Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयसंक्रमणको डरलाग्दो विस्तारप्रति बेखबर

संक्रमणको डरलाग्दो विस्तारप्रति बेखबर


काठमाडौ ।
देश कोरोनाको प्रकोपले ग्रस्त भएको छ । दिनमा १० हजार परीक्षण भएका बेला तीन हजारको हाराहारीमा संक्रमण भेटिनु भनेको सानो कुरा होइन तर सरकार भने बेखबर छ । बेखबर यसकारणले कि आज यति संक्रमित भेटिए भन्ने सूचना दिनुबाहेक सरकारले नियन्त्रणतर्फका केही कामै गरेको छैन । सरकारले एउटा आदेश जारी गरको थियो, त्यो आदेश कति फितलो रह्यो भने स्वयम् प्रधानमन्त्री निवास बालुवाटारले त्यसको उल्लङ्घन ग-यो भने सरकारी पदाधिकारीले नै यसको पालना गरेनन् ।

यतिबेला रामजानकीको शोभायात्रा महत्वको हो कि कोरोना नियन्त्रणका लागि चालिने कदमहरू भन्नेमा सरकार नै स्पष्ट नभएको अवस्थाले स्थिति कुन हदसम्म पुग्ला भन्ने चिन्ता बढेको हो । यो रामजानकीको शोभायात्रामा भेला भएका दशौँ हजार मान्छे प्रभावित भए भने त्यसको दोषी को हो भन्ने प्रश्न निरुत्तरित छ । प्रधानमन्त्रीको विशेष पहलमा यस्तो काम भएको हो ।

केन्द्र र जिल्ला जताततै स्थिति भयावह बन्दै गएका समाचारहरू आइरहेका छन् दैनिकजसो । साधनको अभावका कारण उपचार गर्न नपाएकोमा चिकित्सकहरू आफैँ रुन थालेका छन् । पश्चिमको भेरी अस्पतालमा कोरोनाका बिरामीले भर्ना पाउन अर्को बिरामी डिस्चार्जको प्रतीक्षा गर्नुपरेको अवस्था वास्तवमा नै डरलाग्दो हो।

यो पछिल्लो लहरमा सबैभन्दा प्रभावित भएको ठाउँ हो नेपालगञ्ज । यहाँको अस्पतालमा रहेको एक सय ४२ बेड भरिभराउ भएपछि भुइँमा पनि उपचार गरिरहेको जानकारी दिएका छन् अस्पतालका मेडिकल सुपरीटेन्डेन्टले । उनकै शब्दमा बेड भरिएर राख्न मिल्ने ठाउँहरूमा अतिरिक्त बेड राखेर पनि भरिसकेको छ, अब त कुनै बिरामी डिस्चार्ज नभएसम्म नयाँ बिरामीलाई लिने ठाउँ नै छैन, पालो कुर्ने अवस्था पनि छैन ।

नेपालगञ्जमा संक्रमितको संख्या शतप्रतिशतले आउन थालेको हप्ताभन्दा बढी भयो । यो ठाउँमा संक्रमित थपिने संख्या सरदर दिनको पाँच सयका हाराहारीमा रहेको छ । दैनिक यतिका संख्यामा बिरामी थप भइरहँदा पनि सरकारले थाहै नपाएको जस्तो गरेको छ । यहाँका चिकित्सकले सामाजिक सञ्जालमा लेखेका छन्, ‘स्थिति नियन्त्रणबाहिर : कोभिडको लागि छुट्याएर राखिएका सम्पूर्ण एक सय ४२ बेडहरू पूर्णरूपमा भरिभराउ ।’ संक्रमित बिरामीको आउने क्रम जारी छ । हामी मुकदर्शक भएर बस्नेबाहेक केही गर्नसक्ने अवस्था छैन । हरेकले आफ्नो ठाउँबाट महत्वपूर्ण भूमिका निर्वाह गर्न जरुरी देखिन्छ ।

नेपालगञ्जजस्तै हुँदै छ केन्द्रीय राजधानी रहेको ठाउँ काठमाडौँ उपत्यका पनि । उपत्यकामा यतिबेला प्रतिदिन हजारदेखि १५ सयको दर कायम छ । यस्ता घनाबस्तीमा सरकारले परीक्षण बढाएको छैन । संक्रमणको सिद्धान्त हो जोसँग भेटियो त्यसको सम्पर्कमा आएकालाई पनि सरकारले निगरानीमा राख्नु ।

माथि उल्लिखित संख्या आफैँ परीक्षण गर्न गएकाहरूको हो । प्रधानमन्त्रीले आफ्नो कामको प्रगति देखाउँदा शून्यबाट ३५ सयसम्मको परीक्षण क्षमता देखाएका थिए । तर सरकारले बल्ल दश हजारसम्मको परीक्षण संख्या पु¥याएको छ जसमा एक हजारमा तीन सयको हाराहारीमा संक्रमण विस्तार भएको अवस्था छ । यहीँबाट प्रश्न उठ्छ, खै त सरकारको तयारी ? बरु उल्टो भइरहेको छ ।

प्रधानमन्त्री आफ्नै निवासमा भीड जम्मा गरिरहेका छन् आफ्नो राजनीतिका लागि । मन्त्रीहरूले पनि सरकारी आदेशको पालना गरेको देखिएन । मन्त्रीहरूबाटै ठूला–ठूला प्रदर्शनीको अगुवाइ हुन् त्यसको उदाहारण । यही हो कोरोनाको डरलाग्दो आकारप्रति सरकार बेखबर रहेको भनी सर्वसाधारणले आरोप लगाइरहेको ठाउँ ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया