Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डूबीच मर्जर सम्झौता

ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डूबीच मर्जर सम्झौता

मर्जरपछि बन्ने ग्लोबल आईएमई बीओके लिमिटेड मुलुककै सबैभन्दा ठूलो बैंक बन्ने


काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडबीच एक–आपसमा गाभ्न गाभिनको लागि बिहीबार प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ । समझदारीपत्रमा ग्लोबल आईएमई बैंकको तर्फबाट बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा बैंक अफ काठमाण्डूका तर्फबाट बैंकका अध्यक्ष प्रकाश श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

मर्जरपछि बन्ने नयाँ बैंकको नाम ग्लोबल आईएमई बीओके लिमिटेड हुने र सञ्चालक समितिमा ग्लोबल आईएमई बैंकको तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकालसहित पाँच जना र बैंक अफ काठमाण्डूको तर्फबाट दुई जना रहने सहमति भएको छ । त्यसैगरी बैंकको प्रमुख कार्यकारी अधिकृतको रूपमा रत्नराज बज्राचार्य रहने प्रारम्भिक सहमति भएको छ । ग्लोबल आईएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडको सम्पत्ति तथा दायित्वको मूल्यांकनबाट सिफारिस भई आउने स्वाप रेसियोबाट अन्यथा कायम हुनआएमा सोहीअनुसार समायोजन हुनेगरी हाललाई एक बराबर एकको स्वाप रेसियो कायम गर्ने प्रारम्भिक समझदारी भएको छ ।

२१ वटा बैंक तथा वित्तीय संस्थाहरू गाभिएर बन्ने ग्लोबल आईएमई बिओके लिमिटेडमा पाँचवटा ‘क’ वर्गका वाणिज्य बैंक, १० वटा विकास बैंक तथा छवटा फाइनान्स कम्पनी समाहित हुनेछन् । मर्जरपश्चात् बैंकको कुल पुँजी ५२ अर्ब २९ करोड, चुक्ता पुँजी ३४ अर्ब ४१ करोड, कुल निक्षेप तीन खर्ब ८४ अर्ब, कुल कर्जा तीन खर्ब ८० अर्बसहित कुल पुँजी, चुक्ता पुँजी तथा व्यवसायको आकारको हिसाबले नेपालको सबैभन्दा ठूलो बैंक हुनेछ ।

साथै, दुवै बैंकले जेठ मसान्तसम्म छ अर्ब रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गरिसकेका छन् । दुई बैंकहरूको तीन सय ८५ वटा शाखा कार्यालय, तीन सय ६७ वटा एटीएम, दुई सय ७५ शाखारहित बैंकिङ सेवा, ६१ विस्तारित शाखा कार्यालयहरू, तीनवटा विदेशस्थित सम्पर्क कार्यालयहरू, ३७ लाखभन्दा बढी ग्राहकहरूसहित अन्य धेरै वित्तीय परिसूचकहरूमा ग्लोबल आईएमई बीओके लिमिटेड मुलुकको सबैभन्दा ठूलो बैंक हुनेछ । दुवै बैंकहरू एक–आपसमा गाभिएपछि संस्थाको पुँजी वृद्धि, कार्यक्षेत्र तथा कार्यक्षमतामा अभिवृद्धि हुनुका साथै मुलुकको सबैभन्दा सबल एवं सक्षम बैंकको रूपमा वित्तीय बजारमा स्थापित भई ग्राहकहरूलाई थप उत्कृष्ट सेवा तथा सुविधा प्रदान गर्न तथा लगानीकर्ताहरूलाई उच्चतम प्रतिफल दिने विश्वास बैंकले लिएको छ । साथै, बैंकले वित्तीय क्षेत्रमा नयाँ अवसरहरू ल्याई ग्राहक, सेयरधनी, बैंकसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सरोकार राख्ने सबैको हितलाई ध्यानमा राखी बैंकले कार्यसम्पादन गर्ने दुवै बैंकका सञ्चालक समिति अध्यक्षहरूले सयुंक्तरूपमा प्रतिबद्धता व्यक्त गरेका छन् ।

कार्यक्रममा ग्लोबल आईएमई बैंकका अध्यक्ष ढकालले नेपालको बैंकिङ इतिहासमा एउटा ऐतिहासिक कार्य भएको बताएका छन् । ग्लोबल आईएमई बैंक नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकले दिने निर्देशनहरू परिपालनामा सधैँ पहिलो हुनेगरेको बताउँदै तदअनुरूप यो मर्जरको समझदारीपत्रमा हस्ताक्षर गरिएको बताए । उनले मर्जरपछि बन्ने नयाँ बैंक ठूलो मात्र नभएर सबै हिसावले सर्वोकृष्ट बैंक बनाउने प्रतिबद्धता समेत व्यक्त गरे ।

बैंक अफ काठमाण्डूका अध्यक्ष श्रेष्ठले बैंकिङ क्षेत्रमा आजको दिन सधैँ संस्मरणमा रहने बताए । उनले मर्ज हुनु प्राकृतिक प्रक्रिया हो तर मर्जरपछि बन्ने बैंक कस्तो बन्छ भन्ने मूल विषय रहेको बताए । उनले नयाँ बैंकले नेपालको बैंकिङ क्षेत्रमा ठूलो सफलता हासिल गर्नेमा विश्वास प्रकट गरे । साथै, उक्त कार्यक्रममा दुवै बैंकका अध्यक्षहरूले गाभ्ने, गाभिने कार्यमा प्रत्यक्ष वा अप्रत्यक्ष तवरले सहयोग पु-याउने नेपाल सरकार, नेपाल राष्ट्र बैंक, बैंकका सञ्चालहरू, सेयरधनी, कर्मचारीवर्ग, सञ्चार क्षेत्रलगायत सम्बन्धित सम्पूर्ण शुभेच्छुकहरूप्रति हार्दिक आभार व्यक्त गरेका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया