Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयकोरोनाविरुद्ध खोपको एक सय ५० दिन

कोरोनाविरुद्ध खोपको एक सय ५० दिन


काठमाडौं । अघिल्लो वर्ष अर्थात् गएको माघ १४ नेपालमा कोरोनाविरुद्धको खोप लगाउन सुरु भएको दिन हो । यसदिन प्रधानमन्त्रीले नै वैशाख महिनाभित्र सबै नेपालीलाई खोप लगाउने भनेर घोषणा गरेका थिए । यो कुराको सबैतिर प्रशंसा पनि भयो । यो भारतबाट प्राप्त भएको अनुदानको खोप थियो । जे होस् सुरुआत राम्रो भएको थियो तर पछि सरकार केमा अलमलियो रकम दिएर खरिद गरेको खोपको मात्रा समेत ल्याउन सकिएन भने प्राप्त भएको खोपको व्यवस्थित वितरण हुननसक्दा खोपकेन्द्रबाटै कोरोना सर्ने खतरा बढ्दै गएको महसुस भएको छ ।

एकातिर यस्तो अवस्था छ भने अर्कातिर पहिलो मात्रा कोभिसिल्ड खोप लगाइसकेका नागरिकहरूले कहिले दोस्रो मात्राको खोप लगाउन पाउलान् भन्ने चिन्ता बढिरहेको छ । यो संख्या सानो छैन । अभिलेखमा नै रहेअनुसार १३ लाख ६४ हजार सात सय जना पहिलो मात्राको खोप लगाएर दोस्रो मात्राको समय कटेका नागरिकमा पर्छ । यो नागरिक पनि कस्तो भने सरकाले नै विशेष समूह भनिएको ज्येष्ठ नागरिक जसले चार महिना पुग्दा समेत दोस्रो मात्राको खोप पाएनन् मात्र होइन पाउँछन् भन्ने आश पनि मरिसकेकोे अवस्था छ । यो किन भयो भने यसतर्फ पहल गरेको नै पाइएन । राज्य लागेका अवस्थामा चार महिनादेखि यति कुरा गर्न नसक्ने भन्ने हुँदैन ।

सरकारी निकायकै विज्ञहरूको भनाइ छ–पूर्ण मात्रा खोप लगाउन सके कोभिडको सम्भावित लहरबाट जोगाउँछ, न्यूनतम ७० प्रतिशत जनसंख्यालाई खोप लगाउँदा संक्रमणको चक्रलाई तोड्न र सम्भावित तेस्रो लहरको जटिलताबाट जोगिन सकिन्छ , तर ज्येष्ठ नागरिकहरूका लागि दोस्रो मात्रा खोपको अत्तोपत्तो छैन, यसले गर्दा तेस्रो लहरमा उहाँहरूको ज्यान जोगाउनु सबैका लागि ठूलो चुनौती भएको छ । जुनसुकै प्रक्रियाबाट ज्येष्ठ नागरिकलाई कोभिसिल्ड खोप सुनिश्चितता गर्नु सरकारको मुख्य दायित्व हो, अब उहाँहरूलाई अन्य खोपसमेत दिन सकिँदैन ।

खोपका बारे स्थिति कति जटिल हुँदै गएको छ भन्ने विज्ञका यी सुझाव वा चेतावनीले नै पनि बताउँछन् । अहिलेसम्म खोप लगाएको जनसंख्याको प्रतिशत २ दशमलव ५५ मात्र पुगेको छ । विवरणमा आएअनुसार हालसम्म कोभिसिल्ड र कोभाक्सिन खोपको पूर्ण मात्रा लगाएकाहरूको संख्या साढे सात लाख मात्रै छ । यो संख्या मात्र ७० प्रतिशतको जोखिमबाट जोगिएको मान्नुपर्छ । माथि उल्लेख भएको एक मात्रा खोप लगाउने साधारण नागरिकको १३ लाख संख्या ६५ वर्षभन्दा माथिको उमेर हो । त्यस उमेरमुनिको मान्छेले त खोप पाएकै छैन केही अपवादबाहेक ।

पछिल्लो समय छिमेकी देश चीनले दिएको १० लाख मात्राबाट पनि ६० वर्ष उमेरमाथिकाले मात्र पाएका छन् । उमेरमा त्यसभन्दा मुनिको जनसंख्या राज्यको आँखामा परेको जस्तै नै देखिएन । छिमेकी देश भारत र चीनमा १८ वर्षमाथिकाले खोप पाउन र लाउन थालेका छन् ।

युरोप अमेरिकातिर त त्यो उमेरसमूहभन्दा पनि तल झरिसकेको अवस्था छ । यता नेपालमा भने ६० वर्षभन्दा तल झर्न सकेका छैनौँ । एकताका ५५ वर्षसम्मले पाउने भनी सूचना निकालियो । तर पछि त्यसलाई रद्ध गरियो । कारण थियो खारिद गरिएको खोप पनि ल्याउन नसक्नु । पहिले चीनले दिएको १० लाख मात्रा सबैमा बाँडियो तर त्यो कस्तो थियो भने धेरैमा पूर्ण विश्वास नै थिएन र प्रारम्भमा खोप लिन पनि गएनन् । पछिल्लो समय विश्वास बढ्यो तर सरकारले खोप ल्याउनै सकेन अनुदानबाहेक ।

प्रधानमन्त्रीको निवासबाट सरकारी कामको उपलब्धि केही पहिले नेपालमा एक करोडभन्दा बढी मात्रा खोप आएको भनी प्रचार भयो । यतिबेला प्रश्न उठेको छ त्यो हो भने कहाँ गयो ? खोप लाउनथालेको माघ १४ बाट गणना हुँदा असार १४ सम्ममा पाँच महिना पुगेर छैटौँ महिना लागेको छ । अब तत्कालै खोपको रफ्तार बढ्छ भन्ने पनि छैन । कारण हो सरकारका कुरा हावा हुँदै छन् । खोप भनेको जीवनमरणसँग जोडिएको कुरा हो । खेलबाड हुनु अपराध हो । ख्याल रहोस् ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x