Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएनआईसी एसिया बैंकको ‘क्यास रिसाइक्लर सेवा’

एनआईसी एसिया बैंकको ‘क्यास रिसाइक्लर सेवा’


काठमाडौं । ‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीतिअनुरूप सम्पूर्ण बैंकिङ सेवा तथा सुविधाहरू क्रमिकरूपले डिजिटल माध्यमबाट प्रदान गर्ने अठोट लिएको एनआईसी एसिया बैंकले अब नगद रकम सोझै मेसिनबाट जम्मा गर्न सकिने क्यास रिसाइक्लर सेवाको शुभारम्भ गरेको छ । यस नवीन सेवामार्फत अब ग्राहक महानुभावहरूले सहजरूपमा यस बैंकमा रहेको आफ्नो खातामा नगद रकम जम्मा गर्न सक्नेछन् । यस सेवाअन्तर्गत बैंकमा गई कुनै भौतिक फारमविना ग्राहकहरूले केबल आफ्नो डेबिट कार्ड वा खाता नम्बरको आधारमा मेसिनबाट सोझै रकम जम्मा गर्नसक्ने व्यवस्था रहेको छ । यस मेसिनबाट एक हजार र र पाँच सय रुपैयाँ दरका नोटहरू मात्र जम्मा गर्न मिल्ने व्यवस्था रहेकोमा एक जना ग्राहकको खातामा दैनिक अधिकतम ९९ हजार पाँच सय रुपैयाँसम्म नगद जम्मा गर्न सकिने सीमा रहेको छ ।

सहज एवं सरल बैंकिङलाई अँगाल्दै आएको यस बैंकको यस नयाँ सेवाबाट नगद जम्मा गर्नका लागि ग्राहकले क्यास रिसाइक्लर मेसिनमा डेबिट कार्ड राखेर एटीएम पिन कोड राखेपछि वा खाता नम्बर उल्लेख गरेपछि मेसिनमा रहेको रकम जम्मा गर्ने/राख्ने बक्स खुल्नेछ । उक्त बक्समा आफूले जम्मा गर्न चाहेको नगद रकम राखेपछि मेसिनले सो रकम गनेर खातामा तत्काल सहजरूपमा मौज्दात गरिदिने र त्यसको जानकारी समेत ग्राहकहरूले एसएमएस तथा रिसिप्टमार्फत प्राप्त गर्ने व्यवस्था बैंकले गरेको छ । बैंकले यो सेवा हालको लागि आफ्नो कर्पोरेट अफिस शाखा, थापाथलीमा सञ्चालन गरेको र यस सेवालाई निकट भविष्यमा देशका अन्य शाखाहरूमा समेत विस्तार गर्ने योेजना बनाइरहेको हुँदा नगद जम्मा गर्नकै लागि भौतिक फारम भरी बैंकको नगद काउन्टरमा लाइन लागेर जम्मा गर्नुपर्ने अवस्थाबाट ग्राहकहरूलाई मुक्ति मिल्ने बैंकले विश्वास लिएको छ । साथै, यस क्यास रिसाइक्लर मेसिनबाट ग्राहकहरूले दैनिकरूपमा एटीएम मेसिनबाट झै सरलरूपमा नगद झिक्न समेत सक्ने व्यवस्था रहेको छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यो बैंक मुलुकभर रहेका तीन सय ५९ वटा शाखा कार्यालयहरू, चार सय ७३ वटा एटीएम, एक सय दुईवटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित बैंकिङमार्फत बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ । देशको कुल जनसंख्यामध्ये २० वर्ष देखि ५० वर्ष उमेरसमूहसम्मको आर्थिकरूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई यस बैंकमार्फत सेवा दिन बैंक सफल भएको छ । उत्तरदायी बैंकिङको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब तीन अर्ब १६ करोडभन्दा बढी राजस्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ । जुन मुलुकको वाणिज्य बैंकहरूमध्ये दोस्रो धेरै एवं समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैटौँ ठूलो योगदान रहेको छ ।

वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यानजस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८० प्रतिशतभन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२ प्रतिशत शाखा कार्यालयहरू स्थापना गरेको जानकारी दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x