Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयभ्रामक विज्ञापनको अनुगमन गर

भ्रामक विज्ञापनको अनुगमन गर


काठमाडौं । आफ्ना कुनै पनि उत्पादनको यथार्थ वस्तुस्थितिभन्दा बढी हुनेगरी विज्ञापन गरेर उपभोक्तालाई भ्रममा राख्न हुन्न भन्ने हालै एउटा सन्देश सार्वजनिक भएको छ । भएको यथार्थभन्दा कैयौँ गुना बढाइचढाइ गरेर आफ्ना वस्तुलाई प्रस्तुत गरिँदा ती वस्तुबाट उपभोक्ता ठगिने मात्र होइन कतिपय अवस्थामा ज्यानै जाने समेतको खतरा आइपर्ने हुनसक्छ । खासगरी खाद्यान्न, औषधि र निर्माण समूहका वस्तुहरूको यथार्थ अवस्थामा धेरै नै अतिरञ्जित गरियो भने यस्तो खतरा आइलाग्छ । यसको क्षतिपूर्ति हुँदैन कुनै अपवादबाहेक । त्यस कारण पनि एउटा त उपभोक्ता आफैँ सतर्क हुनुपर्ने र राज्यले पनि बेला–बेला यसको अनुगमन गर्नुपर्ने हुनसक्छ । दुःखद पक्षचाहिँ के हो भने हामीकहाँ त्यस्तो परम्परा नै छैन । ग्यारेन्टी दिइएको समयभन्दा अगावै सामान बिग्रयो भने त्यो समेत बनाउन आनाकानी गरेका उदाहरण छन् । यो सन्दर्भमा पछिल्लो समय छिमेकी देश भारतको एउटा उत्पादनले गरेको अतिरञ्जनाका विरुद्धको एउटा दण्डात्मक व्यवस्था अनुकरणीय छ ।

हालै भारतको केन्द्रीय उपभोक्ता संरक्षण प्राधिकरण (सीसीपीए) बाट यस्तै प्रकारका अतिभ्रामक विज्ञापन गरेको भन्दै त्यहाँको प्रसिद्ध र नेपालमा पनि त्यस्तो विज्ञापनकै कारण अत्यधिक मात्रामा उपभोगमा आइरहेको एउटा टुथपेस्ट ‘सेन्सोडाइन’ दण्डित भयो । उक्त संस्थाले यो टुथपेस्टका उत्पादकलाई दश लाख भारु (१६ लाख नेपाली रुपैयाँ) जरिवाना गरायो । भारतीय माध्यमहरूमा आएका समाचारअनुसार सीसीपीएले सात दिनभित्र ती सबै भ्रामक विज्ञापन हटाउन भनी कडा प्रकारको निर्देशन पनि दिएको छ । कारबाही गर्ने उक्त संस्थाको विज्ञप्तिमा नै सेन्सोडाइनको ‘दुनियाँभरका दन्त चिकित्सकहरूद्वारा रेकमेन्डेड’ र ‘दुनियाँको नम्बर एक सेन्सेटिबिटी टुथपेस्ट’को दाबी गरिएको विज्ञापन झुटो थियो । त्यसै कारण त्यसलाई सात दिनभित्र हटाउन भनिएको हो । दण्डस्वरूप १६ लाख जरिवाना तिर्न भनी निर्देशन पनि दिएको छ । साथै सेन्सोडाइन टुथपेस्टकै विदेशी दन्त चिकित्सकहरूद्वारा सिफारिस गरिएको भनेर देखाउने विज्ञापनलाई पनि बन्द गर्न भनिएको हो । उक्त संस्थाको वक्तव्यअनुसार यी विज्ञापनमा यो टुथपेस्टलाई ‘दुनियाँभरका दन्त चिकित्सकहरूद्वारा रेकमेन्डेड’ र ‘दुनियाँको नम्बर एक सेन्सेटिबिटी टुथपेस्ट’ भनेर जसरी दाबी गरिँदै आइएको थियो यो वास्तावमा त्यस्तो थिएन । यसको यो भ्रामक कुरा व्यापक अध्ययनबाट आफैँ झुटो साबित भयो । यो विज्ञापनमा यो टुथपेस्टलाई ‘दुनियाँभरका दन्त चिकित्सकहरूद्वारा रेकमेन्डेड’ र ‘दुनियाँको नम्बर एक सेन्सेटिबिटी टुथपेस्ट’ भनेर नै यसको मूल्य पनि अस्वाभाविक नै लाग्ने गरी अत्यधिक थियो । यसबाट आर्थिकरूपमा पनि उपभोक्ता ठगिएका थिए ।

यो वास्तवमा नै सबैले अनुकरण गर्नुपर्ने काम हो । उपभोक्ता जुन देशका हुन् ती एकै हुन् । उनको रक्षा राज्यले गर्नुपर्छ । कुनै पनि वस्तु उत्पादन भएपछि त्यसको लक्ष्य भनेको नागरिकसम्म पुग्नु नै हो । त्यसका लागि विज्ञापन पनि गर्नुपर्छ सबैले गरिहेकै हुन्छन् । ती विज्ञापन भ्रामक भए भने गम्भीर हुन्छ । यो भनेको सार्वजनिक स्तरबाट नै आम नागरिकलाई ढाँट्नु हो । यस्तो काम गर्ने छुट कसैलाई हुनु हुँदैन । उल्लेख भएको उक्त उत्पादनमाथिको कारबाहीको यस्तो घटना यसअघि पनि भइसकेको थियो । त्यसबेला देशबाहिरका एक दन्त चिकित्सक यो टुथपेस्ट प्रयोग गर्ने सल्लाह दिन्छन् भन्ने विज्ञापन बन्द गरिएको थियो । यस्ता घटनाहरूको नेपालले पनि अध्ययन हुन र आवश्यक देखिए यस्ता कदम पनि जरुरी छ ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x