Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारविजय लघुवित्तको नवौँ वार्षिक साधारणसभा

विजय लघुवित्तको नवौँ वार्षिक साधारणसभा


काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको नवौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष ०७७–०७८ को नाफाबाट २१ दशमलव नौ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

संस्थाको शनिबार गैँडाकोट रिसोर्ट, गैँडाकोट– ५ मा सम्पन्न साधारणसभाले २० दशमलव शून्य तीन प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि एक दशमलव शून्य छ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्दै संस्थाको कायम जारी तथा चुक्ता पुँजी ३२ करोड रुपैयाँ पु-याउने प्रस्ताव पारित गरेको छ ।

संस्थाका अध्यक्ष कपिल न्यौपानेको अध्यक्षतामा सम्पन्न उक्त सभाले वित्तीय संस्थाको आव २०७७–०७८ को सञ्चालक समितिको प्रतिवेदन, २०७८ असार मसान्तको वासलात तथा सोही मितिमा समाप्त आव २०७७–०७८ को नाफा नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाह विवरणलगायत वित्तीय विवरणहरू पारित गरेको छ ।

सभाले आव २०७८–०७९ मा लेखापरीक्षण कार्य गर्नका लागि विदुर एसोसियट्सका सीए विदुर लुइँटेललाई नियुक्त गर्ने तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव समेत अनुमोदन गरेको छ । साथै सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम प्रबन्धपत्र तथा नियमावलीको विभिन्न दफामा संशोधन प्रस्ताव समेत स्वीकृत गरेको छ ।

सभाले संस्थापक सेयरधनीहरूको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने चार जना सञ्चालकहरूमा क्रमशः कपिल न्यौपाने, स्वयम्भू शाक्य, डा. हेमराज लामिछाने र खेमराज सापकोटालाई सर्वसम्मतरूपमा निर्वाचित गरेको छ ।

उक्त सभाले वित्तीय संस्थाको तर्फबाट अन्य कुनै वित्तीय संस्था प्राप्ति गर्ने वा एक–आपसमा गाभ्ने गाभिनेसम्बन्धी आवश्यक सहमति र सम्झौता गर्ने लगायत गाभ्ने, गाभिने वा प्राप्ति गर्ने सम्बन्धमा आवश्यक कामहरू गर्नसक्ने अख्तियारी सञ्चालक समितिलाई प्रत्यायोजन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

उक्त वार्षिक सधारणसभामा सञ्चालक समितिको तर्फबाट प्रस्तुत वार्षिक प्रतिवेदनमाथि सेयरधनीहरूको जिज्ञासा र उठेका प्रश्नहरूमा संस्थाको तर्फबाट अध्यक्ष कपिल न्यौपाने तथा प्रमुख कार्यकारी अधिकृत बसन्तराज लम्सालले स्पष्ट पारेका थिए ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया