Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारबोइङको पूर्ण नयाँ जेट विमान तत्कालै बजार नआउने

बोइङको पूर्ण नयाँ जेट विमान तत्कालै बजार नआउने


सिटल/पेरिस, साउन १२
अमेरिकी विमान निर्माता कम्पनी बोइङले तत्कालै आफ्नो पूर्ण नयाँ जेट विमान बजारमा सार्वजनिक नगर्ने भएको छ । कम्पनीको ७७७एक्स जेट करिब १ वर्षसम्मका लागि सार्वजनिक नगर्ने भएको स्रोतलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ । समाचारमा कोभिड १९ का कारण माग घटेपछि बोइङले तत्कालै विमान बजारमा नपठाउने भएको हो । महामारीका कारण हवाइ तथा पर्यटन क्षेत्रमा नराम्ररी प्रभाव परेको छ । महामारी पूर्ण रुपले हटिसकेपछि मात्रै नयाँ विमान आउनसक्नेछ । त्यस्तै चीन र अमेरिकाबीचको व्यापारिक तनावलाई पनि कम्पनीले नजिकबाट हेरिरहेको छ । दुई देशबीचको तनावले चिनियाँ विमान क्रेताहरुलाई समेत विमान किन्ने स्थिति नभएकाले व्यापारिक समाधानलाई कम्पनीले पर्खिएको बताइएको छ ।

तर १ वर्षसम्म ढिलाइ गर्दा कम्पनीलाई थप दबाब पर्ने पनि विश्लेषणहरु गरिएका छन् । खासगरी बोइङको आपूर्ति शृंखलामा असर पुग्नेछ । त्यस्तै, कम्पनीले इन्जिनियरिङ चाख पनि गुमाउने र नियामक निकायबाट थप अनुसन्धानको सामना समेत गर्नुपर्ने हुनसक्छ । कम्पनीका म्याक्स जेट ७७७ विमानहरु एकै प्रकृतिको दुर्घटनामा पर्दा गत वर्ष नै कम्पनीले उक्त मोडलका सबै विमान विश्वभर ग्राउन्डेड गर्नुपरेको थियो । त्यसले कम्पनीलाई ठूलो समस्या पारेको थियो । यद्यपि बोइङले भने नयाँ जेटको परीक्षण उडान भइरहेको जानकारी दिएको छ । उसले विश्वभरका आफ्ना ग्राहकसँग पनि सम्पर्कमै रहेको जनाएको छ ।

बोइङको ७७७एक्स विशाल आकारको विमान हो । खासगरी यो ७७७ मिनिजम्बोको ठूलो भर्सन हो । कम्पनीले यो मोडलको जेट सन् २०२१ मा माग आपूर्ति गर्ने जनाएको छ । जुन समय यसै पनि १ वर्ष पछाडि हो । यसअघि छिटो हुने बताइए पनि जनरल इलेक्ट्रिकको जीई९एक्स इन्जिन तथा अन्य समस्या देखिएपछि सन् २०२१ मा आपूर्ति गर्ने समय राखिएको हो । ७७७एक्स ७३७ म्याक्स जेटको काण्डपछि पहिलो प्रमाणित विमान हुनेछ । ७७७एक्समा दुई मोडल छन्, ७७७–८ लार्जर र ७७७–९ । यसमा ४ सय ६ जना यात्रु रहनसक्छन् । एयरबस ए३५०–१००० विमानसँग प्रतिस्पर्धा गर्न बोइङले नयाँ विमान ल्याउन लागेको हो । एयरबसको उक्त विमानमा ३ सय ६० यात्रु रहनसक्छन् । यी दुई जेटले पुरानो चार इन्जिनयुक्त बोइङ ७४७ र एयरबस ए३८०लाई विस्थापन गर्नेछ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया