Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारपुनः नौ अर्ब १० करोड रुपैयाँँको ट्रेजरी बिक्री

पुनः नौ अर्ब १० करोड रुपैयाँँको ट्रेजरी बिक्री


काठमाडौं ।
नेपाल राष्ट्र बैंकले असार २१ गते सोमबार पुनः नौ अर्ब १० करोड रुपैयाँबराबरको ट्रेजरी बिक्री गरेको छ । राष्ट्र बैंकका अनुसार सो दिन अपरान्ह तीन बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गरिएको हो । यसअघि यही असार १३ गते पनि राष्ट्र बैंकले २६ अर्ब ५३ करोड रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।

राष्ट्र बैंकका अनुसार जारी मिति असार २२ गते मंगलबार तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूले भाग लिएका थिए । बिक्री गरिएको उक्त ट्रेजरीमध्ये ९१ दिने अवधिको नौ अर्ब १० करोड रुपैयाँ रहेको छ । सोमध्ये पुरानो नवीकरण अन्तर्गत १० करोड र नयाँ अर्थात् फ्रेस नौ अर्ब रुपैयाँ रहेको छ । यो ट्रेजरीको परिपक्व हुने अवधि भने २०७८ असोज १९ गते तोकिएको छ । यसअघि गत साता अर्थात् यही असार १४ गते पनि राष्ट्र बैंकले ९१ दिने अवधिको ११ अर्ब १० करोड र एक सय ८२ दिने अवधिको १० अर्ब रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।

राष्ट्र बैंकले चालू आर्थिक वर्षभित्र दुुई खर्ब २५ अर्ब रुपैयाँबराबरको आन्तरिक ऋण लक्ष्य लिएको छ । सोअनुसार चालू आर्थिक वर्षको पहिलो चौमासिकमा ५७ अर्ब रुपैयाँको आन्तरिक ऋण उठाइसकेको राष्ट्र बैंकले चालू आवको दोस्रो चौमासिकमा पनि ५६ अर्ब रुपैयाँको आन्तरिक ऋण उठाएको छ । ट्रेजरी बिल, विकास ऋणपत्र, नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रसहितका मौद्रिक उपकरणहरू बिक्री गरेर उक्त परिमाणमा ऋण उठाइएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

यसैगरी चालू आवको तेस्रो चौमासिकमा भने राष्ट्र बैंकले एक खर्ब १२ अर्ब रुपैयाँबराबरको आन्तरिक ऋण उठाउनेछ । यसको लागि राष्ट्र बैंकले ४९ अर्ब ५० करोड रुपैयाँबराबरको ट्रेजरी बिल, ६० अर्ब रुपैयाँबराबरको विकास ऋणपत्र दुई अर्ब रुपैयाँबराबरको नागरिक बचतपत्र र ५० करोड रुपैयाँबराबरको वैदेशिक रोजगार बचतपत्र बिक्री गर्ने तयारी गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया