Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयभ्रामक विज्ञापनको अनुगमन गर

भ्रामक विज्ञापनको अनुगमन गर


काठमाडौं । उत्तरी नाकामा कहिलेसम्म लिङ्गरिङ ?

बितेको आधा दशकभित्र उत्तरी छिमेकी देशबाट उच्चस्तरीय राजनीतिक भ्रमणहरू सम्पन्न भए । पछिल्लो हप्ता मात्रै पनि यस्तो भ्रमण भयो । चीनका विदेशमन्त्रीले गएको शुकबारदेखि तीनदिने भ्रमण सम्पन्न गरे । तर निकै अघिदेखि सुरु भएको नाकाबन्द भने खुलेन । विदेशमन्त्रीको यो भ्रमणमा एउटा अर्को नाका थप माग्ने कुरा आयो तर भइरहेका नाका खुलाउने र निर्बाध चलाउनेतर्फ कसैको पनि ध्यान गएको पाइएन ।

चीनतर्फ अहिलेसम्म जम्मा दुर्ईवटा नाका मात्र छन्, व्यावहारिक र कारोबार हुने खालका तर आकलझुकलबाहेक ती चलेका छैनन् । आकलझुकल खुलेका नाकाले कारोबार चलाउँदैन । यसको पीडा नेपाली व्यापारीहरूले बितेको दशकदेखि नै भोग्दै आएका छन् । नाकाको अनिश्चितताका कारण पनि कतिपयले त कारोबार नै छाडिसके । किन हो चीनसँग बढी नै अपेक्षा हुन्थ्यो तर अवस्था कस्तो देखियो भने भारतीय नाकाबन्दीभन्दा पनि कठोर देखियो उत्तरी नाका ।

तातोपानी र रसुवागढीमा चीनसँग जोडिएका वा कारोबार हुने नाका हुन् । तर यी नाका व्यवसायीका लागि कति कठोर बन्दै गएका छन् भने घोषणा भएको पनि छैन तर नाका पनि खुल्दैनन् । यस्तो अघोषित प्रतिबन्ध कुनै प्राविधिकरूपले होइन । देशमा उच्चस्तरका भ्रमणहरू सम्पन्न हुँदा वा भइरहेका बेला पनि यी नाकामा आउजाउ बन्द नै थिए । व्यापारिक नाकाबाट व्यापारिक कारोबार हुँदैन भने त्यसको अर्थ रहँदैन । ती नाकामा खपत हुने वस्तुलाई हेरेर जोरजाम गरिएका सामग्रीहरू मासिइसकेका छन् । कतिपय व्यवसायीहरूको त उठीबास नै भयो यो लामो समयको अड्चनका कारण ।

यसको गुनासो पनि नभएको होइन । दिनहुँजस्तै समाचार पनि आइरहेकै छन् । तर न यताकाले चासो लिन्छन् न उताकाले । यो पटक विदेशमन्त्रीको यो भ्रमणले यस्तो गतिरोधको अन्त्य गरिदेओस् भन्ने कामना गरौँ । राष्ट्रपतिको भ्रमण हुँदा पनि स्थिति यस्तै थियो । यी नाका चलाउन चीनले नै नचाहेको हो कि नेपालले भन्ने प्रश्नहरू उठ्न थालेका छन् तर उत्तर भने लामै समयदेखि मौन नै रहेको छ । अवस्था कस्तोसम्म भने उताबाट नेपाली व्यवसायीलाई सामान अर्डर गर्न जान समेत रोकिँदै आइएको छ ।

कुनै बेला कोरोनाको सङ्कट थियो होला । तर पछि अवस्था सामान्य हुँदा पुनः यो प्रतिबन्ध भने रोकिएन । हुँदै जाँदा यसतर्फका सयौँ व्यवसायीले पेसा नै छाडेका छन् । निश्चय नै यो सुखद कुरा होइन । बजारकै हिसाबले पनि चिनियाँ उत्पादनहरू नेपाली बजारमा केही सस्तो हुने मानिन्छ । यसले यी नाकाप्रति उपभोक्ताको पनि चासो रहने गरेको बुझाउँछ ।

जानकारहरूका अनुसार यी नाकाहरूमा उतातिरबाट भूकम्प, बाढी, पहिरो र कोभिडका समयमा जत्तिकै ‘नाकाबन्दी’ भइरहेको छ । यस्तो बन्दको समय सात/आठ वर्षकै भइसक्यो । नेपाल र चीन दुई असल छिमेकी भनिन्छ । त्यसो हो भने के यति कुरा सल्टाउन सकिँदैन ? तर सकिएको छैन । चीनको नजिक मानिएको कम्युनिस्ट पार्टीले पछिल्लो समय साढे तीन वर्ष शासन गर्दा पनि न उता न यता कतैबाट गाँठो फुकाउने पहल गरिएन । अबचाहिँ यी नाका सधैँ यस्तै रहन हुँदैन ।

कि खोलिदेऊ कि पूरै बन्द गरिदेऊ । यस्तो लिङ्गरिङ अब लामो समय नराख । अहिले पनि नेताहरूले भाषण गर्दा नयाँ मार्ग खोलेको दाबी गरिरहन्छन् । अहिले खुलेका भनिएका तर नचलेका नाकाका लागि सरकारले पूर्वाधारमा करोडौँ रुपैयाँ खर्च गरिसकेको छ । नेपालका लागि अर्को दुःखद पक्ष के हो भने तर तातोपानी र केरुङ नाकाबाट केही मात्रामा आयात व्यापार चलेको भए पनि निर्यातमा लगाएको पूर्ण प्रतिबन्ध कायमै छ । यो पनि देशका लागि नोक्सानी नै हो । हेक्का रहोस् ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x