Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयउद्योगी र बैंकर को ?

उद्योगी र बैंकर को ?


काठमाडौं । निजी क्षेत्रको नेतृत्वदायी संस्था नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग वाणिज्य महासंघले मंगलबार एउटा सहमति ग¥यो । उक्त सहमति थियो, आर्थिक मुद्दामा सहकार्य गर्ने । महासंघका नवनिर्वाचित अध्यक्ष चन्द्रप्रसाद ढकाल, वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठसहित कार्यसमितिलाई काठमाडौंको जमलस्थित चेम्बर भवनमा बधाई एवं स्वागत गर्ने क्रममा उच्च ब्याजदर, अख्तियारसम्बन्धी विधेयकलगायतमा समान धारणा बनाएर अघि बढ्ने समझदारी भएको थियो । उनीहरुको भनाइ थियो, मुलुकको अर्थतन्त्रलाई मजबुत बनाउन र निजी क्षेत्रको आवाजलाई संगठित बनाउन चेम्बर र महासंघले समन्वय गर्नुपर्ने अवस्था आयो । चेम्बर र महासंघबीचको सम्बन्ध स्थापनाकालदेखि नै नङ र मासुको जस्तो भएको र आगामी दिनमा पनि आर्थिक एजेण्डामा साझा धारणा बनाएर अघि बढ्नुपर्नेमा उद्योगीहरु सहमत भएका थिए । मुलुकको अर्थतन्त्र र निजी क्षेत्रसँग जोडिएका विभिन्न विषयमा सरकारले आश्वासन दिने तर कार्यान्वयन नगर्ने अवस्था आएको र सरकारलाई ध्यानाकर्षण गराउनका लागि पनि निजी क्षेत्रका अग्रणी संस्थाहरुले साझा धारणा तय गरेर अघि बढ्न जरुरी रहेकाले पनि उद्योगीहरुको छाता संगठनबीच सहकार्य भएको भनाइ उद्योगीहरुले राखेका थिए ।

मुलुकको अर्थतन्त्र कठिन अवस्थाबाट गुज्रिरहेका बेला अख्तियारसम्बन्धी विधेयकले निजी क्षेत्रमा थप अन्योल र मनोबल गिराउने काम र बैंक तथा वित्तीय संस्थामा कायम उच्च ब्याजदरलाई तत्काल घटाउन संयुक्त रुपमा पहल गर्न पछिल्लो सहमति भएको उद्योगीहरुले बताउँदै आएका छन् । खैर, अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्ने विषयमा उद्योगी व्यवसायीहरुको दुईवटा ठूला छाता संगठनहरुबीच सहकार्य हुनु सबैको लागि राम्रो हो, यो सहकार्य हुनैपर्छ । तर यो सहकार्यमार्फत बैंक तथा वित्तीय संस्थाले लिँदै आएको चर्को ब्याज घटाउने भन्ने कुरा आएको छ, त्यसमा भने आशंका उब्जिएको छ । उक्त कार्यक्रमा बैंकहरुको चर्को ब्याज घटाउने कुरामा सहमत हुनेमा नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष चन्द्रप्रसाद ढकाल पनि सहभागी थिए । ढकाल तिनै व्यक्ति हुन्, जो अहिले नेपालको सबैभन्दा ठूलो वाणिज्य बैंकको अध्यक्ष हुन् । कर्जाको ब्याजदर घटाउने सहमति गरिरहँदा यो सहमति आफैँ अध्यक्ष रहेको बैंकबाट सुरुवात गरौँ भन्ने आँट ढकालले गर्न सकेनन् । उक्त कार्यक्रममा धेरै जना उद्योगीहरु उपस्थित थिए, जो बैंकर पनि हुन् । जबसम्म उद्योगी र बैंकर एउटै व्यक्ति वा समूह हुन्छ, कसरी कर्जाको ब्याजदर घट्न सक्छ ?

यदि साँचो अर्थमा कर्जाको ब्याज घटाउने हो, अर्थतन्त्रलाई सन्तुलितरुपमा चलायमान बनाउने हो भने उद्योगी र बैंकर छुट्टिनैपर्छ । उद्योगीहरुको एउटा कार्यक्रममा जाने बैंकहरुको ज्यादती धेरै भयो, कर्जाको ब्याजदर घटाउनुपर्छ भन्ने अनि अर्को बैंकको कार्यक्रममा गयो, बैंकहरुको खर्च निरन्तर बढ्दो ब्याजदर बढाउनुपर्छ भन्ने उद्योगी र बैंकर स्वयंको भूमिका निर्वाह गरेका व्यक्तिहरुको दोहोरो चरित्रको अन्त्य हुनुपर्छ । उद्योगी उद्योगी मात्र हुनुपर्छ, उत्पादनमा केन्द्रित हुनुपर्छ । बैंकर बैंकर मात्र हुनुपर्छ, उत्पादनमा केन्द्रित हुनुहुँदैन । एउटै व्यक्ति वा समूह र उद्योगी र बैंकर हुने परिपाटीको अन्त्य कुनै पनि हालतमा हुनैपर्छ । यसो हुनसके मात्र उद्योगी र बैंकरबीचको स्वार्थ बाझिँदैन । अर्थतन्त्र चलायमान हुनसक्छ ।


क्याटेगोरी : सम्पादकीय
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया