Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयभौतिक आक्रमण र हड्ताल दुवै अस्वीकार्य

भौतिक आक्रमण र हड्ताल दुवै अस्वीकार्य


चिकित्सकहरूको आन्दोलनका कारण आइतबार देश एक प्रकारले आतंकित बन्यो । केही दिन पहिले वागमती प्रदेशको राजधानीमा चिकित्सकमाथि भएको भौतिक आक्रमणको कदलामा आइतबार देशैभर सर्वसाधारणले आफ्नो नैसर्गिक अधिकारभित्रको स्वास्थ्य उपचार गराउन पाएनन् । यो घटना एक प्रकारले डरलाग्दै थियो । कतिपय बिमारीहरू अस्पताल पुगेर रित्तै फर्किए । आकस्मिक सेवाचाहिँ सञ्चालन गर्ने भनिएको थियो । तर प्रायः धेरै अस्पतालमा यो सेवा पनि खुलेन । चिकित्सक नै सडकमा उत्रिएको समयमा आपतकालीन सेवा खुलेर मात्र हुने कुरा भएन । सरकारले पनि यस्तो बन्दलाई देशव्यापी बनाउन दिनु हुने थिएन । असन्तोष सम्बोधन हुने ठाउँ यही एउटा मात्रै निश्चय पनि होइन । जुन ठाउँमा चिकित्सकमाथि आक्रमण भएको थियो त्यसलाई केन्द्र बनाइएको थियो भने पनि प्रतिकात्मकरूपले पर्याप्त हुने थियो । यहाँ त ‘एउटा बिराउने, शाखा पिराउने’ भनेजस्तो भयो । भौतिक आक्रमण जति अप्रिय थियो, यो हड्तालले निम्त्याएको जीवन÷मरणको सवाल त्योभन्दा पनि भयावह भएर प्रकट भएको देखियो ।

यो बन्द अर्थात् अस्पतालमा हड्ताल नेपाल चिकित्सक संघको आह्वानमा भएको हो । आन्दोलनरत चिकित्सकहरूले आइतबार देशभरका स्वास्थ्य संस्थाहरू पूरै बन्द गरे । आकस्मिक सेवा चल्न दिने भनिएकोमा यो सेवा पनि ठप्प भएको छ । चिकित्सकमाथिको भौतिक आक्रमण र चिकित्सकले गरेको देशव्यापी हड्ताल देशका लागि काल पल्किएको हो कि जसरी प्रकट भएको छ । यसमा अर्को दुःखद् पक्ष त सरकार रमिते बनेर बसिरहेको छ । चिकित्सकहरूमाथि भौतिक अ्राकमण गर्नेहरू निश्चय नै कारबाहीको भागेदार हुन् । पाँच दिनअघि बागमती प्रदेशको राजधानी हेटौँडाको सन्चो अस्पतालमा उपचाररत चिकित्सकमाथि बिरामीका आफन्तबाट जस्तो आक्रमण भयो त्यो आफँैमा बर्बरताको एउटा नमुना नै थियो । यो अस्पतालबाट रेफर भएका एक बिमारी अन्यत्रको अस्पतालमा एक महिनाअघि बितेका थिए । यति लामो समयपछि उनका आफन्तले उल्टो रेफर गर्ने यहाँका चिकित्सकमाथि आक्रोश पोखे । यो आफैँमा अपराधजन्य काम थियो । त्यसबापत आक्रमणकारीहरू दण्डित हुनपथ्र्यो  ।

केही त पक्राउ पनि परेकै छन् । मृतककी श्रीमती र छोरीसहितका आफन्त हिरासतमा छन् । उनकै अगुवाइमा यस्तो आक्रमण भएको भन्ने चिकित्सकको भनाइ छ । प्रशासनले चिकित्सकको कुरालाई पनि सुनुवाइ गरेको थियो भने देशव्यापी हड्तालको स्थिति नआउन पनि सक्थ्यो होला ।चिकित्सकको हड्तालको पहिलो दिन आइतबार नेपाली सेनाका एक पूर्वमेजरले वीर अस्पतालमा सेवा नपाएर समस्यामा परेको भन्दै सामाजिक सञ्जालबाट गुनासो गरेका छन् । उनका अनुासर रुकुम पश्चिमको चौरजहारी नगरपालिकाकी उपमेयरसमेत रहेकी श्रीमतीलाई उपचार गर्न काठमाडौं आएकोमा उपचार नपाएको भन्ने उनको गुनासो थियो ।

‘आज स्वास्थ्य सुविधा लिन सकिएन’ भनेर उनले जस्तो पीडा पोखे यो आमजनताको प्रतिनिधित्वमूलत पीडा थियो । चिकित्सकले हिंसा समस्या हो, समाधान होइन, ‘ह्वाइट कोट इज टर्निङ रेड’ (सेतो कोट रातोमा परिणत हुँदैछ), ‘विदेश पलायन हुन बाध्य नपार’जस्ता नारा चिकित्सकका शरीरमा टाँसिएका थिए । राज्यका लागि यी नारा मननीय छन् । तर केही अनुशासनहीन जमातले गरेको उदण्डताविरुद्ध आम नागरिकलाई जीवनमरणको दोसाँधमा पार्नेगरी दण्डित गर्ने काम पनि स्वीकार्य छैन । चिकित्सकहरू उच्च तहका बौद्धिक वर्ग हुन् । यस्तो वर्गसँग नागरिकले त्यस्तै तहको अपेक्षा गरेको हुन्छ । सरकार पनि त्यहीरूपमा प्रस्तुत हुनुपर्छ । आउँदा दिनका लागि यो एउटा पाठ नै हो । आक्रमण र हड्ताल दुवै अस्वीकार्य छन् । चिकित्सक संघले जनतालाई समस्यामा पर्ने यो हड्ताल तत्काल फिर्ता गरोस् ।


क्याटेगोरी : सम्पादकीय
ट्याग : #page4

तपाईको प्रतिक्रिया