Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयआत्मनिर्भरता : प्रचार र सत्य

आत्मनिर्भरता : प्रचार र सत्य


काठमाडौं ।
गएकोे हप्ता प्रधानमन्त्री केपी शर्मा ओलीबाट एउटा महत्वपूर्ण घोषणा भयो । त्यो विषय थियो आत्मनिर्भरताको । देशका लागि यो एउटा सुखद जानकारी थियो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आयोजना गरेको एउटा कार्यक्रममा प्रधानमन्त्रीले नेपाल पशुपन्छीजन्य उत्पादनमा पूर्णरूपले आत्मनिर्भर भयो भन्ने । प्रधानमन्त्रीकै भनाइमा यतिबेला देश धुलो दुध, बटर, अण्डा र कुखुराको मासुमा पूर्णरूपले आत्मनिर्भर भयो ।

वास्तवमा नै भनिएजस्तो त्यस्तो आत्मनिर्भरता कायम भएको भए यो सुखद पक्ष हो । हेर्दा यी सामान्यजस्ता लागे पनि अत्यधिक खपत हुने वस्तुमा पर्छन् । प्रधानमन्त्रीको घोषणाअनुसार यी वस्तु स्वदेशमै प्रशस्त मात्रामा उत्पादन भइरहेकाले विदेशबाट आयात गरिराख्नुपर्दैन । वस्तु जे–जस्ता हुन तिनको आत्मनिर्भरता कायम हुन सक्यो भने त्यसको अर्थ गहिरो हुन्छ । यसको अनुकरण अरु क्षेत्रले पनि गर्न थाल्छन् । तर सर्त हो यस्तो आत्मनिर्भरताको अवस्था सही हुनुप-यो । सस्तो लोकप्रियतका लागि प्रचार गरेर मात्र हुँदैन ।

प्रधानमन्त्री ओलीको सरकार अघिल्लो मंसिरमा ठूलो हेरफेरमा प-यो । त्यसबेलाका कृषि तथा पशुपन्छी विकास मन्त्री पनि पुनर्गठनमा बाहिरिनेमा परेका थिए  । त्यसबेला आफू बहिर्गमनमा परेको कारणबारे बताउँदै भनेका थिए, ‘धुलो दुधको आयात रोक्न खोज्दा यस्तो भयो । प्रधानमन्त्रीले नै त्यस्तो आयातलाई प्रोत्साहन गर्न खोज्नुभएका कारण मेरो कुरा सुनिएन र मन्त्रीबाटै हटाइयो ।’ ओराप लाग्ने र लगाउने दुवै व्यक्ति भौतिकरूपम उपस्थित रहेकाले कुरा के हो बुझ्न सकिन्छ ।

त्यसपछि धुलो दुध आयातमा रोक लाग्यो भन्ने समाचार कतै आएन । बरु प्रधानमन्त्रीले यो वस्तुमा आत्मनिर्भर भएको भनी जानकारी गराएको अघिल्लो दिनसम्म अत्यधिक मात्रामा आयात भएको भन्ने विवरण भन्सारले देखाएको थियो । भन्सारको तथ्यांकअनुसार बटर र धुलो दुधको आयात उच्च छ । चालू आर्थिक वर्षको आठ महिनामा मात्र करिब डेढ अर्ब हाराहारीको बटर र धुलो दुध आयात भयो । प्रधानमान्त्रीले पूर्णरूपमा आत्मनिर्भर भएका भनिएका वस्तुमा धुलो दुध, बटर, अण्डा र मासुजन्य, कुखुरा, खसी र बंगुर आदि पर्छन् ।

भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको आठ महिनामा मात्रै ११ लाख ८२ हजार दुई सय ५३ किलो परिमाणको पाउडर दुध नेपाल भित्रिएको छ । विभागले बताएको चालू आर्थिक वर्षको आठ महिना भनेको गएको फागुनसम्मको अवस्था हो । प्रधानमन्त्रीले त्यस्तो घोषणा गरेको दिन हो चैत १२ ।

प्रतिव्यक्ति प्रतिवर्ष न्यूनतम ९१ लिटर दुध, १४ किलो मासु, ४८ गोटा अण्डा उपभोग गर्नुपर्ने हुन्छ । यो संयुक्त राष्ट्रसंघको विश्व खाद्य तथा कृषि संगठनले तोकेको उपभोगका लागि अन्तर्राष्ट्रिय मापदण्ड हो । कृषि मन्त्रालयकै अनुसार हाल नेपालमा प्रतिव्यक्ति प्रतिवर्ष ७९ लिटर दुध, १८ दशमलव एक किलो मासु र ६१ गोटा अण्डाको उपलब्धता हासिल भएको छ । सरकारी यो दाबीअनुसार आत्मनिर्भर भएको देखाउँछ तर त्यसो हो भने आत्मनिर्भर भइएको भनिएको वस्तु किन आयात भइरहेको छ भन्ने प्रश्न उठ्छ नै ।

उदाहरणका लागि उल्लेख भएको चालू आर्थिक वर्षको आठ महिनामा मात्रै ४९ करोड ६५ लाख रूपैयाँभन्दा धेरै मूल्यबराबरको ९३ हजार दुई सय ५० किलो बटर नेपालले आयात भएको छ । यसैबेला पाउडर दुधको परिमाण ११ लाख ८२ हजार दुई सय ५३ किलो अर्थात् ८१ करोड ३० लाख ७० हजार रूपैयाँभन्दा धेरै रकम उता गयो । यसले प्रधानमन्त्रीले भनेजस्तो पूर्ण आत्मनिर्भरता देखाउँदैन । तर पनि यो घोषणा सही हो भने स्वागतयोग्य छ ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया