Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारदक्षिण अफ्रिकामा ३५ सयभन्दा बढी स्वास्थ्यकर्मी संक्रमित

दक्षिण अफ्रिकामा ३५ सयभन्दा बढी स्वास्थ्यकर्मी संक्रमित


केपटाउन, असार ११
विश्वभरी महामारीका रुपमा फैलिएको कोरोनाभाइरसबाट दक्षिण अफ्रिकामा ३५ सयभन्दा बढी स्वास्थ्यकर्मी नै संक्रमित भएका छन् । देशका स्वास्थ्य मन्त्री ज्वेली एमखिजाले दिएको जानकारी अनुसार देशभरी कुल तीन हजार ५ सय ८३ जना स्वास्थ्यकर्मी संक्रमित भएका छन् । तीमध्ये ३४ स्वास्थ्यकर्मीको मृत्यु भएको छ ।

‘आफ्नै मृत्यु हुनेबेलासम्म पनि स्वास्थ्य सेवा गर्नु भएका र सेवा गर्ने क्रममा संक्रमित भएर मृत्यु भएका सबै स्वास्थ्यकर्मीहरुको आत्माको शान्तिको कामना गर्दछु’, उनले भने । इस्टर्न केप प्रान्तको उइतेन्हामा निर्माण गरिएको तीन हजार तीन सय शय्याको पहिलो चरणको फिल्ड अस्पतालको शुभारम्भ गर्दै उनले यस्तो जानकारी दिएका हुन् । संक्रमित भएका स्वास्थ्यकर्मीमध्ये एक हजार ९ सय ९३ जना भने संक्रमणमुक्त भएको सरकारी अधिकारीहरुले जनाएका छन् ।

दक्षिण अफ्रिकामा कोरोनाभाइरसबाट संक्रमित भएर मृत्यु हुनेहरुको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको पनि स्वास्थ्य मन्त्रीले जानकारी दिए । पछिल्लो विवरण अनुसार देशभरी एक लाखभन्दा बढी संक्रमित भएका छन् भने एक हजार ९ सय ९१ जनाको मृत्यु भएको छ । संक्रमित हुने र मृत्यु हुनेहरुको संख्या बढ्दै गइरहेकाले संक्रमितको उपचारमा अझ धेरै स्वास्थ्यकर्मीहरुको आवश्यकता रहेको स्वास्थ्य मन्त्रीको भनाई छ ।

आवश्यकता पूर्तिका लागि सरकारले नयाँ स्वास्थ्यकर्मीलाई सरकारी सेवामा लगाउने प्रयास एकातर्फ गरिरहेका छ भने अर्कोतर्फ हालै अवकासप्राप्त स्वास्थ्यकर्मीलाई पनि सेवामा सहभागी हुन आह्वान गरेको छ । त्यसैगरी अन्य स्वास्थ्यकर्मीहरुलाई पनि कोरोनाविरुद्धको लडाईमा आआफ्नो तरिकाले लाग्न पनि सरकारले आग्रह गरेको छ । उनीहरुलाई काममा फर्काउन आवश्यक आधारभूत तालिम, सुरक्षा र प्रतिरक्षाको व्यवस्था सरकारले गरिदिने आश्वासन पनि स्वास्थ्य मन्त्री एमखीजाले दिएका छन् । (रासस/सिन्ह्वा)


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया