Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयखोपको जोहोमा कामभन्दा प्रचार बढी

खोपको जोहोमा कामभन्दा प्रचार बढी


काठमाडौं ।
खोपका बारेमा सरकार कुरा धेरै र काम थोरै गरेजस्तो देखिँदै छ । नेपाल खोप उत्पादक देश होइन । यसले कोही न कोहीसँग भर पर्नैपर्छ । यो ठाउँमा भन्नैपर्छ सरकारको पहलकै कारण नेपाल संसारमा नै छिटो खोप लाउने देशको सूचीमा दर्ज भएकै हो त्यसबेला । गएको माघ १४ मा नेपालले खोपको पहिलो डोज दिन थालेको हो । प्रधानमन्त्री आफँैले त्यसबेला वैशाखभरिमा सबै नेपालीलाई खोप दिइसक्ने भनी बताएका पनि थिए । तर त्यसपछि खासै पहल भएको देखिएन । अग्रीम भुक्तानी दिएर खरिद गरिएको खोपको मात्रासमेत ल्याउन सकिएन ।

१० लाख डोज खोप भुक्तानी भएर पनि ल्याउन नसकिएको अवस्था छ । यो खोप नआउनुमा कमिसनको खेल र सरकारले कसैलाई विशेष काम दिनलाग्दा यो स्थिति आएको हो । सम्बन्धित मन्त्री आफैँले त्यसको संकेत गरेका थिए । त्यसपछि अहिलेसम्म पछिल्लो समय चीनले थप १० लाख मात्रा अनुदानमा दिएबाहेक अवस्था जस्ताको तस्तै छ । तर प्रचारचाहिँ धेरै नै भइरहेको छ ।

यो प्रचार प्रधानमान्त्री र राष्ट्रपति निकट स्रोतबाटै भयो । त्यसअनुसार मान्ने हो भने देशमा अहिलेसम्म करिब सवा करोड मात्रा आइसकेको अवस्था छ । तर यथार्थमा त्यो देखिएको छैन । यो भनेको खोपमा बढी प्रचार भएको अवस्था हो । बढी प्रचार मात्र होइन देशका प्रमुख अंगहरूबीच होडबाजी नै चल्यो कसले पहल गरेर खोप पाइयो भन्ने । त्यसमा प्रधानमन्त्रीको वाचा फेरि दोहोरियो चुनावअघि सबै नेपालीलाई खोप लगाइसक्ने भनेर । यस्तो वाचाले मानिसमा थप आशा जगाएको छ । तर यो वाचालाई प्रधानमन्त्रीले बिर्सनुहुन्न ।

पछिल्लो हप्ता आफ्नै नेतृत्वमा रहेको सीसीएमसीको बैठकलाई सम्बोधन गर्दा पनि चीनसँग ४० लाख खोप किन्ने निर्णय भइसकेको जानकारी आयो । तर त्यसैदिन स्वास्थ्य मन्त्रालयले खण्डन ग¥यो यस्तो खोप किन्ने बारेमा कुनै कुरा भएको छैन भनेर । प्रधानमन्त्रीका भनाइ र स्वास्थ्य मन्त्रालयको खण्डनयुक्त वक्तव्य सञ्चार माध्यममा सार्वजनिक भइसकेका छन् । यही क्रममा निवर्तमान परराष्ट्रमन्त्रीले दिन नै तोकेर अबको १५ दिनमै खोप आउछ भनेर खोप आउँदै गरेको जानकारी गराएका थिए । उनले त खोपको मात्रा पनि तोकेका थिए । उनको दाबीमा एक करोड डोज थियो । तर त्यो पनि कहिले र कहाँबाट आउने भन्ने छेकछन्दमा परेको छैन यतिबेलासम्म ।

सरकारको बढी प्रचारमुखी कामको शिकार भइसकेको छ देशको एउटा वर्ग । यो संख्या सानो छैन । सरकारले व्यवस्था गर्छु भनेर कोभिसिल्ड खोपको पहिलो मात्रा लिएको जेष्ठ नागरिकले दोस्रो मात्रा खोप पाउन सकेको छैन । यो संख्या करिब १४ लाखको छ । यो संख्या यतिबेला मानसिक तनावमा छ । तोकिएको समयमा लगाउनुपर्ने दोस्रो मात्राको समय कटेको लामो समय बितिसकेको भन्ने छ यो वर्गमा । यस्तो मान्यता स्वाभाविक पनि हो । यसैकारण अदालतमा हारगुहार गर्न थालिएको छ । यही दोस्रो मात्राको खोपको माग गर्दै एक जना ज्येष्ठ नागरिक रिट लिएर सर्वोच्च अदालत पुगे यही हप्ता ।

फागुन २३ गतेदेखि चैत ३ गतेसम्म देशभरका ६५ वर्षमाथिका ज्येष्ठ नागरिकले खोप पाएका थिए । यो खोप भारतीय कम्पनीसँग खरिद गरिएको भनिएको थियो । त्यसबेला १२ हप्ताभित्र दोस्रो डोज खोप दिनुपर्ने बताइएको थियो । सोअनुसार ज्येष्ठ नागरिकलाई जेठ १५ गतेसम्म दोस्रो डोज खोप दिनुपर्नेमा अहिलेसम्म जोहो नै हुनसकेन । यस्तो बेला करोडका करोडको कुरा हुनु आफैंमा कति पत्याउने विषय हो भन्ने अनुमान गर्न सकिन्छ । 


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x