Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारएक सय ८० जना अझै बेपत्ता

एक सय ८० जना अझै बेपत्ता


नयाँ दिल्ली  ।
भारतको उत्तराखण्डमा गएको हिमपहिरोमा परेर मङ्गलबारसम्म २६ जनाको शव भेटिएको छ । हिमपहिरोका कारण अरु १८० भन्दा बढी अझैपनि हराइरहेको अधिकारीहरुले जानकारी दिएका छन् । बेपत्ता भएका अधिकांश व्यक्तिहरु विद्युतगृहमा कार्यरत मजदुर रहेका छन् । सरकारी अधिकारीहरुले बेपत्ता भएका व्यक्तिहरुको खोजी तथा उद्धारकार्य जारी राखिएको पनि बताएका छन् ।

मृतक तथा बेपत्ता भएकाहरु भारतको उत्तराखण्ड, उत्तर प्रदेश, पश्चिम बंगाल, बिहार, झारखण्डका रहेको जनाइएको छ । केही व्यक्ति भने नेपाली पनि हुन सक्ने अधिकारीहरुको भनाइ छ । दुईवटा जलविद्युत परियोजना बनाइरहेको ठाउँमा हिमपहिरो गएको हो । आइतबार आएको हिमपहिरोका कारण तीव्र वेगको पानी र हिउँले पुलहरु, सडकहरु र दुई वटा विद्युतगृहमा व्यापक क्षति पुगेको छ । स्थानीयबासी ओम अग्रवालले तीव्रगतिको नदीको भेल पहाड खसेजस्तै देखिएको बताउँदै नदी वरपरको जमिनमा भूकम्प गएझैं अनुभव गरिएको बताए ।

विद्युतगृहको सुरुङमा पसेको बाढी, माटो र ढुंगाका कारण केही मानिस सुरुङभित्रै थुनिएको उद्धारकर्मीको भनाइ छ । धेरै जना उद्धारकर्मीहरु सोमबार बिहानैदेखि खटिएका छन् । राष्ट्रिय र राज्य उद्धार टोलीहरु, सेना र प्रहरीका टोलीहरु घटनास्थलमा खटिएका छन् । भारतीय अधिकारीहरुले हिउँको ठूलो हिस्सा एकाएक नदीमा खसेपछि ठूलो बाढी आएको बताएका छन् । तर यो हिमताल बिस्फोट भएर हिमपहिरोमा परिणत भएको र त्यो नदीमा खसेको पाइएको छ ।

विश्वव्यापी तापमान वृद्धिको प्रभावका कारण यस क्षेत्रमा हिमनदीका मुहान क्षेत्र विस्तारै सुक्दै गएका छन् भने जलविद्युत् निर्माणले पनि हिमपहिराहरु बढी नै जान थालेको विज्ञहरुले औंल्याएका छन् । सन् २०१३ मा आएको बाढीले ६ हजार व्यक्तिको ज्यान गएको थियो । (रासस/एएनआई)


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया