ प्रतिशतले वृद्धि भई २०८० असार मसान्तमा ५३ खर्ब ७८ अर्ब ४२ करोड पुगेको छ ।

वित्तीय क्षेत्रभन्दा बाहिर चलनचल्तीमा रहेको मुद्रा २०७९ असार मसान्तमा पाँच खर्ब दुई अर्ब ७६ करोड रहेकोमा एक दशमलव एक प्रतिशतले वृद्धि भई २०८० असार मसान्तमा पाँच खर्ब आठ अर्ब ३७ करोड पुगेको छ ।

वित्तीय क्षेत्रको माग निक्षेप दायित्व २०७९ असार मसान्तमा चार १२ अर्ब ९५ करोड रहेकोमा शून्य दशमलव चार प्रतिशतले कमी भई २०८० असार मसान्तमा चार खर्ब ११ अर्ब ४५ करोड रहेको छ । वित्तीय क्षेत्रको अन्य निक्षेप दायित्व २०७९ असार मसान्तमा ३९ खर्ब दुई अर्ब ३३ करोड रहेकोमा १४ दशमलव तीन प्रतिशतले वृद्धि भई २०८० असार मसान्तमा ४४ खर्ब ५८ अर्ब ६० करोड पुगेको छ ।

गैरबैंकिङ वित्तीय क्षेत्रको अवस्था
अन्य वित्तीय संस्थाको खुद वैदेशिक सम्पत्ति २०७९ असार मसान्तमा एक अर्ब ७० करोडले ऋणात्मक रहेकोमा २०८० असार मसान्तमा पाँच अर्ब ५२ करोडले ऋणात्मक छ । अन्य वित्तीय संस्थाको आन्तरिक दाबी २०७९ असार मसान्तमा १६ खर्ब ९८ अर्ब ५३ करोड रहेकोमा सात दशमलव छ प्रतिशतले वृद्धि भई २०८० असार मसान्तमा १८ खर्ब २७ अर्ब ४६ करोड रुपैयाँ पुगेको छ ।

अन्य वित्तीय संस्थाको नेपाल सरकारमाथिको खुद दाबी २०७९ असार मसान्तमा छ अर्ब ११ करोड रहेकोमा ८२ दशमलव आठ प्रतिशतले वृद्धि भई २०८० असार मसान्तमा ११ अर्ब १७ करोड रुपैयाँ पुगेको छ ।

अन्य वित्तीय संस्थाको सार्वजनिक गैरवित्तीय संस्थानमाथिको दाबी २०७९ असार मसान्तमा २८ अर्ब ६६ करोड रुपैयाँ रहेकोमा शून्य दशमलव पाँच प्रतिशतले वृद्धि भई २०८० असार मसान्तमा २८ अर्ब ७९ करोड रुपैयाँ पुगेको छ । अन्य वित्तीय संस्थाको निजी क्षेत्रमाथिको दाबी २०७९ असार मसान्तमा आठ खर्ब ३१ अर्ब ९ करोड रुपैयाँ रहेकोमा सात दशमलव तीन प्रतिशतले वृद्धि भई २०८० असार मसान्तमा आठ खर्ब ९१ अर्ब ४१ करोड पुगेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया