Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमुक्तिनाथ कृषि कम्पनीले साधारण सेयर जारी गर्ने

मुक्तिनाथ कृषि कम्पनीले साधारण सेयर जारी गर्ने


काठमाडौं । मुक्तिनाथ विकास बैंकलगायत नेपालका आठ सय ६३ जनाभन्दा बढी सफल व्यावसायिक व्यक्तिहरूको लगानीमा स्थापना भएको मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले कृषि पेसालाई प्रतिस्पर्धी र मर्यादित बनाई युवाहरूको आकर्षणको केन्द्र बनाउने लक्ष्यसहित समग्र कृषि अर्थतन्त्रमा टेवा पु-याउन कृषिमूल्य श्रृंखलाको अवयवहरूमा काम गर्दै आइरहेको छ ।

विभिन्न उद्देश्यहरू प्राप्तिको लागि आफ्नो स्थापनाकालदेखि विभिन्न कृषि व्यवसायी, कृषक समूह तथा सहकारीहरूसँग सहकार्य गर्दै कृषकहरूलाई आवश्यक पर्ने गुणस्तरीय उत्पादका साधनहरू, प्रविधि र वित्तीय पहुँचमा सहजीकरण कसरी गर्न सकिन्छ र कृषकहरूले उत्पादन गरेको उपजहरूलाई उपभोक्ता समक्ष कसरी सहज, सुलभ र सुरक्षितरूपमा पु-याउन सकिन्छ भन्ने सन्दर्भमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्था, उत्पादक कम्पनीहरूसँग सहकार्य गर्दै देशका विभिन्न भू–भागमा कृषि पेसा गर्दै आइरहेका कृषकहरूलाई सहजीकरण गर्नको लागि सोहीअनुसार व्यावसायिक साझेदारी गरी व्यवसाय सञ्चालन गर्दै आइरहेको छ ।

विस २०७५ सालमा एक अर्ब अधिकृत पुँजी र ४० करोड जारी पुँजीसहित स्थापना भएको कम्पनीमा १० प्रतिशत सेयर सर्वसाधारणको लागि छुट्याइएको थियो । यसै परिवेशमा मुक्तिनाथ कृषि कम्पनीको सर्वसाधारणको लागि छुट्याइएको धितोपत्र निष्काशनको लागि आज बिहीबार अर्थात् असोज २१ गते मुक्तिनाथ कृषि कम्पनी लिमिटेडका काकार्यकारी अध्यक्ष भरतराज ढकाल र मेगा क्यापिटल मार्केट्स लिका प्रमुख कार्यकारी अधिकृत सवीर बादे श्रेष्ठले एक समारोहका बीच धितोपत्र निष्काशन व्यवस्थापनको लागि सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

कार्यक्रमा मुक्तिनाथ कृषि कम्पनीका सञ्चालक तुलसिराम ढकाल, सिताराम काफ्ले र विजय गुरुङ, प्रमुख कार्यकारी अधिकृत सलिलकुमार श्रीवास्तव, कम्पनी सचिव रामशरण तिमल्सिना, मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कविन्द्रध्वज जोशी, मुक्तिनाथ बैंकका क्षेत्रीय प्रमुख बाबुराम ढकाल र मेगा क्यापिटल लिका प्रमुख लगानी अधिकृत सुलभ श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

कृषि क्षेत्रमा काम गर्ने अभिप्रायले निजी क्षेत्रको लगानीमा स्थापना भएका कम्पनीहरूमध्ये सर्वसाधारणको लागि यो धितोपत्र निष्काशन पहिलो हुनेछ । यो सुरुवातसँगै संस्थागतरूपमा विकास हुन नसकेको कृषि क्षेत्रलाई थप परिस्कृत र लगानीको केन्द्र बनाई संस्थागत विकास र अन्य नयाँ पब्लिक कम्पनीको आगमनको लागि कोशेढुङ्गा साबित हुने मुक्तिनाथ कृषि कम्पनीका कार्यकारी अध्यक्ष भरतराज ढकाल बताए ।

उल्लिखित सम्झौता अनुसार यहिवर्षको चैत्र मसान्तभित्र निष्काशनको सबै प्रत्रिया पूरा गरी जारी गर्ने लक्ष्य लिएको छ । यसअन्तर्गत सर्वसाधारणको लागि चार करोडबराबरको चार लाख कित्ता धितोपत्र निष्काशन हुनेछ । आवश्यकताअनुसार मुक्तिनाथ कृषि कम्पनीले जारी पुँजी बढाएर धेरैभन्दा धेरै सर्वसाधारणलाई जोड्ने लक्ष्य लिएको जानकारी दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया