Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयराष्ट्रिय मान्यताप्राप्त पार्टीको चिह्न मेट्न पाइन्छ ?

राष्ट्रिय मान्यताप्राप्त पार्टीको चिह्न मेट्न पाइन्छ ?


काठमाडौं । आउँदो महानिर्वाचन जतिजति नजिक आउँदै छ त्यति नै निर्वाचन आयोगका कामहरू विवादमा पर्दै गएका छन् । अनुभवको अभाव भन्ने हो भने यो महानिर्वाचन संविधान जारी भएपछिको दोस्रो हो भने स्थानीय समेत गर्दा चौथो हो । विगतका यी निर्वाचनमा राज्यको क्षमता बढेको देखियो । सरकारले एकै चरणमा निर्वाचन गर्ने भन्यो । यो चुनाव त्यहीबमोजिम हुँदै छ भने स्थानीय तहको त सोअनुसार सम्पन्न भई नै सकेको छ । अर्कोतर्फ निर्वाचनकै कुरा गर्ने हो भने आउँदो निर्वाचना बाह्रौँ हो । २०१५ सालदेखिका स्थानीय र संविधानसभाका समेत निर्वाचन जोडियोस् । अनुभवका सन्दर्भमा यस्तो संख्या जोडिएको हो । तर झनै खारिँदै जाँदा यता निर्वाचन आयोगका काम भने झन् संकुचित हुँदै गएका छन् । त्यसको पछिल्लो उदाहरण हो मतदानपत्र र त्यसमा रहेका चुनावचिह्नमा नियन्त्रित व्यवस्था । नियन्त्रित कस्तो भने राष्ट्रिय मान्यता पाएका दलले समेत देशव्यापी चिह्न नपाउने भए । अहिले बताइएजस्तो भयो भने राष्ट्रिय मान्यता पाएका दलहरू पनि स्वतन्त्र उम्मेदवारको हैसियतमा आउनेछन् ।

पछिल्लो समय निर्वाचन आयोगले मतपत्र छाप्ने कामको सुरुआत गर्दैगर्दा कुनै पनि निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने दल र उम्मेदवारको मात्रै मतपत्रमा निर्वाचन चिह्न राखिने कुरा जनाएको छ । यद्यपि मतपत्र छाप्न भने थालिएको छैन । तर आयोगले बारम्बार दिइएरहेको जानकारीमा मंसिर ४ मा एकै चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा जुन दलले जुन क्षेत्रमा उम्मेदवारी दिएका छन् तिनै दल र उम्मेदवारको मात्रै निर्वाचन चिह्न मतपत्रमा समावेश गरिने भन्ने उल्लेख छ र त्यसमा दलहरूले पनि कुनै विरोध जनाएका छैनन् ।

आयोगले देशमा अहिले चलिरहेका गठवन्धनको हितलाई ध्यानमा राखेर यस्तो व्यवस्था गर्न लागेको बुझाइ छ । तर यसले सम्बन्धित क्षेत्रमा आफ्ना उम्मेदवार रहेनछन् भने पनि आफ्नो दललाई मत हाल्ने अधिकारको अवस्था संकुचनमा परेको स्थितिबारे त्यस्ता दलहरूले पनि ध्यान दिएको पाइएन । अहिले गर्न लागिएको व्यवस्था वैशाख ३० मा सम्पन्न भएको स्थानीय तहको निर्वाचनको भन्दा भिन्न हो । त्यो निर्वाचनमा निर्वाचन दर्ता भएका दल र स्वतन्त्र उम्मेदवारका लागि समेत निर्वाचन चिह्न राखेर मतपत्र छपाइ भएका थिए । आयोगले जनाएअनुसार अर्थात् प्रवक्ताका अनुसार आगामी संघीय र प्रदेशको निर्वाचनमा पहिलो हुने, निर्वाचित हुने (प्रत्यक्ष) तर्फ उम्मेदवारी दिने उम्मेदवार र समानुपातिक प्रणालीतर्फ उम्मेदवारी दिने दलको निर्वाचन चिह्न समावेश गरेर मतपत्र छपाइ गरिनेछ । यसको अर्थ हो उम्मेदवार नभएका दलको चिह्न रहने छैन ।

निर्वाचनमा राष्ट्रिय मान्यता पाउनु भनेको तिनका लागि देशैभरि उनका नर्वाचन चिह्न कायम हुनु हो । तर यो पटक त्यो बुझाइले काम नगर्ने भयो । कुनै निर्वाचन क्षेत्रमा कुनै दलको उपस्थिति रहेनछ भने त्यसको चिह्न पनि मेटिने भयो । यो भनेको लोकतान्त्रिक पद्धतिअनुसारको निर्वाचन होइन । यता राष्ट्रिय मान्यता त दिइएको छ तर सोअनुसारको चिह्नको व्यवस्था भने खारेजीमा परेको छ । यसो हुँदा पनि सम्बन्धित दल भने मौन छन् । यसले के बुझाउँछ भने जनताको मतबाट स्थापित भएको उसको क्रमसंख्या खोसियो भने पनि ती दलहरू बोल्ने छैनन् । यो भनेको आयोगले मतपत्र लामो र भद्दा भएको नाममा लोकतन्त्रको चिरहरण गर्न खोजेको अवस्था हो । अदालतमा मुद्दा परे त्यसको संरक्षण हुने अवस्था छ । 


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x