Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयतामाकोशी गौरव हो तर नजिर बन्नहुन्न

तामाकोशी गौरव हो तर नजिर बन्नहुन्न


काठमाडौं ।
नेपालको आफ्नै लगानी र प्राविधिक ज्ञानबाट निर्माण भएको माथिल्लो तामाकोशीको विद्युत् उत्पादन यतिबेला नेपालीको घर–घरमा पुगेको छ । एकातिर प्रधानमन्त्रीबाट यसको उद्घाटन हुँदै थियो अर्कातिर त्यही दिन के कारणले हो दर्जनभन्दा बढी पटक बिजुली गयो । तामाकोशीको यो बिजुली प्रशारण लाइनमा राख्ने सन्दर्भमा काटिएको होइन । पछिल्लो दिन यस्तै भइरहेको छ तर सरकार भने मौन छ । आशा गरौँ अब यस्तो नहोला ।

हिजोसम्म जति विद्युत्को माग थियो वा वितरण भइरहेको थियो त्यसमा यो आयोजना एक्लैले एक तिहाइ हाराहारीको मात्रा थपिएको छ वितरण प्रणालीमा । यो आयोजना विद्युत्तर्फ उत्पादन दिनथालेको देशको सबैभन्दा ठूलो हो । यसको कुल क्षमता चार सय ५६ मेगाावट हो, जसमध्ये अहिले एक युनिटबाट करिब सयको हाराहारीमा । यसको डबल बढी उत्पादन हुने आयोजना पनि निर्माणका क्रममा छन् तर ती नेपाली लगानीका होइनन् ।

यो आयोजना वास्तवमा नै कतिपय कारणले गौरवयोग्य नै छ । त्यसै पनि यो आयोजना राष्ट्रिय गौरवअन्तर्गतको आयोजना नै थियो । तर यसले कायम गरेको कतिपय कुरा भने अरु आयोजनका लागि नजिर नबनुन् भन्ने कामना गर्नुपर्ने हुन्छ । पाँच वर्षमा सकिनुपर्ने आयोजना ११ वर्षपछि मात्र विद्युत् उत्पादनको यो चरणमा आइपुगको हो । प्रारम्भमा यसको लगानी करिब ३५ अर्बको अनुमानमा थियो । त्यसमा करिब अढाई गुणा बढेर ८५ अर्ब पुगेको छ । यसले लागत र समय दुई कुरा नै अनुकरणीय होइनन् भन्ने बुझाउँछ । पाँच वर्षमा सम्पन्न गर्ने लक्ष्य थियो पहिले अर्थात् यसको प्रारम्भ हुँदा । सामान्यतया ठूलाभन्दा ठूला आयोजना पनि तिनको सम्पन्नताको समय हो पाँच वर्ष नै ।

मेलम्ची खानेपानी आयोजना पनि पाँच वर्षमै सम्पन्न गरिसक्ने भनिएको थियो । तर २० वर्ष लाग्यो । यो आयोजना साउन ०६७ मा सुरु गरिएको थियो । सोअनुसार भएको थियो भने यो यो काम आजभन्दा पाँच वर्षअघि अर्थात् २०७२ मा नै सम्पन्न हुनुपर्नेे । हिजो जसरी आयोजनाको पहिलो युनिटबाट ७६ मेगावाट विद्युत् उत्पादन सुरु भएको घोषणा भयो, पाँच वर्षअघिको असारमा भएको थियो भने यसले देशको विकास निर्माणमा मात्र होइन जनजीवनमा पनि ठूलो प्रभाव पार्ने थियो । साढे चार सय मेगावाट बिजुली थपिँदा ऊर्जाको पर्याप्तता कारण उत्पादनमा जे–जस्तो वृद्धि हुनेथियो त्यसमा क्षति पुग्यो ।

यो आयोजना सम्पन्न हुने वर्ष अर्थात् यो अवधिमा आयोजनाको करिब ७५ प्रतिशत मात्रै काम सम्पन्न्न भएका विवरण त्यसैबेला सार्वजनिक भएको हो । त्यो वर्षको वैशाख १२ र २९ मा ठूला भूकम्प गए । त्यो वर्षको चार महिना नाकाबन्दी पनि भयो । तर के यति नै कारण हो त सम्पन्न हुने भनिएको समयभन्दा अर्को पाँच छ वर्ष नै बढी समय लाग्नुको कारण ? यही कारण देखाउँदै आयोजनालाई थप ६ वर्ष लम्बाइएको अवस्था हो योे । कारण एक पटक अर्थात् पाँच÷छ महिनाको व्यवधान आयो तर यही बहानामा आयोजनाको म्याद पटक–पटक सारियो । देशको विकास निर्माणको काममा जताततै यही अवस्था छ ।

यही आयोजना पनि रकमको अभावले रोकिएको वा लम्बिएको होइन । २०७४ सालको निर्वाचनबाट आएको नयाँ सरकारले यो आयोजनालाई २०७५ मा सक्ने भनी घेषणा गरेको थियो त्यसको पनि करिब तीन वर्ष बित्यो । निर्धारित समयमा आयोजना सम्पन्न नगरिँदा पनि आयोजना सञ्चालनको जिम्मा पाएकाहरू दोषी हुँदैनन् । उनीहरूले कुनै जवाफ दिनुपर्दैन । यही रोग जताततै दोहोरिरहेको अवस्था छ । त्यसकारण अब यस्तो नहोस् भन्नुपरेको हो ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x