Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयडढेलोको रोकथाममा चुक्दै सरकार

डढेलोको रोकथाममा चुक्दै सरकार


काठमाडौं ।
देश यतिबेला डरलाग्दो आगलागीको चपेटामा परिरहेको छ । यसले जति धनजनको क्षति पु-याइरहेको छ त्योभन्दा झनै डरलाग्दो विषय आगलागी नभएको क्षेत्र समेत आकास धुँवाले ढाकिएर दिउँसै अँध्यारो हुनु र त्यो अवस्था हप्तौँसम्म रहनु । यो कुनै अनुमानको कुरा होइन । हावाहुरी चल्ने चैतको महिना कतै पनि हावा लागेन र यस्तो तुवालो महिनाभरि नै कायम रह्यो । यस्तो विपत्सँग लड्न सरकारको अलिकति पनि तयारी नहुनु झनै डरलाग्दो थियो । स्थिति कतिसम्म भने साढे सात सय स्थानीय तहमध्ये छ सयमा आगो निभाउने दमकल नै नरहेको अवस्था देखियो । सामान्यतया यो कुरा पत्याउन सकिँदैन तर सत्य रहेछ ।

प्रहरीमा रेकर्ड भएका तथ्यांकले नै देखाइरहेका छन् गएका तीन वर्षमा मात्रै पाँच हजार स्थानमा आगलागी, एक सय ५८ जनाको मृत्यु, आठ अर्बको क्षति भयो । आग्लागीको चपेटामा सबै प्रदेश परेका विवरणहरू आइरहेका छन् । मुलुकका सात प्रदेशमध्ये कुनै पनि प्रदेश आगलागीको जोखिमबाट मुक्त छैनन् । यसबाट मुलुकले वर्षेनी ठूलो जनधनको क्षति व्यहोरिरहेको छ । माथि उल्लिखित नेपाल प्रहरीमा रहेको रेकर्डअनुसार, पछिल्लो तीन वर्षमा देशभर पाँच हजार ६४ वटा आगलागीका घटना भएकामा तिनमा एक सय ५८ जनाको मृत्यु भएको र आठ सय ७१ जना घाइते भएका तथा दुई हजार पाँच सय घरमा क्षति पुगेको अवस्थाको चित्रले अवस्था कति भयावह रहेछ भन्ने आफैं बुझाउँछ ।

कुन वर्षमा कति क्षति भयो भन्ने हेरियो भने पनि क्षतिको यस्तो भयावह अवस्थाको पनि निरन्तरता पाइन्छ । जस्तो आर्थिक वर्ष २०७५/७६ मा दुई अर्ब ७८ करोड ८९ लाख, २०७६/७७ मा दुई अर्ब २१ करोड ५६ लाख र २०७७/७८ मा तीन अर्ब ४१ करोड ५४ लाख रुपैयाँबराबरको क्षति भएको छ । यता क्षतिको निरन्तरको अवस्था यस्तो छ भने उता रोकथामको तयारी र त्यसका लागि व्यवस्था पनि कस्तो छ भन्ने पक्ष योसँग जोडिन्छ । त्यो हेर्दा आफैँ आत्तिनुपर्ने हुन्छ ।

आगलागी नियन्त्रणका सन्दर्भमा देशभरिकै अवस्था केही अपवादबाहेक । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा रहेको रेकर्डअनुसार सात सय ५३ स्थानीय तहमध्ये छ महानगरसँग १९ वटा र बाँकी ७३ वटा नगरपालिकासँग ७३ वटा दमकल छन् । त्यसबाहेक ११ वटा उपमहानगरपालिकासँग दुईवटाको दरले २२ वटा दमकल छन् ।

मन्त्रालयको अभिलेखमा रहेअनुसार काठमाडौँमा चार, ललितपुरमा तीन, पोखरामा तीन, भरतपुरमा दुई, वीरगञ्जमा तीन र विराटनगर महानगरपालिकामा चारवटा दमकल छ, १२ उपमहानगरहरूमा पनि कम्तीमा दुई/दुई दमकल भए पनि सबै ठीक अवस्थामा छैनन्, बाँकेको नरैनापुरबाहेक चार सय ५९ वटा गाउँपालिका अहिले पनि दमकलविहीन रहेको अवस्था पाइयो । रिपोर्टमा आएअनुसार पनि दुई सय ७६ नगरपालिकामध्ये दमकल नभएका दुई सय तीन नगरपालिका छन् । दमकल नै नभएका नगरपालिका कस्ता होलान् अनुमान गर्न सकिन्छ । यही हो आगलागीको पिरलो र रोकथामका लागि कुनै तयारी नभएको अवस्था प्रकट भएको ठाउँ पनि । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया