Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारअपर चौरीखोला जलविद्युत् आयोजनामा वाणिज्य र कृषि बैंकले लगानी गर्ने

अपर चौरीखोला जलविद्युत् आयोजनामा वाणिज्य र कृषि बैंकले लगानी गर्ने


काठमाडौं । अपर चौरीखोला हाइड्रोपावर आयोजनामा दुई सरकारी बैंकले वित्तीय व्यवस्थापन गर्नेभएका छन् । काभ्रे र सिन्धुपाल्चोकको बीचमा रहेको चौरीखोलामा बन्न लागेको छ मेगावाट आयोजनामा राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकले संयुक्त लगानी गर्न लागेका हुन् ।

कर्णाली जलस्रोत लिमिटेड मुख्य कम्पनी रहेको हिमालय वाटर रिसर्च एन्ड इनर्जी डेभलपमेन्ट कम्पनी प्रालि र बैंकबीच एक कार्यक्रमबीच सोसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । आयोजना एक अर्ब १२ करोड कुल लागतमा बन्न लागेको छ । जसमा आयोजना कम्पनीले ३५ प्रतिशत र ६५ प्रतिशत लगानी दुई बैंकले गर्ने भएका छन् । ६५ प्रतिशतलाई सय प्रतिशत मानेर राष्ट्रिय वाणिज्य बैंकले ६० प्रतिशत र कृषि विकास बैंकले ४० प्रतिशत लगानी गर्नेभएका छन् ।

वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौतामा राष्ट्रिय वाणिज्य बैंकका सीईओ किरण कुमार श्रेष्ठ र कृषि विकास बैंकका सीईओ अनिलकुमार उपाध्यायले हस्ताक्षर गरेका छन् भने कम्पनीको तर्फबाट जुद्धबहादुर गुरुङले हस्ताक्षर गरेका छन् । राष्ट्रिय वाणिज्य बैंकका सीईओ श्रेष्ठले यस कम्पनीमा गरिएको लगानीले बैंकलाई जलविद्युत् क्षेत्रमा थप नयाँ अनुभव प्राप्त हुने बताए । उनले आयोजनासम्बन्धी कम्पनीले गरेका प्रतिबद्धता पूरा गर्न सुझाव दिए । जलविद्युत् क्षेत्रमा लगानीकर्ताबीच विवाद हुने र आयोजना अलपत्र पर्ने देखिएको भन्दै उनले निर्धारित समय सीमा र लागतमै आयोजना सम्पन्न गर्नुपर्ने बताए ।

‘जलविद्युत्मा लगानी गर्नेहरूबीच सुरुमा राम्रै सम्बन्ध भए पनि आयोजना बन्न लागेपछि गाडी कसले चढ्ने, सेयरलगायतका विषयलाई लिएर विवाद गर्ने र आयोजना अलपत्र परेका धेरै उदाहरण छन् । यो आयोजनामा त्यसो नहोस् समय र लागत सीमामै रहेर आयोजना सम्पन्न गर्नुहोला, थप सहकार्यको लागि तयार छौँ’, सीईओ श्रेष्ठले भने । उनले आफूहरूले जे भन्यो त्यही गर्ने भएकोले सम्झौताअनुसार लगानी गर्न कुनै समस्या नआउने समेत बताए ।

त्यसैगरी लगानीकर्ता कृषि विकास बैंकका सीईओ अनिलकुमार उपाध्यायले आफूहरूले प्रतिबद्धता पूरा गर्ने भन्दै आर्थिक अनुशासन बस्न आयोजना कम्पनीलाई सुझाव दिए । व्यावसायिक कोणबाट आयोजना एकदमै राम्रो र सम्भवनायुक्त भएकोले आफूहरू लगानी गर्न तयार भएको बताए । सबै अध्ययन र प्रक्रिया पूरा गरेर सम्झौता गरेकाले आफूहरूबाट कुनै समस्या नहुने उनले बताए । उपाध्ययले सरकारी बैंकले लगानी गरेको तर काम भएन भन्ने नहोस् भन्ने आफूहरूले चाहेको बताए ।

कार्यक्रममा हिमालयन वाटर रिसर्च एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीको मुख्य कम्पनी कर्णाली जलस्रोत लिमिटेडका अध्यक्ष लोकबहादुर रावतले सम्झौताअनुसारकै लागनी र समयसीमाभित्र आयोजना सम्पन्न गर्ने प्रतिबद्धता जनाए । रावतले २०७९ को दशैँमा बत्ती बाल्ने गरी काम अगाडि बढेको जानकारी समेत दिए । वर्षायाममा पनि काम नरोक्ने भन्दै उनले अहिले पनि आयोजना निर्माणको काम जारी रहेको जानकारी दिए ।

कर्णाली जलस्रोत लिमिटेडको ८० प्रतिशत सेयर रहेको र तीन सय सेयर सदस्य रहेको जानकारी दिँदै अध्यक्ष रावतले सबैको विश्वासमा घात हुन नदिने प्रतिबद्धता जनाए । कार्यक्रममा हिमालयन वाटर रिसर्च तथा इनर्जी डेभलपमेन्ट कम्पनीका अध्यक्ष जुद्धबहादुर गुरुले काबुबाहिरको अवस्था सिर्जना नभएसम्म निर्धारित समयमै आयोजना सम्पन्न गर्ने बताए । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x