Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारआपत्कालीन प्रयोगका लागि चिनियाँ खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति

आपत्कालीन प्रयोगका लागि चिनियाँ खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति


अमेरिका ।
विश्व स्वास्थ्य संगठनले कोरोना संक्रमणविरुद्ध चीनले विकास गरेको सिनोफार्म खोपलाई आपत्कालीन प्रयोगका लागि अनुमति दिएको छ । बीबीसीका अनुसार चिनियाँ सरकारी स्वामित्वको कम्पनीले विकास गरेको खोपले अनुमति पाएको हो ।

गैरपश्चिमी मुलुकको खोपले विश्व स्वास्थ्य संगठनबाट पाएको यो पहिलो अनुमति हो । त्यसो त यसअघि नै यो खोप चीन र अन्यत्र दशौँ लाख मानिसलाई लगाइसकिएको छ । यसअघि विश्व स्वास्थ्य संगठनले फाइजर, अस्ट्राजेनेका, जोन्सन एन्ड जोन्सन र मोडर्ना खोपलाई आपत्कालीन प्रयोगका लागि अनुमति दिइसकेको छ ।

तर चिनियाँ खोपले अफ्रिका, ल्याटिन अमेरिका र एसियामा यसअघि नै अनुमति पाइसकेको छ । चीनले विकास गरेका खोपको प्रभावकारिताबारे अन्तर्राष्ट्रिय स्तरमा त्यति खुलेर तथ्यांक बाहिरिएको छैन । सोही कारण यसले कति काम गर्छ भन्नेमा अन्योल नै छ । विश्व स्वास्थ्य संगठनले शुक्रबार सुरक्षित, असरदार र गुणस्तरीय भन्दै सिनोफार्मलाई अनुमति दिएको हो ।

योसँगै कोभिड १९ विरुद्धको खोप अभियान विश्वमा तीव्र गतिमा बढ्ने आशा गरेको जनाइएको छ । संगठनले यो खोप १८ वर्ष र त्यसमाथिका उमेरमा दुई मात्रा लगाउन सकिने जनाएको छ । त्यस्तै आगामी केही दिनभित्रै चीनले नै विकास गरेको अर्को सिनोभ्याक खोपले पनि अनुमति पाउने आशा गरिएको छ । यता रुसले विकास गरेको स्पुतनिक भी खोपबारे संठनले प्रभावकारिता अध्ययन गरिरहेको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया