Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयगरिबीको यस्तो पीडामा राज्य बेखबर

गरिबीको यस्तो पीडामा राज्य बेखबर


काठमाडौं । एक्काईसौँ शताब्दीको नेपालमा गरिबी कुन हदसम्म रहेछ र यो अवस्थामा गुज्रिरहेका नागरिकहरूका लागि राज्य भन्ने चिज कतै नभएको भन्ने एउटा चित्र प्रकट भयो गएको हप्ता । यो आफैँमा सुन्दा पनि डरलाग्दो थियो । गरिबीका कारण हजुरआमादेखि नाति अर्थात् तीन पुस्ताले एकै ठाउँमा विष सेवन गरेर सामूहिक आत्महत्याको प्रयास गरे । संयोगले सबैको त्यो दुष्प्रयास सफल भएन । एक जनाको घटनास्थलमै मृत्यु भयो बाँकी चार जना बेहोस अवस्थामा अस्पतालसम्म पुग्न पाए । उपचारका क्रममा उनीहरूको जीवन त यो बेलासम्म जोगियो तर भोलि के हुने हो अनुमान गर्ने अवस्था रहेन । उनीहरूका जीवन जोगिए पनि त्यो शरीर अपाङ्ग हुने अनुमान छ चिकित्सकको । उनीहरूको शरीरमा ठूलो मात्राको विष प्रवेश गरिसकेको थियो । त्यही क्रममा हो एक जनाको ज्यान गएको । यसले उनीहरूका शरीरमा कति मात्राको विष प्रवेश भएछ भन्ने बुझाउँछ ।

देशको राजनीति कुन ठाउँमा रहेछ भन्ने यो घटना उदाहरण हो । यस्तो घटना सार्वजनिक हुँदा पनि यो कसरी भयो भन्ने चासो यो क्षेत्रले देखाएन । देशका यतिबेलाका प्रधानमन्त्रीको यो पाचौँ कार्यकाल हो । उनले नेतृत्व गरेको सरकार पाँच दलको गठबन्धन हो । तर सत्तारुढ यी कुनै दलले पनि यो घटनाप्रति समवेदना प्रकट गरेको पाइएन । यतिबेला देशको प्रमुख विपक्षमा त्यस्तो दल छ जसले गएको निर्वाचनमा करिब दुई तिहाइको मत पाएको थियो । आफ्नो शासनको तीन वर्षको कालमा दुई लाखभन्दा बढी पटक नै हुनेगरी ‘समृद्ध नेपाल र सुखी नेपाली’ भन्ने नारा लगाइरह्यो । उसले पनि यो समाचारप्रति अलिकति पनि ध्यान दिएको पाइएन । जब कि समाचार आफैँमा एउटा दुःखद जानकारी थियो ।

समाचारमा भनियो, ‘६२ वर्षीया इन्दिरामाया प्रधानको पाँच जनाको परिवारमा अकल्पनीय दुर्घटना आइप-यो । परिवारका एक सदस्य मृत भेटिए भने चार जना अचेत अवस्थामा थिए । पाँचै जनाले सामूहिकरूपमा विष सेवन गरेको अस्पतालले नै जानकारी दियो । सामान्य आर्थिक अवस्था भएको यो परिवार गरिबीको कारण यो बाटो रोज्न बाध्य भएको थियो । परिवार वयस्क नै थियो एक जनाबाहेक । ६२ वर्षीया इन्दिरामाया, उनका छोरा ३८ वर्षका भीममान, बुहारी ३५ वर्षीया मन्दिरा र नातिनी ११ वर्षीया सुप्रिया थिए । ३३ वर्षीय सुवर्णमान प्रधान घटनास्थलमै मृत भेटिएका थिए भने अरुको ढुकढुकी मात्र थियो ।

घटनास्थलमा विषादीका प्याकेट, जुसको खाली बोतल र चिनी यत्रतत्र भेटिएका अवस्थाले यो सुनियोजित नै रहेको बुझ्न सकिन्छ । मर्ने काम सुनियोजित हुनु पनि सामान्य कुरा होइन । प्रहरीका अनुसार पनि यो परिवार आर्थिकरूपमा समस्यामा थियो । यो विष सेवन गर्नुअघि लेखिएको नोटले पनि त्यही बुझाउँछ । यो परिवारले सङ्कट परेको बेला राज्य छ भन्ने नै सम्झिएन । देश हाँक्नेहरूले आफ्ना नागरिकहरूलाई यस्तो सन्देश नै दिएनन् कसैले पनि र कहिल्यै पनि । त्यसो नहुँदो हो त परिवार यो सङ्कटबाट मुक्ति पाउन प्रयास त गर्ने थियो होला । त्यतिसम्म गरिएको देखिएन । वृद्ध महिला इन्दिरामाया क्यान्सर बिरामी, भीममान र सुर्वणमान मानसिक रोगी आदि भएपछि एउटा पूरै परिवार यो कष्ट व्यहोरेर जीवित रहन चाहेन । यस्तै बेला हो राज्यले कोही नभएकाहरूका लागि म छु भन्ने सन्देश दिनु । नेता हुन् कि दल चुकेको ठाउँ यही हो ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x