Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयकिसान रोएको दिन

किसान रोएको दिन


चिनी उद्योगले किसानसँग उधारोमा उखु किने, चिनी उत्पादन गरे, बिक्री गरेर पैसा लिए । सरकारले उखु किसानलाई अनुदान दियो, अनुदानको सट्टा पुर्जा बनाएर मिलमालिकले सरकारसँग रकम लिए, पट्टा पुर्जाचाहिँ किसानलाई बुझाइदिए । यो कुनै एक वर्षको कारोबार होइन । लगभग पाँच वर्षको कारोबारमा यस्तै देखिएको छ । अनुदान मिलमालिकले खाइदिए पनि उखुको मूल्य पाउनुपर्ने उखु किसानको माग वर्षेनी रहिरह्यो । तर, मिलमालिकले पर्खपर्ख भन्दाभन्दै किसानलाई पाँच वर्षसम्म झुलाएर तीमध्ये केही मिलमालिकले त मिल बन्द गरेर आफू भारततर्फ पसेर सम्पर्कविहीन भए । त्यसपछि आजित भएका उखु किसान अहिले मध्य पुसको यो ठण्डीमा काठमाडौँ आएर आन्दोलन गरिरहेका छन् । उठीबास लागेका उखु किसान धरधरी राइरहेका छन् ।

अहिले मुलुकमा किसान, मजदुर र सर्वहारा वर्गको प्रतिनिधित्व गर्ने शक्तिशाली सरकार छ । त्यसमा पनि उद्योगमन्त्री लेखराज भट्ट भद्र, शिष्टचारी र व्यावहारिक व्यक्ति छन् । उनी दुःखी पीडीतका मर्म बुझ्ने व्याक्ति मानिन्छन्, कृषिमन्त्री घनश्याम भुसाल त माक्र्सवादी दर्शनका प्रशिक्षक नै मानिन्छन् । उनी सत्तारुढ नेकपाभित्र मुलुकमा वैज्ञानिक कृषि क्रान्तिको अगुवाइ गर्ने हैसियतको व्याक्ति मानिन्छन् । किसान, मजदुर र सर्वहारा वर्गलाई मुक्ति दिने सरकार र त्यस्ता असल मन्त्रीहरू भएका बेला किसानले आफ्नो उत्पादनको मूल्य मिलमालिकले ठगेको आरोप लगाएर खुला आकासमुनि रोएर दिन बिताउनु परेको छ ।

सिंहदरबारमा विराजमान किसानप्रेमी मन्त्रीहरूले उनीहरूको आँसुलाई क्रुर मजाक गरेर उडाउने हुन् कि आँसुको मूल्य तिराउँछन्, त्यो नै अहिले सर्वाधिक चासोका विषय बनेको छ । कृषि प्रधान देश नेपालमा उखु किसानले आफूले वर्षौंदेखि बिक्री गरेको उखुको मूल्य पाउन पुसेझरीमा खुला आकासमुनि जाडोमा कठ्याङ्ग्रिएर धर्ना मात्र बस्नुपरेन, रुँदै बस्नुप-यो । तर, सिंहदरबारमा बसेका सर्वहारा वर्गका प्रवक्ता बनेका मन्त्रीलाई किसान रुँदै धर्ना बसेको ठाँउमा जाँदा चिसो लाग्ला भन्ने डर भयो र त्यहाँ जान सकेनन् । कृषि प्रधान देशमा यसरी किसानलाई रुवाएर बिचौलिया दलाल पुँजीपतिको सेवा र चाकडी गरेपछि कृषिमन्त्री भुसालले गर्ने भनेको वैज्ञानिक कृषि क्रान्ति पनि अब बेकाम हुन धेरै समय कुर्न नपर्ला । किनकी ढोँगीहरू यस्तै सपनाको व्यापार गर्न खप्पिस हुन्छन् ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया