Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाल लाइफको स्किल डेभलपमेन्ट कार्यक्रम

नेपाल लाइफको स्किल डेभलपमेन्ट कार्यक्रम


काठमाडौं, माघ २८
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले स्किल डेभलपमेन्ट एन्ड मोटिभेसन प्रोग्राम’ सम्पन्न गरेको छ । उक्त भव्य कार्यक्रम कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विवेक झाले पानसमा बत्ती बालेर उद्घाटन गरेका थिए । आफ्ना अभिकर्ताहरुको क्षमता अभिवृद्धि गर्ने तथा उत्प्रेरणा जगाउने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ ।

उक्त भव्य कार्यक्रममा एक हजार पाँच सयभन्दा बढी सक्रिय अभिकर्ताहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा सीईओ झाले नेपाल लाइफ इन्स्योरेन्सको ब्रान्ड एम्बेस्डर भनेकै देशका कुना–कुनामा पुगेर जीवन बीमाका बारेमा सचेतना फैलाउने सम्पूर्ण अभिकर्ता भएको बताए । त्यसैले कम्पनीले सक्रिय अभिकर्ताहरु अझ बढाएर चालू आवमा दोब्बर गर्ने लक्ष्य राखेको सीईओ झाले बताए । बीमाबाटै देशको समृद्धि, नागरिकको भविष्यमा आइपर्ने जोखिम न्यूनीकरण र अभिकर्ताको पनि भविष्य निर्माण गर्न सकिने उनको कथन थियो ।

सो अवसरमा सीईओ झाले बीमा गराउनुभन्दा पहिले बीमा गर्ने व्यक्तिको आर्थिक स्थिति बुझेर, जीवन बीमाको आवश्यकता महसुस गराएर मात्र बीमा गराउन सुझाव दिए । उनले सस्तो लोकप्रियताभन्दा गुणस्तरीय सेवा प्रवाह तथा दीर्घकालिन लाभमा नेपाल लाइफले ध्यान दिने बताए । सीईओ झाले भने ‘बीमा विश्वासमा हुन्छ, अभिकर्ताको बोलीमा हुन्छ, त्यसैले सबै अभिकर्ताले बीमा के हो र किन आवश्यक छ भन्ने चेतना आमनागरिकमा जगाउनुपर्छ ।

साथै बीमितको विश्वासमा आँच आउने काम गर्नुहुँदैन । त्यसपछि मात्र आम नागरिकमा बीमा गर्नुपर्छ भन्ने चेतनाको विकास हुन्छ, हरेक व्यक्ति बीमामा आबद्ध हुन चाहन्छन् र आफैं अभिकर्ताको खोजी गर्दै आउनेछन् ।’ कम्पनीका उपप्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईंले स्वागतमन्तव्य राख्दै कम्पनीलाई यो अवस्थासम्म ल्याइपु¥याउने श्रेय सम्पूर्ण अभिकर्ताहरुको रहेको बताउँदै सम्पूर्ण अभिकर्ताहरुलाई धन्यवाद व्यक्त गरे । सम्पूर्ण अभिकर्ताहरुले आम नागरिकलाई बीमाबारे बुझाएर मात्र बीमा गराउन उनले सुझाव दिए । पेशागत बीमा अभिकर्ता संघ केन्द्रीय समितिका अध्यक्ष नन्दप्रसाद तिवारीले अभिकर्ताहरु र कम्पनी दुवै पक्षको सहकार्यले नै कम्पनीले यो सफलता हात पारेको दाबी गरे ।

त्यस्तै, पेशागत बीमा अभिकर्ता संघ बीमक समिति (नेपाल लाइफ) का अध्यक्ष राजेन्द्र अमात्यले नेपाल लाइफको उच्च व्यवस्थापनको सही निर्णयले नै कम्पनीले उच्च स्थान हासिल गर्न सकेको बताए । कार्यक्रममा सगरमाथाको आरोहण गर्ने पहिलो नेपाली फोटो पत्रकार पूर्णिमा श्रेष्ठलाई सम्मान गरियो । मिसन २०२० अन्तर्गत अन्नपूर्ण–१ चढ्ने तयारीमा रहेकी श्रेष्ठले आमादाब्लम, मनास्लु हिमालको सफल आरोहण गरिसकेकाछन । सो अवसरमा पत्रकार श्रेष्ठले आफ्नो सफलताको कथा सुनाएका थिए ।

सो भव्य कार्यक्रममा मोटिभेटर बालकृष्ण शर्माले प्रशिक्षण दिएका थिए । कम्पनीका वरिष्ठ सहायक महाप्रबन्धक उमापति पोखरेल, प्रशासन एवं मानव संसाधन प्रमुख सोन बहादुर मगर र कम्युनिकेसन तथा ब्राण्डिङ विभाग प्रमुख मेघेन्द्र प्रकाश गिरीले उत्कृष्ट व्यवस्थापन गरेका थिए । कार्यक्रम नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका क्षेत्रीय प्रमुख दिवाकर बरालको सभापतित्वमा सम्पन्न भएको हो ।

जीवन बीमा कम्पनीहरूमध्ये करिब एक तिहाइ बजार हिस्सा ओगटेको कम्पनीको चुक्ता पुँजी जीवन बीमा क्षेत्रकै सर्वाधिक पाँच अर्ब ५० करोड रहेको छ भने लगानी ८२ अर्ब ५९ करोड रुपैयाँ रहेको छ । त्यस्तै, कम्पनीको जीवन बीमा कोष ७२ अर्ब ३३ करोड रुपैयाँ र सेयरधनी कोष आठ अर्ब ५७ करोडभन्दा बढी रहेको छ । कम्पनीले यस आर्थिक वर्षको मध्यसम्ममा जम्मा १४ अर्ब सात करोड बीमा शुल्क संकलन गरेको छ । एक लाख ४७ हजार ४२ प्रशिक्षित अभिकर्ता रहेको कम्पनीले आफ्ना सेवाग्राहीहरू तथा ग्राहकहरूका लागि हालसम्म देशभर फैलिएका दुई सय शाखा तथा उप शाखा कार्यालयहरु मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ ।

हालसम्म स्वदेश र विदेश गरी २७ लाख दुुई हजार तीन सय व्यक्ति यस कम्पनीमा बीमित भइसकेका छन् । ग्राहकहरूको हितलाई ध्यानमा राखी यस कम्पनीले समयसापेक्ष आवश्यक थप सेवा तथा सुविधाहरू समेत उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया