Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारकिन पटक–पटक कारबाहीमा पर्छ कुमारी बैंक ?

किन पटक–पटक कारबाहीमा पर्छ कुमारी बैंक ?


काठमाडौं । नियमनकारी निकाय नेपाल राष्ट्र बैंकको कडा र प्रभावकारी सुपरीवेक्षकीय क्षमताले गर्दा पनि नेपाली बैंकिङ क्षेत्र अन्य क्षेत्रको तुलनामा सबैभन्दा पारदर्शी र सुशासनयुक्त मानिन्छ । वित्तीय कारोबार सञ्चालनमा कुनै पनि किसिमको गल्ती कमजोरी र कैफियत देखिनेबित्तिकै ‘एक्सन’मा उत्रिने राष्ट्र बैंककै कारण वित्तीय क्षेत्र सबल, सक्षम र पारदर्शी भएको हो । तर, यही पारदर्शिताभित्र पनि ‘खाने मुखलाई जुँगाले छेक्दैन भनेझैँ कुमारी बैंकमा भने बेथितिका चाङ नै देखिएको छ ।

बैंकिङ कानुन र केन्द्रीय बैंकको कडा निर्देशनका बाबजुद आँखा छलेर सञ्चालक समिति र व्यवस्थापन पक्षले गरेका बदमासीका कारण कुमारी बैंक पटक–पटक कारबाहीमा परेको छ । राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्थालाई गरिएको कारबाहीसम्बन्धी विवरणअनुसार कुमारी बैंक एकैवर्षमा चार पटक कारबाहीमा परेको छ । तत्कालीन कुमारी बैंक, काष्ठमण्डप डेभलपमेन्ट बैंक, पश्चिमाञ्चल फाइनान्स, महाकाली विकास बैंक, काँक्रेबिहार विकास बैंक, देवः विकास र क्रेडिट एन्ड कमर्स बैंक (एनसीसी) गाभिएर तथा मर्ज भएर बनेको कुमारी बैंक कहिले राष्ट्र बैंकले रोक्का राखेका खाताहरू कारोबार गरेको, कहिले सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐनविपरीत कार्य गरेको त कहिले सहुलियत कर्जाको दुरूपयोग गरेको सम्बन्धी कैफियतहरूमा पटक–पटक कारबाहीमा परेको हो ।

राष्ट्र बैंकअन्तर्गतको नियमन विभागले आर्थिक वर्ष २०७९/८०को पहिलो त्रैमासमा रोक्का राख्न निर्देशन दिएको खाताहरूमा कुमारी बैंकले नियमित कारोबार गरेको भेटिएको थियो । सोपश्चात् राष्ट्र बैंकले उक्त बैंकका प्रमुख कार्यकारी अधिकृतलाई यस्तो कारोबार नगर्न र नगराउन भन्दै सचेत गराएको थियो ।

No description available.

राष्ट्र बैंकको उक्त निर्देशन कुमारी बैंकको तत्कालीन सञ्चालक समिति र व्यवस्थापन समितिले एक कानले सुनेर अर्को कानले उडाइदियो । आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासमा राष्ट्र बैंकले कुमारीलाई सम्पत्ति शुद्धीकरण ऐन (एन्टी मनी लाउन्डरिङ) विपरीत कारोबार गरेको भन्दै कारबाही गर्यो । त्यो बेला राष्ट्र बैंकले कुमारीलाई ५० लाख रूपैयाँ जरिबाना तिराएको प्रतिवेदनमा उल्लेख छ । त्यसको लगत्तै अर्थात् सोही आर्थिक वर्षको तेस्रो त्रैमासमा पनि कुमारी बैंकले सहुलियत कर्जाको दुरूपयोग गरेको पाइएपछि कारबाहीमा पर्यो । सहुलियत कर्जा प्रवाह गर्दा औचित्य पुष्टि नहुने गरी कर्जा प्रवाह गरेको, मुद्दती निक्षेपमा प्रकाशित ब्याजभन्दा बढी ब्याज दिएको, कर्जा नोक्सानी व्यवस्था एवं जोखिम भार प्रदान नगरेको भन्दै राष्ट्र बैंकले कुमारीका प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा १०० को उपदफा (२) (क) बमोजिम सचेत गराएको थियो ।

राष्ट्र बैंकले पटक–पटक कारबाही गर्दा पनि कुमारी बैंकमा बेथितिको श्रृङ्खला रोकिएन । आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमासमा स्रोत परिचालन अनुपात कायम नगरेको भन्दै राष्ट्र बैंकले कुमारी बैंकलाई ५९ लाख ६३ हजार छ सय ९४ रूपैयाँ जरिबाना तिराएको थियो । राष्ट्र बैंकका अनुसार कुमारीले २०७९ माघ महिनामा तोकिएको कर्जा अनुपात कायम नगरेको आधारमा कारबाही गरेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया