Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारकिसानहरूलाई मेगा बैंकको किसान कार्ड तथा कृषि कर्जा सुविधा

किसानहरूलाई मेगा बैंकको किसान कार्ड तथा कृषि कर्जा सुविधा


काठमाडौं ।
मेगा बैंक नेपाल लिमिटेडले किसानहरूलाई हिमशिखर एग्रोसँगको सहकार्यमा बैंकको आधुनिक प्रविधिमैत्री किसान कार्डसहित कृषि कर्जा सर्वसुलभरूपमा उपलब्ध गराउन सम्झौता गरेकोे छ ।

मेगा बैंक नेपाल लिमिटेडको तर्फबाट माइक्रो एण्ड एग्रो फाइनान्सिङ विभागका प्रमुख पुण्य प्रसाद खनिया र हिमशिखर एग्रोका प्रमुख कार्यकारी अधिकृत प्रकाशचन्द्र घिमिरेले यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । हिमशिखर एग्रोसँगको सम्झौतापश्चात् मेगा बैंकले ग्रामीण भेगका किसानहरूलाई कृषि उत्पादनमा आवश्यक कृषि सामग्रीहरू तथा बीउबिजनहरू खरिद गर्न कृषि कर्जा तथा मेगा किसान कार्ड प्रदान गर्नेछ ।

मेगा बैंकका माइक्रो एण्ड एग्रो फाइनान्सिङ विभागका प्रमुख खनियाले पहिलो चरणमा प्रदेश नम्बर १ का किसानहरूलाई किसान कार्डसहितको कृषि कर्जा स्थानीय शाखाहरूमार्फत छिटोछरितो ढंगले प्रदान गर्न लागिएको बताए । प्रदेश नम्बर १ पछि क्रमशः देशभरका किसानहरूलाई सेवा प्रदान गरिने उनले बताए ।

किसान कार्डमार्फत कृषकहरूले आफूलाई आवश्यक कृषि सामग्रीहरू, बीउ, मल, कीटनाशक औषधिलगायतका सामानहरू तोकिएको स्थान तथा पसलहरूबाट खरिद गर्न सक्नेछन् । मेगा किसान कार्ड मेगा बैंकले कृषकहरूका लागि प्रदान गरेको बैंकिङ बजारको पहिलो आधुनिक प्रविधिमैत्री सेवा हो, जसले किसानहरूलाई डिजिटल बैंकिङ कारोबार गर्न सहज र सरल हुने बैंकको विश्वास छ ।

हिमशिखर एग्रोका प्रमुख कार्यकारी अधिकृत घिमिरेले मेगा बैंकले कृषि कर्जालाई प्राथमिकताका साथ सर्वसुलभरूपमा प्रदान गर्दै आएकाले मेगासँग सहकार्य गरिएको बताए । मेगा बैंकले अहिले आर एण्ड डी इनोभेटिभ सोलुशन र कर्मा ग्रुपसँग सहकार्य गरी कृषकहरूलाई मेगा किसान कार्डसहितको कृषि कर्जा प्रदान गर्दै आएको छ ।

भविष्यमा कृषि क्षेत्रसँग सम्बन्धित अन्य संघसंस्थाहरूसँग सहकार्य गर्दै आधुनिक प्रविधिमैत्री मेगा किसान कार्ड सेवा देशभर नै उपलब्ध गराउने बैंकको योजना रहेको छ । बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा एक अर्ब ९७ करोड २७ लाख ५५ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा एक अर्ब ४५ करोड १० लाख ९० हजार रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी १४ अर्ब ६५ करोड ४९ लाख ६४ हजार रुपैयाँ रहेको बैंकले चालू आवको तेस्रो त्रैमासिक अवधिमा एक खर्ब ३३ अर्ब ३५ करोड २२ लाख ९० हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ४८ अर्ब ७४ करोड ७३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा एक अर्ब ९७ करोड २७ लाख ५५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव ३१ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा तीन दशमलव ६२ प्रतिशत स्प्रेड दर रहेको बैंकको वितरणयोग्य नाफा भने एक अर्ब २९ करोड ७७ लाख ३० हजार रुपैयाँ रहेको छ ।

गत आवको सोही अवधिमा भने बैंकले एक खर्ब २७ अर्ब ८९ करोड ४६ लाख रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ५४ अर्ब ६६ करोड ८९ लाख ४७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा तीन अर्ब १८ करोड ३३ लाख ८८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव ३२ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर पाँच दशमलव २२ प्रतिशत रहेको थियो । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया