Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयउच्च तनावमा मतदाताका ११ दिन

उच्च तनावमा मतदाताका ११ दिन


काठमाडौं । गएको शुक्रबार स्थानीय तहको निर्वाचनमा मत खसालेपछि मतदाताहरूको प्रतीक्षा र तनावका दिन सुरु भए । यो स्वाभाविक पनि हो । यो पटक करिब सवा करोडले मतदान गरेको प्रारम्भिक आकलन छ । मतदानमा निकै उत्साह देखिएको थियो । करिब ७० प्रतिशतमा मत खसेको हुनुपर्ने विज्ञहरूको अनुमान छ । तर मतदाताको संख्याले यो प्रतिशत पुगेको देखिएन । यसको कारण हो मतदानबाट ठूलो संख्या वञ्चित रहनु । उपलब्ध प्रविधिको प्रयोग नगर्दा यस्तो अवसथा आएको हो भन्ने आफैँ प्रस्ट हुन्छ । तथापि प्रविधिको प्रयोग नगरिँदा जति मतदान भयो त्यो संख्यालाई पनि राज्यले ठूलो तनावमा राख्यो करिब हप्ता/दश दिनभरि । मतदान गरिसकेपछि एउटा मतदाताको जिज्ञासा हुन्छ, उसको मत प्रयोग भएको उम्मेदवारको स्थिति के भयो भन्ने बुझ्नु । तर यति बुझ्नका लागि उसले जति दिन पर्खनुप¥यो त्यो आफैँमा अस्वाभाविक थियो । यसको कारण हो उपलब्ध प्रविधिको प्रयोग नहुनु । यदि त्यस्तो प्रविधि प्रयोग भएको थियो भने यति ठूलो संख्याको प्रतीक्षाको कम्तीमा खेर गएको एक हप्ताको समय बच्ने थियो ।

मतदानमा जस्तो उत्साह देखिएको थियो त्यसै दिनदेखि सुरु भएको थियो, मतदाताको सबैभन्दा बढी प्रतीक्षाको क्षण । त्यस्तो क्षण मतगणनाको अन्तिम परिणाम नआएसम्म कायम रह्यो । एउटा मतपत्रको टुंगो लाग्न करिब आधा घण्टाको समय लाग्ने गरेको निर्वाचन आयोगले दिएको जानकारी जब लाख÷दुई लाखको संख्यामा मतदान भएको रहेछ भने त मतगणनाको काम कति उराठलाग्दो हुनेछ भन्ने अनुमान गर्न सकिन्छ । गणनाको यस्तो प्रतीक्षा र तनाव जति दिन बित्दै गए त्यति बढ्दै जान्छ । हो, प्रविधि विकास भएको थिएन भने यसको पनि विकल्प थिएन तर संसार मतदान भएको दुई घण्टाभित्र परिणाम बताइसक्ने अवस्थामा पुगेको छ । केही समयअघि मात्रै भारतमा करिब अर्बको हाराहारीको मतगणना तीन घण्टाभित्र सम्पन्न भयो । कारण थियो, विद्युतीय मतदानको प्रविधिको प्रयोग । छिमेकी देश र नेपालको अवस्था सबै कुरामा करिब–करिब समान हुन्छन् । यसका लागि युरोप अमेरिकासम्म पुग्नै पर्दैन । नेपालभित्रै पनि यस्तो प्रविधिको प्रयोग नभएको होइन । संविधानसभाको चुनावमा र त्यसपछिका उपनिर्वाचनमा केही ठाउँमा यसको प्रयोग भइसकेको छ भने देशको सबैभन्दा ठूलो दलले आफ्नो महाधिवेशनमा पनि यसको उपयोग ग-यो, जसले गर्दा निर्वाचनपछि मतगणनाको समय आधा/एक घण्टाभन्दा बढी लागेको थिएन । तर यो चुनावमा त्यसो गरिएन । त्यसको कारण भनी मतपत्र छपाइबाट आउने कमिसनले सम्बन्धित कर्मचारीलाई लोभ्याएको भन्ने पनि छ । कारण जे हुन् दुःख त मतदाताहरूले नै पाए ।

पछिल्लो समय आयोगले बताएअनुसार देशभरिको मतगणनाको अन्तिम परिणाम १० दिनभित्र सार्वजनिक हुनेछ, यो भनेको मतदान भएको भोलिपल्टको कुरा हो । अर्थात् निर्वाचनपछि त्यसका आधारमा परिणाम घोषणा गर्न मात्रै ११ दिन लाग्यो । यसको अर्थ हो, करिब डेढ करोड नागरिकको ११ दिन त्यसै खेर गयो । माथि पनि भनियो, मतगणना चलिरहँदा त्यसको परिणामबाहेक एउटा मतदाताले अरु कुरातर्फ ध्यान दिँदैन । उम्मेदवारकै कुरा गर्ने हो भने त्यस्तो संख्या दुई लाखको हारामारीमा थियो । मतदाता त यस्तो बेला अन्यत्र ध्यान दिन सक्तैन भने उम्मेदवारले त परिणाम नआई केही गर्ने कुरा नै भएन । अब देशका सामु दुईवटा चुनाव छन् । कम्तीमा त्यसमा चाहिँ ध्यान दिइयोस् भन्ने सुझावका लागि यो विवरण उल्लेख भएको हो । आधुनिक प्रविधि उपलब्ध छ भने त्यसलाई चलाउन कुनै धक मान्नु पर्दैन । सम्बन्धित निकायका पदाधिकारीहरूको मन सफा हुनुपर्छ ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया