Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयपुँजीबजार सुधारको उपाय

पुँजीबजार सुधारको उपाय


काठमाडौं । सेयर लगानीकर्ताहरूको विभिन्न संगठनहरूले पुँजीबजार सुधारको माग गर्दै अर्थमन्त्री डा. प्रकाश शरण महतलाई भेटेर छ बुँदे मागसहितको ज्ञापनपत्र बुझाए । लगानीकर्ताहरूको तर्फबाट नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल, सेयर लगानीकर्ता संघ नेपालका तर्फबाट कार्यवाहक अध्यक्ष तारा प्रसाद फुल्लेल र नेपाल पुँजीबजार लगानीकर्ता संघका तर्फबाट अध्यक्ष राधा पोखरेलसहितको टोलीले अर्थमन्त्री महतलाई भेटेर पुँजीबजार सुधारको माग गर्दै ज्ञापनपत्र बुझाए ।

उनीहरूको माग थियो– मार्जिन प्रकृतिको सेयर धितो कर्जामा १२ करोडको सीमा हटाउनु पर्ने, सेयर कर्जामा लगाइएको एक सय ५० प्रतिशतसम्मको जोखिम भारित औसतलाई एक सय प्रतिशतमा झार्नुपर्ने, लगानीकर्तालाई अल्पकालीन र दीर्घकालीन लगानीकर्ताका रूपमा विभाजन गरी सोहीअनुरूप अल्पकालीन लगानीकर्तालाई पाँच प्रतिशत र दीर्घकालीन लगानीकर्ताहरूलाई तीन प्रतिशत पुँजीगत लाभकर लिने व्यवस्था गर्नुपर्ने, महंगो ब्याजदरले सेयर लगानीकर्ता निरुत्साहित भएकाले ब्याजदरमा पुनरवलोकन गरी एकल अंकमा कायम गर्नुपर्ने, तरलता समस्याले देशको अर्थतन्त्रमा नकारात्मक असर गरेकाले तरलता समस्यालाई तत्काल सम्बोधन गर्नुपर्ने । यी सबै मागहरू सरकारले पूरा गरिदिएको खण्डमा पुँजीबजारमा सुधार आउने विश्वास लगानीकर्ताहरूको रहेको छ र थियो पनि । यही विश्वासका साथ लगानीकर्ताहरूले अर्थमन्त्री डा. महतसमक्ष भेट गरेर पुँजीबजार सुधारको लागि छ बुँदे मागसहितको ज्ञापनपत्र बुझाए ।

सेयरबजारमा मात्र नभएर अहिले सिंंगो अर्थतन्त्र नै सहज अवस्थामा छैन । सरकारले आफ्नो चालू खर्च चलाउन सकेको छैन ।

अपेक्षाअनुसार राजस्व नउठ्दा विकास निर्माणका कामहरू ठप्पजस्तै भएका छन् । भएका कामहरूको पनि सरकारले समयमा नै भुक्तानी दिन सकेको छैन । निर्माण व्यवसायीहरूको छाता संगठन नेपाल निर्माण व्यवसायी महासंघले यसअघि अर्थमन्त्री डा. महतलाई नै भेटेर निर्माण व्यवसायीहरूको रोकिएको झण्डै दुई खर्ब ५० अर्ब रुपैयाँ तत्कालीन भुक्तानी गरिदिन आग्रह गरेको छ । यता उद्योगको अवस्थामा पनि त्यस्तै रहेको छ । बजारमा पैसा छैन, पैसा हराएको छ । उद्योग व्यापार, सबैजसो घाटामा रहेका छन् । यो अवस्थामा मुलुकको वैदेशिक व्यापार पनि कमजोर बन्दै गएको छ । वैदेशिक रोजगारीबाट प्राप्त हुने आयले अर्थतन्त्र चलायमान भएको जस्तो भए पनि बजार सहज अवस्थामा छैन । यो अवस्थामा लगानीकर्ताहरूले भनेजस्तो गरी पुँजीबजार सुधार गरेर मात्र अर्थतन्त्रमा सुधार आउँछ र ? सबैले सोच्नुपर्ने बेला आएको छ ।

पुँजीबजारमा सुधार आउनको लागि नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) सूचीकृत सबै किसिमका समूहको वित्तीय अवस्थामा सुधार आउनु पर्छ । बैंकिङ, होटल तथा पर्यटन, लघुवित्त, टे«डिङलगायतका सबै समूहहरूको सूचकमा सुधार आएको खण्डमा मात्र पुँजीबजारमा सुधार आउन सक्छ । पुँजीबजारमा सुधार आउनको लागि आम नेपाली नागरिकको आम्दानी बढ्नु पर्छ । उनीहरूको आम्दानी र रोजगारीको क्षमता बढ्नु पर्छ, उनीहरूका क्रयशक्ति बढ्नु पर्छ । देशको कुल गार्हस्थ्य उत्पादन बढ्नु पर्छ, अनि मात्र अर्थतन्त्रमा सुधार आउन सक्छ, पुँजीबजारमा सुधार आउन सक्छ । पुँजीबजारमा सुधार ल्याउनको लागि सिंगो अर्थतन्त्रमा सुधार आउनु पर्छ ।


क्याटेगोरी : सम्पादकीय
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया