Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयसरकारी निवासमा उद्योगीको पार्टी प्रवेश

सरकारी निवासमा उद्योगीको पार्टी प्रवेश


काठमाडौं ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पछिल्लो समय पटक–पटक विवादमा पर्दै आएको छ । सत्तारुढ दलकै एउटा समूहले पार्टीको काम सरकारी निवासबाट गरेको भनेर त्यो बैठक समेत बहिष्कार गरेको घटना सेलाउन नपाउँदै प्रधानमन्त्रीले बालुवाटरमै रात्रिभोजको आयोजना गरेर आमन्त्रित पाहुनाहरूलाई आफ्नो पार्टीमा प्रवेश गराएका छन् । यो विषय हप्ताभरि नै चर्चाको चुलीमा रह्यो ।

त्यसै पनि प्रधानमन्त्री केपी शर्मा ओलीमाथि बालुवाटारको सरकारी निवासलाई नै आफ्नो दलको कार्यालय बनाएको भनी आरोप लाग्दै आएको छ । आफ्नो थरकुलको भेलासमेत त्यहीँ गराएर पार्टीप्यालेसको काम पनि त्यहीँबाट सम्पन्न गराएको भनी आपत्तियुक्त टिप्पणी समेत हुनेगरेका थिए । त्यो कुराको पछिल्लो समय आफ्नै पार्टीबाट विरोध भयो भने त्यही क्रममा उद्योगी व्यापारीलाई झुक्याएर यो सरकारी निवासमै उनीहरूलाई पार्टीको झण्डा थमाएको कुरा आयो । यी दुवै काम स्वाभाविक थिएनन् ।

समाचारमा आएअनुसार यो हप्ता प्रधानमन्त्रीका आर्थिक सल्लाहकारले एउटा निम्ता पठाए प्रधानमनत्रीले रात्रि भोज दिन लागेका र त्यसमा सरिक हुन भनी अनुरोध गर्दै । सामाजिक सञ्जालमार्फत पठाइएको भनिएको त्यो निम्तापत्रमा भनिएको थियो– सम्माननीय प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीज्यूसँग निजी क्षेत्रका उद्योगी–व्यवसायीहरूको भेटघाट, छलफल तथा रात्रिभोजको कार्यक्रममा उपस्थितिका लागि अनुरोध गर्दछु  । कसैले पनि यस्तो निम्ता पाएपछि नजाने कुरा भएन ।

प्रधानमन्त्रीसँग छलफलका लागि उद्योगी–व्यवसायीलाई बालुवाटार बोलाइएको त्यसमा रात्रि भोजमा सरिक हुन भनिएको घटनासम्म सामान्य नै हो । प्रधानमन्त्रीले उद्योगी–व्यवसायीलाई सम्मानका लागि आफ्नो सरकारी निावसमा रात्रि भोज दिनु पनि त्यति अस्वाभाविक होइन । तर जब त्यसक्रममा उद्योगी–व्यवसायीलाई सरकारी निवासमा नै पार्टी प्रवेश गराउने काम भयो त्यो भने आपत्तियुक्त छ ।

यसबारेमा त्यो निम्ता पाएर सहभागी हुन बालुवाटार पुगेका एक सहभागीका प्रतिक्रिया आफैँले यो कायक्रम कस्तो थियो वा हो भन्ने बुझाउँछ । सहभागीमध्ये एक जनाले भने, ‘प्रधानमन्त्रीसँग भेटघाट र छलफल भनेर निमन्त्रणा आएको थियो, सोहीअनुसार प्रधानमन्त्रीको सरकारी निवासमा गयौँ तर केही व्यवसायी एमालेमा प्रवेश गर्ने भनेर घोषणा भएपछि त छाँगाबाट खसेजस्तै भयौँ ।’ यस्तो हुनेवाला नै थियो । करिब पाँच सयको हाराहारीमा उपस्थिति रहेको कार्यक्रममा त्यसको आधाभन्दा बढी प्रधानमन्त्रीको राजनीतिक दलमा प्रवेश गर्दा र त्यसको झण्डा हातमा सामात्दा बाँकी व्यक्तिको पहिचान त्यो दलविरोधी भन्ने पर्न जाने भयो नै ।

निम्तामा उपस्थित हुनेहरू त्यो दलमा प्रवेश गर्ने भन्ने कतै उल्लेख गरिएको छैन । यदि त्यस्तो लेखिएको थियो भने त्यो दल प्रवेश गर्न नचाहनेहरू त्यसदिन त्यहाँ जाने थिएनन होला । एउटा त प्रधानमन्त्रीको निवासमा सरकारी रात्रिभोज र त्यसमा पार्टी प्रवेश गराइनु आपत्तियुक्त हुने भयो नै । दोस्रो यसबारे पूर्वजानकारी समेत नगराई यो काम भयो । त्यसैकारण अहिले यो धेरै चर्चामा आएको र गलत परम्परा बसाएको भन्ने आरोप लागेको छ ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया