Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारराष्ट्रिय बीमा कम्पनी नवौँ वर्षमा प्रवेश

राष्ट्रिय बीमा कम्पनी नवौँ वर्षमा प्रवेश

बीमा बजारको नेतृत्वदायी भूमिका खेल्न सरोकारवालाको सुझाव


काठमाडौं । समयसापेक्ष आधुनिक प्रविधिको प्रयोग र जनशक्ति विकास गरी बीमा बजारको नेतृत्वदायी भूमिका खेल्न सरोकारवालाहरूले राष्ट्रिय बीमा कम्पनी लिमिटेडलाई सुझाव दिएका छन् । कम्पनीको नवौँ वार्षिकोत्सवका अवसरमा राजधानीमा आयोजित समारोहमा बोल्दै विभिन्न सरोकारवालाहरूले समयसापेक्ष आधुनिक प्रविधिको प्रयोग र जनशक्ति विकासका लागि आवश्यक लगानी र चुस्त व्यवस्थापनबाट थप कुशल र प्रतिस्पर्धी तथा बजारको नेतृत्वदायी भूमिका खेल्न सुझाव दिएका हुन् ।

अर्थ मन्त्रालयका राजस्वसचिव कृष्णहरि पुष्करले कम्पनीले पूर्ण प्रतिबद्धताका साथ प्रभावकारी सुशासन एवं चुस्त सेवामार्फत आफ्ना ग्राहक तथा सरोकारवालाहरूको अपेक्षा पूरा गर्दै अगाडि बढ्न आग्रह गरे । सरकारी स्वामित्वको एकमात्र निर्जीवन बीमा कम्पनीका रूपमा कम्पनीले आफ्नो विगतको कार्य प्रगतिको समीक्षा गर्दै थाती रहेका लेखापरीक्षण कार्य सम्पन्न गर्न उनले आग्रह गरे । प्रचलित बीमासम्बन्धी कानुनको ऐन एवं बीमा नियमावलीको अधीनमा रही समयमै आफ्नो वित्तीय विवरणको प्रकाशन गर्नुका साथै वित्तीय पारदर्शिता, बीमाको व्यावसायिकता, संस्थाको मर्यादा तथा गुणात्मक क्षमता बढाउन पनि उनले आग्रह गरे । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले कम्पनीले आफ्नो सेवालाई सर्वसाधारण र विपन्न वर्गसम्म पु-याई बीमाको पहुँच र दायरा वृद्धि गर्न बीमा बजारका नवीनतम अवसरलाई आत्मसात् गर्दै प्रतिस्पर्धात्मक एवं ग्राहकमुखी बीमा सेवा उपलब्ध गराउन आग्रह गरे । समितिले तोकेको समयसीमाभित्र पुँजी वृद्धि नगर्ने कम्पनीको कारोबार रोक्का गर्ने पनि उनले बताए । तोकिएको समयसीमाभित्र तोकिएको पुँजी नपु-याउने सरकारी र निजी क्षेत्रको जुनसुकै कम्पनीलाई पनि कानुनी दायरामा ल्याउने उनको भनाइ थियो ।

नेपाल सर्भेयर एसोसिएसनका अध्यक्ष मोहनपुरुष ढकाल कम्पनीले दुई किसिमको काम गरेको भन्दै एउटा अभिकर्ताको कमिसन कम गरिदिएको र अर्को बीमक संघ र सर्भेयर एसोसिएसनको बीचमा बसेर निर्धारण गरिएको फि कम्पनीले कम गरिदिएको बताए । कम्पनीसँग सर्भेयर एसोसिएसनले सहकार्य गरेर अगाडि बढ्न खोजेको भन्दै अहिले भएका अवरोध हटाइदिन उनले आग्रह गरे । कम्पनीका अध्यक्ष राजेश्वर ज्ञवालीले अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन भएका बीमा कार्यक्रमका साथै कर्पोरेट क्षेत्रका व्यावसायिक जोखिम तथा परम्परागत बीमा व्यवसायका सबैखाले आर्थिक गतिविधिसँग कम्पनीको बीमा व्यवसायलाई समेट्दै लैजाने कार्य तीव्र गतिमा हुन थालेको बताए । नियामक निकायबाट हालसम्म (आव २०६८/६९ देखि आव २०७२/७३ सम्मको) स्वीकृत वित्तीय विवरणको वार्षिक साधारणसभा यथाशीघ्र गर्ने लक्ष्य लिइएको जानकारी दिँदै उनले पछिल्ला आर्थिक वर्षहरूका वित्तीय विवरण पनि यसै आर्थिक वर्षभित्र तयार गरी वार्षिक साधारणसभा गर्ने लक्ष्य लिइएको बताए ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रराज ओझाले सरकारले लिएको बीमासम्बन्धी नीति तथा कार्यक्रमको कार्यान्वयनमा प्रमुख सारथि तथा सहयोगीको भूमिका निर्वाह गर्दै आफ्ना कार्यक्रममार्फत सार्वजनिक सेवा प्रदान गर्नु र बीमाको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गरी मुनाफा आर्जन गर्नु कम्पनीको दोहोरो दायित्व रहेको बताए । कम्पनीको लगानीका हिसाबले ऋणपत्र, सेयर र डिबेञ्चरमा बढी रहेको देखिएको जनाउँदै उनले हालसम्म नेपाल सरकार, बीमा समिति तथा नेपाल राष्ट्र बैंकद्धारा निर्दिष्ट गरिएका क्षेत्रहरूमा विद्यमान ऐन, नियम नीति तथा निर्देशिकाको परिधिभित्र रही विभिन्न बैंक, वित्तीय संस्था, नेपाल सरकारको ऋणपत्र, सेयर र डिबेन्चरमा अल्पकालीन तथा दीर्घकालीन लगानी गरी कम्पनीले उच्चतम प्रतिफल प्राप्त गर्दै आएको बताए ।

प्रमुख कार्यकारी अधिकृत ओझाले दीर्घकालीन लगानीको रूपमा मुख्यतया कम्पनीको सेयर नबिल बैंकमा एक करोड ७४ लाख १५ हजार एक सय ७९ कित्ता, नेपाल इनभेस्टमेन्ट बैंकमा एक करोड ७३ लाख १६ हजार सात सय ४४ कित्ता र नेपाल पुनर्बीमा कम्पनीमा २७ लाख ६९ हजार पाँच सय ४९ कित्ता सेयर रहेको बताए ।

नेपाल आयल निगम, नेपाल बैंक लिमिटेड, ग्लोबल आईएमई, प्रभु बैंक, सिभिल बैंक, नेपाल ल्यूब आयलमा पनि कम्पनीको लगानी रहेको छ । साथै, कम्पनीको २०७९ असार मसान्तसम्ममा नेपालमा रहेका केही क वर्गका वाणिज्य बैंक र ख वर्गका विकास बैंकलगायतको मुद्दती निक्षेपमा करिब पाँच सय करोड रुपैयाँ लगानी रहेको उनले जानकारी दिए ।

कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत कोइरालाले कम्पनीले राष्ट्रिय गौरवका परियोजनाहरूको पनि बीमा गरेको बताए । हालसालै नेपाली सेनाबाट सञ्चालनमा रहेको राष्ट्रिय गौरवको काठमाडौं तराई मधेश फास्ट ट्र्याक द्रुतमार्ग आयोजना, अपर तामाकोशी, अरुण तेस्रो, नेपाल एयरलाइन्स, भेरी बबई आयोजना, नेपाल राष्ट्र बैंकको नगद कोष, नेपाल आयल निगम, निजामती कर्मचारीहरूको दुर्घटना बीमा, राष्ट्रिय जनगणनाको अवधिमा परिचालन गरिएका गणकहरूको पनि दुर्घटना बीमा गरेको उनले बताए । यस्तै निर्वाचनका बेलामा खटिने सम्पूर्ण कर्मचारी र सुरक्षाकर्मीको पनि हामीले नै दुर्घटना बीमा गरेको पनि उनले बताए ।

सरकारी स्वामित्वमा राष्ट्रिय बीमा संस्थानको ५५ वर्षअगाडि स्थापना भएर जीवन र निर्जीवन बीमाको कारोबार गर्दै आएकोमा २०७१ साउन १८ गतेदेखि निर्जीवन बीमा व्यवसाय छुटै सञ्चालन गर्दै आएको छ । निर्जीवन बीमाको सन्दर्भमा सार्वजनिक संस्थानका रूपमा रहेर देशका २० वटा निर्जीवन बीमा कम्पनीमध्ये चौथो स्थानमा रहेको कम्पनीले यो आर्थिक वर्ष निर्जीवन बीमामा प्रिमियम संकलनका हिसाबले झण्डै एक सय ५० प्रतिशतले बढोत्तरी गरेर अगाडि बढेको छ । विगतमा ५५ वर्ष अगाडि जुनरूपले नेपालमा बीमाको अग्रणी कम्पनीका रूपमा सुरु गरेको थियो अब पनि प्रिमियम संकलनका हिसाबले पनि अग्रणी हुने दिशामा कम्पनी अगाडि बढेको छ ।

कम्पनीमा अहिले नेपाल सरकारको ४७ दशमलव पाँच प्रतिशत, कर्मचारी सञ्चय कोषको २२ प्रतिशत, नेपाल बैंक लिमिटेडको १० दशमलव ९६ प्रतिशत र सर्वसाधारण सेयरतर्फ १९ दशमलव ५४ प्रतिशत रहेको भने आर्थिक वर्ष २०७८÷७९ मा दुई अर्ब ६४ करोड ७१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । सो अवसरमा कम्पनीमा उत्कृष्ट व्यापार गर्ने अभिकर्ता हरिशरण सिवाकोटी, कान्ता शाह, सदीक्षा न्यौपाने, उत्तर बहादुर ऐर, नारायण गिरी, केशवदत्त जोशीलगायतलाई सम्मान गरिएको थियो । साथै उत्कृष्ट शाखाहरू जनकपुर, भक्तपुर र पाल्पा शाखालाई सम्मान गरिएको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया