Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारअमेरिका र चीनले जनवरी १५ मा व्यापार सम्झौतामा हस्ताक्षर गर्ने

अमेरिका र चीनले जनवरी १५ मा व्यापार सम्झौतामा हस्ताक्षर गर्ने


वासिङ्टन, पुस १७
एक वर्षयता व्यापारयुद्धमा होमिएका विश्वका दुई ठूला अर्थतन्त्र देशहरु अमेरिका र चीनले आगामी जनवरी १५ मा व्यापार सम्झौतामा हस्ताक्षर गर्ने भएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई देशबीच भएको पहिलो चरणको व्यापार सहमतिपत्रमा हस्ताक्षर गर्ने मिति घोषणा गरेको बीबीसीले जनाएको छ ।

उक्त सम्झौतामा हस्ताक्षर भएसँगै दुई देशबीच चर्किएको व्यापार विवाद केही साम्य हुने देखिएको छ । सम्झौतापत्रमा वासिङटनमै हस्ताक्षर हुने ट्रम्पले बताए । पहिलो चरणको व्यापारिक सम्झौतामा हस्ताक्षरसँगै दोस्रो चरणको वार्ता हुने उनले बताए । ट्रम्प आफैँ पनि बेइजिङ जाने उनले बताए । पहिलो चरणको व्यापार सम्झौतालाई सकारात्मक मान्दै दुवै देशले एकअर्का देशका वस्तुमाथिको थप कर हाललाई रद्द गरेका छन् । यद्यपि सम्झौताको पूर्ण विवरण बाहिर उपलब्ध नभइसकेको बताइएको छ । सम्झौताअनुसार अमेरिकाले थप कर नलगाउने र चीनले कृषिजन्य अमेरिकी उत्पादन धेरैभन्दा धेरै खरिद गर्ने सहमति भएको छ ।

ट्रम्पले दुई देशबीचको विविध मुद्दा सम्बोधन हुने गरी चीनसँग सम्झौता गर्न चाहेको बताए पनि हाललाई पहिलो चरणको व्यापार सम्झौता हुने भएको हो । यस सम्झौतामा अमेरिकाले चीनमाथि लगाउँदै आएका ठूला आरोपहरुको समाधान नभएको बताइएको छ । यद्यपि ट्रम्पले यसलाई सार्थक सम्झौता भनेका छन् । व्यापार युद्धले दुवै देशलाई प्रभावित पारेको थियो ।

दूतावासमा आक्रमण भएपछि इरानलाई ट्रम्पको चेतावनी :- इराकस्थित अमेरिकी दुतावासमा भएको आक्रमणमा इरानी पक्ष दोषी रहेको भन्दै अमेरिकाले इरानलाई ‘ठूलो मुल्य चुकाउनु पर्ने’ चेतावनी दिएको छ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इराकका काम चलाउ प्रधानमन्त्री अदेल अब्दुल मेहदीलाई मंगलबार फोन गरेर घटनाप्रति आपत्ति जनाएका हुन् ।

इराकको राजधानी बग्दादस्थित अमेरिकी दूतावासमा इरान निकटका इराकी प्रदर्शनकारीले आक्रमण गरेका हुन् । टेलिफोन कुराकानीका क्रममा दुई नेताले क्षेत्रीय सुरक्षाका विषयमा छलफल गरेका थिए । राष्ट्रपति ट्रम्पले इराकमा रहेका अमेरिकी नागरिकहरुको सुरक्षामा विशेष जोड दिएको राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जनाएको छ । उनले इरानी पक्षले अमेरिकी दूतावासमा ‘नियोजित आक्रमण’ गराएको आरोप पनि लगाउनु भएको वक्तव्यमा जनाइएको छ ।

घटनापछि अमेरिकी रक्षा मन्त्री मार्क इस्परले आक्रमण भएको दूतावासका लागि थप सुरक्षाकर्मी पठाइसकिएको बताएका छन् । अमेरिकी सुरक्षाकर्मीहरुले आइतबार इराक र सिरियाका पाँच ठाउँमा आक्रमण गरेका थिए । इराकी अर्धसैन्य बल हजबुल्लाहको नियन्त्रणमा रहेका ठाउँमा अमेरिकी सुरक्षाकर्मीहरुले आक्रमण गरेका हुन् ।

अमेरिकी सहयोगमा गत हप्ताको अन्त्यमा गरिएका आक्रमणमा करिब दुई दर्जन प्रदर्शनकारी (लडाकू) मारिएपछि बग्दादमा इराननिकट एक समूहले गरेको प्रदर्शनका क्रममा इराकी प्रदर्शनकारीले अमेरिकी राजदूतावासको पर्खाल वरपरबाट आक्रमण प्रयास गरेका स्थानीय सञ्चारमाध्यमले देखाएका छन् ।

केही दिनपहिले हवाई आक्रमणमा इराकी नागरिक मारिएपछि आक्रोशित प्रदर्शनकारीहरूले राजदूतावासको पर्खालमा आगजनी गर्दै राजदूतावास परिसरमा ढुङ्गामुढासमेत गरेका थिए । उनीहरूले अमेरिका विरोधी नाराहरूसमेत लगाएका बताइएको छ । राजदूतावास उच्च सुरक्षासहितको ‘ग्रिन जोन’ रहेको छ र त्यहाँसम्म पुग्न धेरै सुरक्षा जाँचस्थल पार गरेर जानुपर्ने व्यवस्था रहेको छ । (रासस/सिन्ह्वा)


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया