Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारम्याकेन्जी स्कटले फेरि दान गरिन् पौने तीन अर्ब डलर

म्याकेन्जी स्कटले फेरि दान गरिन् पौने तीन अर्ब डलर


अमेरिका ।
अर्बपति समाजसेवी म्याकेन्जी स्कटले फेरि झण्डै तीन अर्ब अमेरिकी डलर दानमा खर्च गरेकी छिन् । एपीका अनुसार स्कटले विभिन्न च्यारिटी र जातीय समानताका क्षेत्रमा दुई अर्ब ७० करोड अमेरिकी डलर दान गरेकी हुन् । उक्त रकम विभिन्न दुई सय ८६ संस्थाहरुले पाएको बताइएको छ । यो उनको तेस्रो चरणको दान हो । अमेजनका संस्थापक तथा विश्वकै धनी अर्बपति जेफ बेजोसकी पूर्वपत्नी उनले आफू र आफ्ना श्रीमान् डान जेवेटले मिलेर दान गरेको मिडियम पोस्टलाई बताएकी छिन् ।

धेरैभन्दा धेरै सम्पत्ति विश्वका केही सीमित व्यक्तिसँग थुप्रिएकोमा पनि उनले चिन्ता व्यक्त गरेकी छिन् । यसअघि गत वर्ष सन् २०२० मा उनले यस्तै प्रकारको दुई चरणको दान घोषणा गरेकी थिइन् । जसअन्तर्गत छ अर्ब अमेरिकी डलर कोरोना राहत, लैंगिक समानता, अश्वेत कलेज र युनिभर्सिटी तथा विद्यालयहरुमा दान गरेकी थिइन् । पछिल्लो दान भने समानता प्रेरित गैरनाफामूलक दुई सय ८६ संघ÷संस्थालाई दिइएको बताइएको छ ।

चर्चित म्यागजिन फोर्ब्सका अनुसार उनीसँग ६० अर्ब डलरबराबरको सम्पत्ति छ । स्कटले बेजोससँग सन् २०१९ मा सम्बन्धविच्छेद गरेकी थिइन् । त्योसँगै उनले अमेजनबाट चार प्रतिशत सेयर स्वामित्व पाएकी थिइन् । ५१ वर्षीया स्कटले आफ्नो धेरैजसो सम्पत्ति दानमा खर्चिने सम्बन्धविच्छेदलगत्तै बताएकी थिइन् ।

बिल गेट्स, मेलिन्डा गेट्स र वारेन बफेटजस्ता चर्चित अर्बपतिको दानप्रेरित अभियान ‘गिभिङ प्लिज’मा स्कटले पनि हस्ताक्षर गरेकी थिइन् । स्कटको दानले ऐतिहासिक रुपमा पछाडि परेका समुदायको राजनीतिक आवाज माथि उठाउन योगदान पुगेको बताइएको छ । सन् २०२० यता स्कटले अल्पसंख्यक, महिला र अन्य यस्तै जनसंख्याले चलाएका संगठनमा दान बढाएकी छिन् ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया