Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजार‘दिल्लीलाई थप दुई करोड ६० लाख खोप आवश्यक’

‘दिल्लीलाई थप दुई करोड ६० लाख खोप आवश्यक’


नयाँ दिल्ली ।
दिल्लीले १८ वर्ष माथिका व्यक्तिलाई आगामी तीन महिनाभित्र कोभिड–१९ विरूद्धको खोप अभियान सम्पन्न गर्ने मुख्यमन्त्री अरविन्द केजरीवालले शनिबार बताएका छन् । दिल्ली प्रशासनलाई थप दुई करोड ६० लाख कोभिड–१९ विरूद्धको खोप आवश्यक रहेको पनि उनले बताए ।

उनले भने, ‘यदि हामीले खोपको पर्याप्त मात्रा पायौं भने तीन महिनाभित्र खोप पूरा गर्न सक्दछौं । दिल्लीमा १८ बर्षभन्दा माथिका नागरिकको सङ्ख्या एक करोड ५० लाख छ । दिल्लीमा कुल तीन करोड खोप आवश्यक रहेकोमा राज्य सरकारसँग ४० लाख खोप उपलब्ध रहेको र बाँकी दुई करोड ६० लाख मात्रा आवश्यक रहेको छ । सरकारले खोपको जोहो गरिरहेको छ ।’

मुख्यमन्त्रीले भने, ‘हाल दिल्लीले एक दिनमा एक लाख मानिसलाई खोप लगाइरहेको छ तर सरकारले यसलाई बढाएर प्रतिदिन तीन लाख खोप लगाउने योजना बनाइरहेको छ ।’ उनले छिमेकी सहरहरू फरीदाबाद, गाजियाबाद, सोनीपत, गुडगाउँ, नोएडाका धेरै मानिसहरूले दिल्ली सरकारको खोप व्यवस्थापनलाई मन पराएका कारण खोपका लागि दिल्ली आउने गरेको बताए । ‘जे होस् हामीलाई खोपको पर्याप्त मात्रा उपलब्ध भएमा तीन महिनामा राष्ट्रिय राजधानीको सम्पूर्ण व्यक्तिलाई खोप लगाइ सक्नेछौँ’, उनले भने ।

दिल्लीले हाल १८–४४ वर्ष उमेर समूहका व्यक्तिलाई विभिन्न सयवटा विद्यालयसहित अस्पतालबाट खोप सेवा उपलब्ध गराइरहेको छ । यस सेवालाई केही दिनमा नै तीन सय विद्यालयबाट सञ्चालन गर्ने तयार मुख्यमन्त्री केजरीवालले बताए । राज्यले सोचे अनुसार खोप अभियान पूरा गर्न दिल्लीका लागि मासिक ८० देखि ८५ लाख खोप उपलब्ध हुनुपर्ने देखिन्छ ।

मुख्यमन्त्री केजरीवालले बालबालिकालाई खोप दिन नसकिएकोमा चिन्ता व्यक्त गर्दै भने, ‘मैले केन्द्र सरकारसँग पर्याप्त खोप उपलब्ध गराउनका लागि आग्रह गरेको छु । साथै बालबालिकालाई अहिले खोप लगाउन सकिएको छैन । म केन्द्र सरकार तथा विज्ञहरूसँग आग्रह गर्दछु कि छिट्टै उनीहरूका लागि पनि खोप तयार होस् ।’


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया