Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारएलजीले स्मार्टफोन व्यवसाय बन्द गर्ने

एलजीले स्मार्टफोन व्यवसाय बन्द गर्ने


सोल ।
प्रविधि कम्पनी एलजी इलेक्ट्रोनिक्सले स्मार्टफोन व्यवसायबाट हात झिक्ने सोमबार घोषणा गरेको छ । बीबीसीका अनुसार घाटामात्रै भएपछि कम्पनीले उक्त व्यवसाय नै बन्द गर्ने जनाएको हो । गत जनवरीमा दक्षिण कोरियाली कम्पनीले यसको सबै विकल्पको खोजी गरिरहेको जनाएको थियो । कम्पनी लगातार छ वर्षसम्म घाटामा जाँदा कुल नोक्सानी नै साढे चार अर्ब अमेरिकी डलर पुगेको बताइएको छ । एलजीले धेरै नयाँ आविष्कार गरेको थियो । तिनमा ज्यादै फराकिला एंगलका क्यामराहरु समावेश छन् भने सन् २०१३ मा त यो कम्पनी विश्वकै ठूलो स्मार्टफोन निर्माता थियो ।

तर यसका प्रमुखले अहिले मोबाइल बजार ज्यादै प्रतिस्पर्धी भएको बताए । अहिले स्मार्टफोनको क्षेत्रमा सामसङ र एप्पलको दबदबा छ । यता एलजी भने आफ्नै सफ्टवेयर र हार्डवेयरको लफडामा फसेको छ । कम्पनी घाटामा गइरहँदा एलजीले व्यवसायका केही खण्ड बिक्रीको लागि छलफल नगरेको होइन तर त्यो परिणाममुखी भएन । उत्तर अमेरिकामा एलजी अहिले पनि तेस्रो धेरै जनप्रिय ब्रान्ड हो तर अन्य बजारमा यसले केही छाप छोड्न सकेको छैन । दक्षिण कोरियाली बजारमा यसका फोनहरु राम्रै चर्चित छन् ।

‘बढ्दो मोबाइल फोन क्षेत्रको प्रतिस्पर्धाबाट अलग्गिने एलजीको यो रणनैतिक निर्णयले कम्पनीलाई अन्य क्षेत्रहरु विद्युतीय सवारीसाधनका पार्टपुर्जा, कनेक्टेड डिभाइस, स्मार्टहोम्स, रोबोटिक्स, आर्टिफिसियल इन्टेलिजेन्समा केन्द्रित हुन मद्दत गर्नेछ’, कम्पनीले एक वक्तव्यमा भनेको छ ।

गत वर्ष कम्पनीले दुई करोड ८० लाख फोन शिपमेन्ट गरेको थियो । जुन सामसङको २५ करोड ६० लाख फोन शिपमेन्टको तुलनामा निकै कम भएको अध्येता कम्पनी काउन्टरपोइन्टको भनाइ छ । एलजीको पाँच डिभिजनमध्ये स्मार्टफोन व्यवसाय निकै सानो हो । यसले कुल राजस्वको ७.४ प्रतिशत मात्रै हिस्सा ओगटेको छ । अहिलेको अवस्थामा कम्पनीले विश्व बजारमा करिब दुई प्रतिशत हिस्सा ओगटेको छ ।

कम्पनीले अहिले ठूला प्रतिस्पर्धी कम्पनीसँग प्रतिस्पर्धा गरिरहेको छ । गत वर्ष कम्पनीले ठूलो स्क्रिनवाला टीआकारको विंग सार्वजनिक गरेको थियो । त्यसो त यो कम्पनी अहिले पनि इलेक्ट्रोनिक्स व्यवसायमा बलियो अवस्थामा छ । खासगरी होम अप्लायन्सेस र टेलिभिजनमा कम्पनीको बलियो व्यवसाय छ । एलजी टीभी ब्रान्डमा सामसङपछि विश्वकै राम्रो बिक्री हुने कम्पनी हो । डिसेम्बरमा कम्पनीले विद्युतीय गाडीका लागि पार्टपुर्जा बनाउन अटोमेटिभ आपूर्तिकर्ता माग्ना इन्टरनेशनलसँग ज्वाइन्ट भेन्चर खोलेको थियो ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया