Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारअमेरिकामा सोमबारदेखि कोरोनाको खोप लगाउने तयारी

अमेरिकामा सोमबारदेखि कोरोनाको खोप लगाउने तयारी


वासिङटन ।
अमेरिकामा सोमबारदेखि कोरोनाविरुद्धको खोप लगाउने तयारी भएको छ । खोप लगाउनका लागि आइतबारदेखि ढुवानीको काम शुरु भएको अधिकारीहरुले जानकारी दिएका छन् । आपत्कालीन अवस्थामा मात्रै प्रयोग गर्न अनुमति दिइएको ‘फाइजर बायोएनटेक कोरोनाभाइरस खोप’ अमेरिकामा पनि सर्वसाधारणलाई लगाइने भएको हो । यो खोप लगाउन सबैभन्दा पहिला बेलायतमा अनुमति दिइएको थियो । त्यसपछि बहराइन, क्यानडा, साउदी अरबलगायतका देशले पनि प्रचलनमा ल्याउने निर्णय गरेका थिए ।

विश्वभरि महामारीको रुपमा फैलिएको कोरोनाभाइरसबाट संक्रमित भएर १६ लाख मानिसको मृत्यु भएपछि सबैभन्दा बढी प्रभावित मुलुक अमेरिकामा खोपको प्रयोग हुन लागेको हो । सो खोप ७० डिग्री सेल्सीयसको तापक्रमसहितको विशेष अवस्थामा मात्रै राख्न सकिने स्वास्थ्यकर्मीहरुले बताएका छन् । ‘अत्यावश्यक परेका सवैलाई हामीले खोप राम्रोसँग उपलब्ध गराउन सक्छौँ भन्ने हामीलाई विश्वास छ, त्यहीअनुसार कामहरु भइरहेको छ’, खोप वितरण तथा व्यवस्थापन कार्यमा खटिएका एक अमेरिकी अधिकारीले भने ।

उनीहरुका अनुसार सुरुमा यो सप्ताहन्तसम्ममा तीन करोड मात्रा खोप सबै राज्यहरूमा पठाउउने कार्य भइरहेको छ । दैनिक मृतकहरुको संख्या उच्च हुँदै गएपछि अमेरिकाले खोप प्रयोगमा हतार गरेको हो । गत शनिबार मात्रै अमेरिकामा एकैदिनमा ३ हजार ३ सय ९ जनाको मृत्यु भएको थियो । यो संख्या अमेरिकामा एकैदिनमा कोरोनाका कारण मृत्यु भएकाहरुको सवैभन्दा ठूलो संख्या हो । त्यसैगरी यो संख्या विश्वमै पनि कोरोनाका कारण एकैदिनमा मृत्यु भएकाहरुको सबैभन्दा धेरै संख्या भएको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ ।

केही समय कम देखिएको मृतकको संख्या अमेरिकामा पछिल्ला केही दिनदेखि फेरी बढ्दै गइरहेको छ । मृतक र संक्रमितहरुको संख्यामा अत्यधिक वृद्धि भएपछि अमेरिकाले गत शनिबार यो खोप प्रयोगमा ल्याउने निर्णय गरेको थियो । खोप प्रयोग गर्ने पहिलो दिन सोमबार १४५ स्थानमा खोप प्राप्त हुनेछ भने मङ्गलबार ४२५ स्थानमा र बुधबार ६६ स्थानमा प्राप्त हुने अधिकारीहरुले जनाएका छन् । पहिलो चरणको वितरण सकिएपछि केही दिनमै दोस्रो चरणको वितरण पनि शुरु गरिने र यसले धेरैको ज्यान जोगाउने उनीहरुको विश्वास छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया