Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारबैंक तथा वित्तीय संस्था परिसंघ नेपालको महानिर्देशकमा तिवारी

बैंक तथा वित्तीय संस्था परिसंघ नेपालको महानिर्देशकमा तिवारी


काठमाडौं, माघ ९
बैंक तथा वित्तीय संस्था परिसंघ, नेपालको महानिर्देशकमा गोपालप्रसाद तिवारी नियुक्त भएका छन् । मुलुकका वाणिज्य बैंकहरू, विकास बैंकहरू र वित्तीय संस्थाहरूको छाता संगठन बैंक तथा वित्तीय संस्था परिसंघ, नेपालको भर्खरै सम्पन्न कार्यसमितिको बैठकले तिवारीलाई चार वर्षका लागि महानिर्देशकमा नियुक्त गरेको हो ।

नेपालस्थित अन्तर्राष्ट्रिय वित्त निगम तथा विश्व बैंकजस्ता संस्थाहरूमा काम गरिसकेका तिवारीसँग विभिन्न वैदेशिक दातृ निकायहरू, सार्वजनिक एवं निजी क्षेत्र र सञ्चार क्षेत्रको लामो अनुभव छ । काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नं. १० श्री चौरमा जन्मिएका तिवारी केही समय अघिसम्म नेपाल सरकार, दातृ निकाय तथा निजी क्षेत्रद्वारा प्रवर्द्धित एवं सार्वजनिक–निजी संवाद प्रतिष्ठानको रूपमा रहेको नेपाल व्यवसाय मञ्चमा वरिष्ठ परामर्शदाता समेत भएका थिए । उनले पछिल्लो पटक नेपाल उद्योग वाणिज्य महासंघको निमित्त महानिर्देशक भई कार्यभार सम्हालेका थिए ।

अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएका प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरूसँग आबद्ध तिवारी निजी क्षेत्र, आर्थिक तथा वित्तीय क्षेत्रका व्यावसायिक विषयवस्तुका साथै समग्र अर्थतन्त्रका जानकार मानिन्छन् । अर्थशास्त्रमा स्नातकोत्तर तिवारीले नेपालमा लगानीको वातावरण सुधारसम्बन्धी विषयमा विद्यावारिधि पूरा गरेका छन् । तिवारी सन् २०१६ मा नर्वेबाट सोसिएल अन्ट्रप्रिनरशिप एन्ड इन्नोभेसन म्यानेजमेन्टमा ग्र्याजुएट र सन् २०१४ देखि विजिनेस स्कुल अफ नेदरल्यान्डसमा म्यानेजमेन्ट स्कलरका साथै नर्वेस्थित वैज्ञानिक अनुसन्धान संस्थामा इन्डिपेन्डेन्ट साइन्टिफिक रिसर्चरकारूपमा आबद्ध रहेका छन् ।

महानिर्देशक तिवारीले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थामार्फत वित्तीय तथा विभिन्न क्षेत्रमा खोज अनुसन्धान पनि गरेका छन् भने उनका अनुसन्धानात्मक लेखहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलहरूमा प्रकाशित भएका छन् । तिवारी नेपालको एक मात्र अर्थशास्त्रीहरूको संस्था नेपाल आर्थिक संघको भर्खरै सम्पन्न २९औं वार्षिक साधारणसभाबाट महासचिवमा निर्विरोध निर्वाचित भएका छन् । नेपालको प्रतिनिधित्व गरी आर्थिक तथा व्यावसायिक विषयमा विभिन्न अन्तर्राष्ट्रिय सेमिनार र बैठकहरूमा सहभागिता जनाएका नवनियुक्त महानिर्देशक तिवारीको अनुभव नेपालको आर्थिक, व्यावसायिक तथा वित्तीय क्षेत्रका लागि प्रभावकारी बन्ने विश्वास बैंक तथा वित्तीय संस्था परिसंघ, नेपालले लिएको छ ।

देशभित्र सञ्चालनमा रहेका बैंक तथा वित्तीय संस्थाहरूको बीचमा आपसी सम्पर्क तथा समन्वय कायम गरी स्वस्थ्य प्रतिस्पर्धाको माध्यममार्फत गुणस्तरीय एवं भरपर्दो बैकिङ सेवालाई दूरदराजसम्म विकास तथा विस्तार गर्ने, नेपाल सरकार, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंकलगायतका निकायहरूसँगको सहकार्यमा विद्यमान आर्थिक नीतिगत सुधारका लागि पृष्ठपोषण तथा पैरवी गर्ने, मुलुकको समग्र बैंकिङ सेवामा सर्वसाधारणको पहुँच एवं विश्वसनीयता बढाउने र निक्षेपकर्ता तथा लगानीकर्ताहरूको सम्वर्द्धन गरी समग्र राष्ट्रले लिएको आर्थिक समृद्धिको आकांक्षा पूरा गर्नेजस्ता उद्देश्यहरू बैंक तथा वित्तीय संस्था परिसंघ, नेपालले लिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया