Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजार‘बजारलाई अपाङ्गमैत्री बनाउन थप पहल गरिनेछ’

‘बजारलाई अपाङ्गमैत्री बनाउन थप पहल गरिनेछ’


काठमाडौं ।
नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले धितोपत्र बजारलाई थप अपाङ्गमैत्री बनाउन पहल गरिने बताएका छन् । समृद्ध नेपाल लगानी समूहद्वारा आयोजित छलफल तथा अन्तरक्रियात्मक कार्यक्रममा सहभागी भई हौसला प्रदान गर्दै अध्यक्ष ढुंगानाले बताएका हुन् ।

पुँजी बजारमा आबद्ध अपाङ्गता भएका सर्वसाधारण लगानीकर्ताको प्रतिनिधित्व रहेको सो समूहले आयोजना गरेको उक्त कार्यक्रमलाई सम्बोधन गर्दै उनले पुँजी बजार हामी सबैको बजार भएको धारणा राखेका हुुन् । कार्यक्रममा उनले कुल जनसंख्याको करिब १० प्रतिशत सर्वसाधारण पुँजी बजारमा सहभागी रहेको सन्दर्भमा अपाङ्गता भएका सर्वसाधारणको समेत सहभागी भएकोमा खुशी समेत व्यक्त गरे । सम्बोधनको क्रममा उनले पुँजी बजारमार्फत देशको आर्थिक विकासका लागि अपाङ्गता भएका सर्वसाधारणको पुँजी बजारप्रतिको चासो तथा सहभागिता आगामी दिनमा थप उत्साहमूलक बन्न सकोस् भन्ने शुभकामना दिए ।

सम्बोधनकै क्रममा उनले नेपाल सरकारले समेत विकासका सबै मामिला र आर्थिक गतिविधिहरूमा सबै पक्षको समान सहभागिता र अवसरको प्रत्याभूति हुने गरी नीति तथा कार्यक्रमको तर्जुमा तथा कार्यान्वयन गर्दै आएकोमा पुँजी बजारमा समेत यस्तो सहभागिता रहेकोमा सरकारको समेत चासो एवं प्राथमिकता रहेको बताएका हुन् । उनले अपाङ्गता भएका व्यक्तिहरूको बजार प्रवेशमा भएका प्रक्रियागत कठिनाईहरूको सम्बोधन गर्न र बजारमा प्रयोगमा रहेका प्रविधिहरू अपाङ्गमैत्री बनाउँदै लैजान आवश्यक भएको बताए ।

कार्यक्रममा उनले हल्लाको पछि नलागिकन सत्यतथ्य सूचनाको आधारमा सुझबुझपूर्ण लगानी गर्नुपर्ने धारणा राख्दै सहभागीलाई पुँजी बजारमा उत्साहपूर्वक सहभागिताको लागि शुभकामना प्रदान गरे । कार्यक्रममा नेपाल स्टक एक्सचेञ्ज लि., सीडीएस एण्ड क्लियरिङ लि., स्टक ब्रोकर एसोसिएसन, नेपाल राष्ट्र बैंकलगायतका संस्थाहरूका समेत प्रतिनिधिहरू रहेका थिए । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया