Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारम्यान्मारमा सेनाको दमन

म्यान्मारमा सेनाको दमन

बिहीबारसम्म ५४ को मृत्यु, राष्ट्रसंघले चासो देखायो


न्यापित ।
म्यान्मारमा फेब्रुअरी १ मा सेनाले सत्ता सम्हालेपछि कम्तीमा ५४ मानिस मारिएका छन् । योबीचमा एक हजार सात सयभन्दा बढीलाई पक्राउ गरिएको बताइएको छ । एएफपीका अनुसार बुधबार र बिहीबार मात्र सेनाको गोली लागि दर्जनौँ प्रदर्शनकारी मारिएपछि संयुक्त राष्ट्रसंघका अधिकार प्रमुखले बिहीबार सेनालाई प्रदर्शनकारीहरूको हत्या र उनीहरूमाथिको दमन रोक्न आग्रह गरेकी छिन् ।

म्यान्मारमा प्रदर्शनको सबैभन्दा भयावह दिनपछि यी टिप्पणीहरू आएका हुन् । बुधबार प्रजातन्त्रको पुनर्बहालीको माग गर्दै गरिएका जुलुसमा सुरक्षा बलले भीडमा गोली हानेको टेलिभिजन तथा सामाजिक सञ्जालमा आएका दृश्यहरूमा देखाइएको छ ।

संयुक्त राष्ट्रसंघका अधिकार प्रमुख मिशेल बचलेटले सुरक्षा निकायहरूलाई शान्तिपूर्ण प्रदर्शनको क्रममा प्रदर्शनकारीहरुप्रति उनीहरुको क्रुर कारबाही रोक्नू आग्रह गरेकी हुन् । ‘म्यान्मारको सेनाले प्रदर्शनकारीको हत्या र जेल चलान रोक्नुपर्छ’, उनले भनिन्, ‘यो एकदम घृणित कुरा हो कि सुरक्षा बलले देशभर शान्तिपूर्ण आन्दोलनकारीहरूविरूद्ध सिधै गोली चलाइरहेका छन् । यो मानवअधिकार विरोधी काम हो । राष्ट्रसंघ यसको घोर निन्दा गर्दछ ।’

वाचलेटले थपिन्, ‘घाइतेलाई उद्धार गर्न पुगेका आपत्कालीन स्वास्थ्य कर्मचारी र एम्बुलेन्सविरूद्ध पनि आक्रमण हुनु घोर आपत्तिजनक कार्य हो ।’ संयुक्त राष्ट्रसंघीय अधिकार मामिला हेर्ने कार्यालयका अनुसार फेब्रुअरी १ देखि प्रहरी र सैनिक अधिकारीहरूले कम्तीमा ५४ व्यक्तिलाई ‘सुरक्षा कारबाही’का क्रममा मारेको पुष्टि गरेको छ ।

वास्तविक मृत्यु हुने संख्या धेरै बढी हुनसक्ने पनि उक्त कार्यालयले बताएको छ । म्यान्मारमा फेब्रुअरी १ मा सेनाले सत्ता सम्हालेपछि कम्तीमा ५४ मानिस मारिए र एक हजार सात सयभन्दा बढीलाई पक्राउ गरिएको पुष्टि गरिसकिएको छ । म्यान्मारमा सेनाले सत्ता लिएपछि सैनिक कदमको विरोधमा निरन्तर प्रदर्शनहरू हुँदै आएका छन् ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया