Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयनिर्यात बढेको कुरा आत्मरति कि यथार्थ ?

निर्यात बढेको कुरा आत्मरति कि यथार्थ ?


काठमाडौं । प्रधानमन्त्रीले देशको अर्थव्यवस्था सुधारोन्मुख रहेको भनी देशवासीका नाममा जानकारी गराएका दिन र हप्ता यताउताका विवरणहरू हेरियो भने स्थिति भयावह देखिन्छ । खासगरी देशको व्यापार स्थिति झन्झन् असन्तुलित हुँदै गएको र निर्यात व्यापारलाई प्रवर्द्धन गर्न भनी ल्याइएका वा प्रस्तावित कार्यक्रमहरू आफैँ असफल भएका छन् । निर्यात भएका वस्तुका प्रतिशत बढेको देखिए पनि ती वस्तुको निर्यातभन्दा आयातकै प्रतिशत बढेको देखिनु आदि त्यस्ता पक्ष हुन् जसले अवस्थालई दयनीय भनी इंगित गर्छ ।

यतिबेला देश मूल्यवृद्धिको चपेटामा छ । यो दरमा नियन्त्रण कायम हुने भनी तोकिएको लक्ष्यको सीमाभन्दा उच्च पुग्यो । इन्धनको निरन्तर मूल्यवृद्धिले घर गृहस्थी चल्नै गाह्रो भएको अवस्था छ । यस्तो बेला प्रधानमन्त्रीले भनेको त्यो सुधार के होला भन्ने प्रश्न उठ्छ नै । भन्सार र राष्ट्र बैंकका तथ्यांकहरूले पनि त्यस्तो सुधार देखाउँदैनन् । पछिल्लो समय निर्यात व्यापार ९५ प्रतिशतले वृद्धि भएको भनियो । यता एउटा देशको व्यापार नाका बन्द अवस्थामा छन्, जसले बजारलाई असर पर्छ । निर्यात व्यापारमा ९५ प्रतिशतले वृद्धि भएको भन्ने कुरालाई एउटा मात्रै उदाहराणले पनि पर्याप्त जवाफ देला ।

सरकारी निकायका अनुसार चालू आर्थिक वर्षको अर्धवार्षिक अवधिमा निर्यात एक खर्ब १८ अर्ब ८५ करोड रुपैयाँले वृद्धि भएको बताइएको छ । यो भन्सार विभागको तथ्यांक हो । अघिल्लो आर्थिक वर्षको यही अवधिमा निर्यात व्यापार ६० अर्ब ७९ करोड रुपैयाँ रहेको थियो । यो अर्थबाट हेर्दा ठूलो अंकमा निर्यात बढेको बताउँछ । तर अर्को तथ्यांकले भने फेरि अर्के कुरा देखाउँछ । त्यो हो निर्यातभन्दा ती वस्तुका आयात बढी अंकमा हुनु । निर्यात बढाउने भनी दाबी गरिएको वस्तुहरूका कच्चापदार्थ आयातमा बढी खर्च हुन्छ, त्यसपछि निर्यातको अवस्था आफैँ नाङ्गिएको अवस्थामा पुग्छ ।

भन्सारको विवरणअनुसार यो अवधिमा प्रशोधित भटमासको तेल ३४ अर्ब २६ करोड ९९ लाख रुपैयाँ, प्रशोधित पाम तेल (न्यून कच्चापदार्थसहित) ३१ अर्ब ९७ करोड ५५ लाख रुपैयाँबराबरका निर्यात भए । यसरी निर्यात हुनेमा यी वस्तु अरुभन्दा बढी नै हुन् । यार्न पाँच अर्ब, कपडा चार अर्ब, कार्पेट (गलैँचा) चार अर्ब, जुटबाट बुनिएको कपडा तीन अर्बका दरले निर्यात भएका थिए । त्यसको तुलनामा प्रशोधित भटमासको तेल ३४ अर्ब प्रशोधित पाम तेल ३२ अर्ब रुपैयाँबराबरका निर्यात भएको देखिन्छ । तर यही ठाउँमा ती वस्तुका कच्चापदार्थका लागि कति खर्च भयो भन्ने हेरियो भने अर्को पक्ष प्रकट हुन्छ जब ती वस्तुका आयात कति भयो भन्ने हेरिन्छ ।

भन्सार विभागकै अनुसार चालू आर्थिक वर्षको अर्धवार्षिक अवधिमा भटमासको कच्चा तेल ३६ अर्ब ५४ करोड, कच्चा पाम तेल २७ अर्ब ४९ करोड रुपैयाँबराबर आयात भएछन् । यो ठाउँमा निर्यातभन्दा आयात केही अर्ब बढी देखियो । यो अवस्था आजको मात्र नभएर वर्षौँदेखि कायम छ । त्यसो हो भने निर्यात ९५ प्रतिशतले बढेको भन्ने कुरा आत्मरतिभन्दा अरु के होला ? जब कुनै वस्तुको आयात र निर्यात बराबरी हुन्छ भने त्यसलाई कसरी सन्तुलनकारी भन्ने ? यतिचाहिँ पक्कै हो, अरु वस्तु आयात मात्रै हुन्थे भने यी केही वस्तु निर्यात पनि भइरहेका छन् । मन बुझाउने ठाउँ त्यति नै हो ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x