Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयमौद्रिक नीतिमा दबाबअस्वीकार्य

मौद्रिक नीतिमा दबाबअस्वीकार्य


काठमाडौं । नेपाल राष्ट्र बैंक यतिखेर चालू आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा जुटेको छ । मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा केही छिटो आउने अपेक्षा गरिए पनि गभर्नर महाप्रसाद अधिकारी पाकिस्तानको इस्लामावादमा भएको दक्षिण एसियाली राष्ट्रहरुको गभर्नरहरुको ४३औँ क्षेत्रीय सम्मेलनमा भाग लिनको लागि यही वैशाख १९ देखि २० गतेसम्म पाकिस्तानमा गएका थिए । उक्त सम्मेलनमा भाग लिएर वैशाख २१ गते मात्र गभर्नर अधिकारी स्वदेश फर्किएका कारण पनि मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा केही ढिलाइ भएको हो । यद्यपि उक्त क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्ने क्रममा गभर्नर अधिकारीले विश्व अर्थव्यवस्थामा उत्पन्न असहजताले निम्त्याएको चुनौतीका बाबजुत पनि नेपाल समग्र आर्थिक स्थायित्व कायम गर्न सफल भएको बताएका थिए । उनले नेपालको वित्तीय क्षेत्र सबल रहेको र पछिल्लो समयमा तरलता तथा ब्याजदरमा देखिएको असहजता बिस्तारै कमी हुँदै जाने बताएका थिए । उक्त बैठकमा माल्दिभ्स, पाकिस्तान र श्रीलंकका केन्द्रीय बैंकका गभर्नरहरुले कोभिड संकटका साथै रुस–युक्रेन युद्धबाट सिर्जित भू–राजनीतिक तनावका कारण मूल्य र बाह्य क्षेत्रमा देखिएको चुनौती तथा त्यसको समाधानको लागि अवलम्बन गरिएका उपाय र आगामी आर्थिक परिदृश्यका बारेमा चर्चा गरेका थिए ।

माल्दिभ्स, पाकिस्तान र श्रीलंकाका केन्द्रीय बैंकका गभर्नरहरुले यस्तो चर्चा गरिरहँदा गभर्नर अधिकारीले भने नेपालको समग्र अर्थतन्त्र सहज र सबल अवस्थामा रहेको बताउँदै आएका थिए । के अहिले गभर्नर अधिकारीले दक्षिण एसियाली राष्ट्रका केन्द्रीय बैंकका गभर्नरहरुको क्षेत्रीय सम्मेलनमा बताएजस्तो नेपालको अवस्था छ त ? सबैले सोच्नुपर्ने बेला आएको छ । जसले जतिसुकै राम्रो कुरा गरे पनि अर्थतन्त्रलाई अहिले सहज मान्नसक्ने ठोस आधार छैन । सरकार अर्थात् भनौँ राष्ट्र बैंकको तथ्यांकमा सुधार आएको देखिएला तर वास्तविक अवस्था त्यस्तो छैन । तथ्यांकलाई मात्र आधार मानेर आम नागरिकको आर्थिक अवस्था, मूल्यवृद्धि, आम्दानी र रोजगारीको स्थिति आदिको ठोस आकलन गर्न सकिने अवस्था छैन । किनकि अहिले बजार एकातिर छ, सरकारी तथ्यांक अर्कोतिर छ अनि आम नागरिकको दैनिक जीवनको अवस्था अर्कोतिर छ । मूल्यवृद्धि नियन्त्रणमा नआउनु, आम्दानी र रोजगारीको अवस्था खस्किनु, आन्तरिक उत्पादन कमजोर हुन्, दक्ष जनशक्ति विदेश पलायन हुन नरोकिनु, रेमिट्यान्सको वृद्धिदर खस्किनु, अर्थतन्त्रको ऐना मानिने सेयरबजार निरन्तर ओरालो लाग्नु, बैंक तथा वित्तीय क्षेत्रलाई मागअनुसारको कर्जाको आपूर्ति गर्न नसक्नु, व्यापार व्यवसायमा मन्दी छाउनु आदिलाई हेर्दा अर्थतन्त्र सहज अवस्थामा भएको मान्न सकिँदैन ।

तर यहीबीचमा अर्थमन्त्री डा. प्रकाश शरण महतले भने, ‘लचिलो मौद्रिक नीतिले मात्रै अर्थतन्त्र चलायमान बनाउन सक्ने भन्दै आफ्नो भनाइ सार्वजनिक गरेका छन् । अर्थतन्त्रमा शिथिलता आउनुको धेरै कारण रहेको भन्दै लचिलो मौद्रिक नीति आए मात्र अर्थतन्त्र चलायमान हुने भन्दै सोहीअनुसारको मौद्रिक नीतिको समीक्षा गर्न अर्थमन्त्री डा. महतले घुमाउरो तरिकाले राष्ट्र बैंकलाई दबाब दिएका छन् । के मौद्रिक नीति जादुको छडी हो ? जसले छुमन्तर गर्नासाथ अर्थतन्त्रमा देखिएका तमाम समस्या समाधान गर्न सकोस् । अर्थतन्त्रको आवश्यकताभन्दा पनि दबाबको आधारमा आउनसक्ने मौद्रिक नीतिको समीक्षाले अर्थतन्त्रको चक्रलाई नियमित गर्न सक्ला, सबैले सोच्नुपर्ने बेला आएको छ । होइन भने सरकारले पहिला अर्थतन्त्र सुधारको लागि अवलम्बन गर्नुपर्ने ठोस नीतिहरु ल्याएर कार्यान्वयन गर्नुपर्छ । खुकुलो मौद्रिक नीति ल्याएर होइन ।


क्याटेगोरी : सम्पादकीय
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया