Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारबेलायतमा कोरोनाबाट युरोपमै धेरै नागरिकको मृत्यु

बेलायतमा कोरोनाबाट युरोपमै धेरै नागरिकको मृत्यु


लन्डन, वैशाख २५
कोरोना भाइरस कोभिड १९ बाट बेलायतमा युरोपका अरु देशको तुलनामा सबैभन्दा धेरैको ज्यान गएको बताइएको छ । बेलायतमा यस संक्रमणबाट मृत्यु हुनेको संख्या युरोपका अन्य राष्ट्रभन्दा बढी देखिएको छ । बेलायतको सरकारी निकायको तथ्यांकअनुसार बेलायतमा बुधबार बिहानसम्म कोभिड–१९ को संक्रमणले २९ हजार ४ सय २७ जनाको मृत्यु भएको छ ।

यो युरोपमा अहिलेसम्म सबैभन्दा धेरैको ज्यान गएको भनिएको इटालीभन्दा पनि धेरै हो । इटालीमा यस प्रकोपबाट ज्यान जानेको संख्या २९ हजार ३ सय रहेको छ । बुधबार दैनिक पत्रकार भेटघाटका क्रममा यहाँका विदेशमन्त्री डोमिनिक राबले बेलायतले छोटो अवधिमा यति धेरै संख्यामा बेलायती नागरिकको मृत्यु होला भन्ने नसोचेको बताएका थिए । आफूले आफ्नो देशको इतिहासमा यति धेरै व्यक्तिको मृत्यु हुने घटना कहिल्यै नदेखेको प्रतिक्रिया पनि दिएका थिए ।

बेलायतमा विश्वका अन्य राष्ट्रहरुको अपेक्षा कोभिड–१९ संक्रमितको मृत्युदर पनि बढी छ । इटालीमा कोभिड–१९ को संक्रमणले हालसम्म २९ हजार ३ सय १५ जनाको मृत्यु भएको हो । जुन बेलायतभन्दा कम छ । तर इटालीभन्दा बेलायतमा संक्रमण दर र मृत्यु दर पनि बढी रहेको देखिएको छ ।

बेलायतमा परीक्षण दर पनि कम रहेको बताइएको छ । बेलायतमा आजसम्म १३ लाख ८३ हजार ८४२ जनामा कोरोना भाइरसको परीक्षण गरिएको छ । बुधबार बिहानसम्म बेलायतमा कोरोना भाइरसको संक्रमितको संख्या एक लाख ९६ हजार पुगेको देखिएको छ । यसरी हेर्दा बेलायत विश्वमा कारोनाबाट सबैभन्दा धेरै नागरिकको ज्यान जाने देश अमेरिकापछिको दोस्रोमा रहेको पाइएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया