Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयसबै नाका खुला गर

सबै नाका खुला गर


काठमाडौं । कोरोना महामारी सुरु भएपछि २०७६ साल चैतदेखि पूर्णरुपमा बन्द भएको रसुवागढी नाका शनिबारदेखि दुईतर्फी व्यापार र यात्रु आवतजावतका लागि पनि खुला भएको छ । रसुवागढी नाकाबाट एकतर्फी व्यापार केही समयअगाडिदेखि भए पनि शनिबारदेखि भने नेपाली गाडीहरु नै चीनको केरुङ्ग प्रस्थान गरेका छन् । चीन गएका नेपाली मालवाहक गाडीले नेपाली व्यापारीले केरुङ्ग ल्याएका सामानहरु लोड गरेर फर्किनेछ ।

त्यस्तै शनिबारदेखि नै नेपालको अध्यागमन विभागले स्थलमार्ग हुँदै चीनतर्फ जानेहरुका लागि पास वितरण पनि थालेको छ । खासगरी रसुवा जिल्लावासीका लागि कोरोना सुरु हुनुअगाडि पनि यसैगरी पास वितरण गर्ने गरिएको थियो । अहिले कोरोना सुरु हुनुअगाडिजस्तै गरी पास वितरण गर्दा पासवाला चालकले चलाएर नेपाली कन्टेनरहरु चीनको केरुङ पु-याएका हुन् । अब चीनका मालवाहक गाडी नेपाल आउने मात्र होइन नेपाली मालवाहक गाडी पनि चीनको केरुङ्ग नै पुगेर सामान लोड गरेर नेपाल आउन सहज भएको छ ।

नेपालको संघीय राजधानी काठमाडौंका लागि रसुवागढी नाका तातोपानीपछि चीनसँगको अर्को छोटो नाका हो । यहाँबाट हुने व्यापार र यात्रु आवतजावतले नेपाल चीनबीचको व्यापार मात्र होइन दुई देशबीचको सम्बन्धमा पनि सकारात्मक प्रभाव पार्नेछ । हिमाली जिल्ला रसुवा र चीनको स्वशासित क्षेत्र तिब्बतको केरुङ क्षेत्रका नागरिकबीच पारिवारिक सम्बन्ध छ । यस्तो पारिवारिक सम्बन्ध पूर्वदेखि पश्चिमसम्मका नाका भएका नेपालका सबै हिमाली जिल्लाको तिब्बतीसँग छ ।

नागरिकबीचको यो नाता सम्बन्ध सयौँ वर्षदेखि कायम छ । कोरोनाको बेला चीनले शून्य नीति लिएको कारण यी दुई देशका नागरिकबीच भेटघाट पूर्णतः बन्द थियो । यसले दुई देशका विभिन्न परिवारबीच विछोडजस्तै थियो । शनिबार रसुवाको टिमुरेस्थित अध्यागमन कार्यालयमा पास लिनका लागि लागेको भीडले नै दुई देशका विभिन्न परिवारबीच पुनर्मिलनका लागि कति आतुर छन्, भन्ने प्रस्ट देखाएको थियो । दिनभरको झरी र शनिबारको दिनलाई पनि बेवास्ता गर्दै पासका लागि लागेको भीडलाई व्यवस्थित बनाउन प्रहरी नै परिचालन गर्नुपरेको थियो । पास लिनेको भीड आइतबार पनि त्यस्तै थियो । धेरै परिवारहरु आफन्तहरु भेट्न आतुर देखिन्थे ।

रसुवागढीको जस्तै समस्या अन्य नाकामा पनि छन् । खासगरी अर्को ठूलो भीड हुम्लाको यारी नाकामा पनि लाग्ने देखिन्छ । रसुवाको भन्दा हुम्ला र तिब्बतीहरुबीच अझै धेरै परिवारबीच नाता सम्बन्ध रहेको मानिन्छ । नेपाल र चीनका अधिकारीबीच उक्त यारी नाका आउँदो वैशाख १८ गतेदेखि दुईतर्फी व्यापार र यात्रुका लागि खुला गर्ने सहमति भएको छ । त्यसो त सिन्धुपाल्चोकको तातोपानी नाका पनि वैशाख १८ गते नै दुईतर्फी व्यापारका लागि खुला गर्ने समझदारी दुई देशबीच भए पनि यात्रु आवतजावतका लागि भने तातोपानी नाका खुल्नेनखुल्ने बारेमा चिनियाँ पक्षले केही बताएको छैन । तर, नेपाल र चीनबीचको व्यापार तथा नागरिकको सम्बन्धलाई अझ प्रगाढ बनाउने हो भने चीनतर्फका सबै नाकाबाट दुईतर्फी व्यापार र यात्रु आवतजावत खुला गरिनु दुवै देशका लागि हितकर हुनेछ ।

कोरोनापछि विश्वका अधिकांश देशहरुले अन्तर्राष्ट्रिय सीमा नाका खुला गरिसकेका छन् । स्वास्थ्यसम्बन्धी मापदण्डलाई कडाइका साथ पालना गर्दै नाका भने सुचारु गरिनु दुई देशका नागरिकहरुका लागि मात्र नभई देशका लागि पनि लाभप्रद हुनेछ । जतिसुकै संकट आए पनि व्यापारमा अवरोध नआएमा नागरिकको साथै देशकै अर्थतन्त्र सबल हुनेछ, त्यो पनि दुवै देशको । आर्थिक विकास र नागरिकहरुबीचको सम्बन्धलाई प्रगाढ बनाइराख्न दुवै देशले सबै नाका खुला गर्नुपर्छ ।


क्याटेगोरी : सम्पादकीय
ट्याग : #Page 4


तपाईको प्रतिक्रिया