Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजाररुसमाथि अमेरिकाले लगायो आर्थिक प्रतिबन्ध

रुसमाथि अमेरिकाले लगायो आर्थिक प्रतिबन्ध


वासिङटन ।
संयुक्त राज्य अमेरिकाले बिहीबार रुसविरुद्ध आर्थिक प्रतिबन्ध लगाउने घोषणा गरेको छ । अमेरिकाले निर्वाचनमा हस्तक्षेप गरेको, साइबर आक्रमणमा लागेको, युक्रेनलाई अनावश्यक दुःख दिएको र अन्य खराब कार्य गरेको आरोप लगाउँदै प्रतिबन्ध लगाएको हो ।

प्रतिबन्धमा रुसी कम्पनीलाई कालोसूचीमा राख्नेदेखि कूटनीतिज्ञलाई अमेरिका छोडाउनेसम्मका कार्य परेका छन् । त्यस्तै रुसी सार्वभौमिक ऋण बजारलाई सीमित पार्ने निर्णय पनि अमेरिकाले गरेको छ । अझै धेरै प्रतिबन्धहरु लगाउने तयारी अमेरिकाले गरेको रोयटर्सले जनाएको छ ।

मस्कोले भने वासिङटनको कदमविरुद्ध आक्रोश पोखेको छ । उसले दुई देशबीचको तापक्रम खतरनाक हिसाबले बढेको प्रतिक्रिया दिएको छ । साथै अमेरिकी राजदूतलाई बोलाएर स्पष्टीकरण समेत लिएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले यससम्बन्धी कार्यकारी आदेश जारी गर्दै अमेरिकी सरकारले रुसी अर्थतन्त्रको कुनै पनि क्षेत्रमाथि प्रतिबन्ध लगाउनसक्ने पत्रमा हस्ताक्षर गरेका छन् । रुसी ऋणपत्र खरिदमा अमेरिकी संस्थालाई सहभागी हुन नदिने समेत अमेरिकाले जनाएको छ । यो जुन १४ देखि लागू हुनेछ । यसबाट अमेरिकी बैंकहरु समेत प्रभावित हुनेछन् ।

त्यस्तै अमेरिकी ट्रेजरीले ३२ संस्था तथा व्यक्तिलाई कालोसूचीमा राखेको छ । सन् २०२० को राष्ट्रपतीय चुनावमा गलत सूचना फैलाएर हस्तक्षेप गर्न खोजेको आरोपमा यी व्यक्ति र संस्थालाई दण्डित गरिएको अमेरिकाले जनाएको छ । अमेरिकाले युरोपेली संघ, बेलायत, अस्ट्रेलिया र क्यानडासँग हातेमालो गर्दै आठ जना रुसी व्यक्तिहरुलाई क्राइमियामा रुसले सिर्जना गरेको दबाबलगायतका कार्यमा सहयोगी भूमिका खेलेको भन्दै दण्डित गरेको छ । रुसले सन् २०१४ मा युक्रेनको क्राइमिया आफ्नो भूमिमा गाभेको थियो ।

रुसले प्रतिबन्ध लगाउने कार्यकारी आदेशले दुई देशीय राष्ट्रपतिबीच हुने भनिएको सम्मेलनको अवसर गुमेको टिप्पणी गरेको छ । त्यस्तै रुसी विदेश मन्त्रालयका प्रवक्ताले मस्कोले त्यसको प्रतिक्रिया प्रतिबन्धबाटै दिने बताएको रोयटर्सले जनाएको छ । रुसले अमेरिकी निर्वाचनमा हस्तक्षेप नगरेको बताउँदै आएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया