Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीय‘लकडाउन’मै उपत्यकामा कोरोना प्रवेश

‘लकडाउन’मै उपत्यकामा कोरोना प्रवेश


काठमाडौं,जेठ २
केही दिनअघि प्रधानमन्त्रीले नै कोरोनामुक्त क्षेत्र भनी काठमाडौँ उपत्यकालाई घोषणा गरेका थिए । घोषणाको हप्तादिन नपुग्दै डरलाग्दो हुनेगरी कोरोना प्रवेशको संकेत देखियो । यतिबेलासम्म संख्या तीन÷चार÷पाँच कति होला तर यसको प्रवेश नै गम्भीर अवस्थाको रह्यो । गम्भीर यसमानेमा कि यो प्रवेश लकडाउनका बेला भयो । अर्को कुरा सरकराले कुनै पनि हालतमा उपत्यका प्रवेश नदिने, उपत्यकाबाट अन्यत्र जानचाहिँ छुट दिने भन्ने नीति अवलम्बन गरेका बेला नै उपत्यकामा यस्तो चित्र देखिएको हो । यस्तो बेला उपत्यकाका तीनै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा कोरोनाको प्रतिनिधित्व भयो । काठमाडौं त्यस्तो जिल्ला हो, जो कोरोना देखिएको पहिलो जिल्लामा पर्छ । यो पहिलो चरणको कुरा थियो । खासगरी हवाइ मार्गबाट आएको कोरोना त्यो मार्ग बन्द भएपछि त्यसको स्रोत पनि बन्द भएको मानिएको थियो । प्रधानमन्त्रीले कोरोनामुक्त भनी बताएका अवस्थाले हवाइ मार्गको प्रभाव समाप्त भएको बुझाउँछ ।

तर, हवाइ मार्गभन्दा अब उपत्यकाका लागि स्थलमार्ग बढी खतरा देखियो । त्यो खतरा कस्तो भने प्रवेश निषेध गरिएको अवस्थामा नै यस्तो प्रवेश भयो । यो भनेको अन्दाज नै गर्न नसकिने अवस्था हो । उपत्यका जनसंख्याको हिसाबले पनि धेरै संवेदनशील क्षेत्र हो । एउटा घरको मान्छेले अर्को घरको मान्छेलाई चिन्न नसक्ने अवस्था छ । यस्तो अवस्थामा को कहाँबाट आयो भन्ने जानकारी हुन गाह्रो पर्छ ।

त्यसिमाथि बाक्लो जनसंख्या भएका कारण यसको विस्तार पनि त्यति नै छिटो हुने मान्छन् विज्ञहरू । पछिल्लो समय कोरोना भाइरसको संक्रमण पुष्टि भएका दुई महिला एक दिनअघि मात्र निजी सवारी साधनमार्फत काठमाडौँ प्रवेश गरेका थिए । यीमध्येका एकजना कतै शंका नभएको अवस्थाकी महिला हुन् । सुदूरपश्चिमको क्षेत्रबाट फर्किएकी हुँद सशस्त्र प्रहरी अस्पतालमा हवल्दार रहेका पतिले कोरोना परीक्षण गर्न सुझाए विवरणमा भनिएको छ । त्यहीअनुसार टेकुस्थित शुक्रराज ट्रपिकल अस्पताल गएर स्वाब दिएकी उनमा कोरोना भाइरस ‘पोजेटिभ’ रहेको नतिजा आयो । कथंकाल ती पतिले यस्तो नसुझाएको भए अवस्था के हुने थियो भन्ने अनुमान पनि गर्न सकिँदैन । सबै घरपरिवारमा यस्तो चेतना नहुन पनि सक्तछ । त्यसैकारण लकडाउनको घोषणा भएको हो । यो ठाउँमा आपत्ति के हो भने यी महिला उपत्यका नाका प्रवेशमा कतै अवरोध नभई घर आइपुगिन् ।

‘काठमाडौँमा पनि लकडाउन छ र ?’ प्रधानमन्त्री केपी शर्मा ओलीले आफनामन्त्रीहरूसँग सोधेको यो प्रश्न वास्तवमा नै उपत्यका प्रवेशका सन्दर्भमा र उपत्यकाभित्रकै यातायातको घनीभूत प्रवाहका सन्दर्भमा जोडिन्छ । संसद्मा त झनै गम्भीर रूपले कुरा उठ्यो । सांसदहरूले सत्ताको बलमा काठमाडौँमा कोरोना भित्र्याउने काम भएको भनी कुरा नै उठाए । टेकुस्थित शुक्रराज ट्रपिकल अस्पताल गएर स्वाब दिन खोज्नेहरूको दिनहँु भीड लाग्नेगरेका छन् । त्यो भीडको ठूलो संख्या कोठा प्रवेशका लागि घरबेटीले कोरोना छैन भन्ने प्रमाण मागेको भन्ने कारण देखाइरहेका छन् । यसले पनि बुझाउँछ दिनैपच्छिे यति ठूलो संख्या उपत्यकाबाहिरबाट राजधानी आइरहेको छ । त्यसो नहुँदो हो त सधैँ बसिरहेकोलाई कुनै पनि घरवालाले त्यस्तो प्रमाण माग्ने थिएनन् । उपत्यकामा कोरोना भाइरसको प्रवेश त्यसकारण पनि गम्भीर हुँदै गएको हो ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया